पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान शुरू
चैत १८, २०८१ सोमबार
हामीकहाँ नीतिगत अस्थिरताका कारण, प्रविधिमा पछि परेका कारण तथा अन्य राष्ट्रहरूसँग व्यापार गर्दा गृहकार्यको कमीले गर्दा आन्तरिक उत्पादनमुखी निर्यात पछाडि परेको छ ।
२००७ सालमा नेपालबाट १ अर्ब १२ करोडको निर्यात हुँदा जम्मा ८ करोड रुपैयाँको आयात भएको इतिहास हामीसँग छ । त्यति बेला निकासी करिब ९२ प्रतिशत थियो भने आयात जम्मा ८ प्रतिशतमात्र थियो । अहिले भने अवस्था ठ्याक्कै उल्टो छ ।
त्यति बेला बाहिरी देशहरूसँग हाम्रो अहिलेको जस्तो व्यापारिक सम्पर्क थिएन । नेपालीहरूको दैनिकी कठिन भए पनि आन्तरिक उत्पादन बलियो थियो । घरेलु उत्पादन जस्तै– डोका, डाला, नाम्लालगायतका सामग्री उत्पादन गरिन्थ्यो । त्यति बेला नेपालमा उत्पादन नहुने कपडा, मट्टीतेल तथा गाडीमा प्रयोग हुने पेट्रोल र डिजेलमात्र आयात गरिन्थ्यो । तर पछिल्लो समय विश्वभर विज्ञान प्रविधिको प्रयोग बढे पनि हामी भने परम्परागत उत्पादन प्रणालीमै अडिग रह्याैँ । हामीले आफ्ना मौलिक सामग्रीलाई प्रविधिसँग समायोजन गरी आधुनिक बनाउने प्रयास गरेनाैँ र जसका कारण हामीलाई अत्याधुनिक वस्तुहरू आयात गर्नुपर्ने बाध्यता आयो । यही कारणले गर्दा हामी आत्मनिर्भर होइन, परनिर्भर बन्न पुगेका छौँ ।
संविधानमा आत्मनिर्भर अर्थतन्त्रको परिकल्पना गरिए पनि यसको स्पष्ट परिभाषा गरिएको देखिँदैन । आत्मनिर्भर भन्नाले हामीले विदेशी आर्थिक स्रोतहरू लिँदैनौँ भन्ने हो कि, आफैँ कमाएर चल्छौँ भन्ने हो कि, आवश्यक सबै वस्तु नेपालमै उत्पादन गर्छाैँ भन्ने हो – यो प्रस्ट छैन । आत्मनिर्भरको परिभाषा पार्टीअनुसार, विज्ञअनुसार, व्यक्तिअनुसार फरक–फरक पाइन्छ ।
अहिले आत्मनिर्भरको कुरा त परै जाओस्, हामी अन्तरनिर्भर अवस्थामा पनि छैनौँ, हामी पूर्णरूपमा परनिर्भर भइसकेका छौँ । परनिर्भर अर्थतन्त्र हुँदा मानिसको ध्यान केवल पैसा कमाउनेतर्फ मात्र गयो । हाम्रो राष्ट्रिय हित के हो ? हाम्रो समाजको आवश्यकताहरू के हुन् ? हाम्रो स्रोत–साधनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ ? यी विषयमा गहिरो छलफल हुन सकेन । हामीले आफ्नै स्रोत–साधनमा आधारित अर्थतन्त्र निर्माण गरी त्यसलाई मजबुद जगमा उभ्याएर त्यसैको माध्यमबाट विश्वबजारमा प्रवेश गर्ने नीति बनाउन सकेनौँ । जसरी भए पनि पैसा कमाउने मानसिकता हाबी हुँदा हाम्रो अर्थतन्त्र कमजोर भयो ।
विदेशी देशहरू जस्तै– मलेशिया र इन्डोनेशियाले आफ्ना व्यापार नीतिमा परिवर्तन गरे । भारतसँग ती देशहरूको नीति मेल खाएन । भारतमा अन्य देशहरूबाट कतिपय वस्तुहरू आयात गर्न उच्च पैठारी शुल्क लाग्ने भएकाले ती वस्तुहरू नेपाल हुँदै भारत पठाउने अभ्यास बढ्यो । यो अप्रत्यक्ष रूपमा तस्करीजस्तै बन्न पुग्यो ।
अघिल्लो वर्षको तुलनामा यस वर्ष तेलको आयात ११ गुणाले वृद्धि भएको छ । जबकि देशभित्र यसको उत्पादन न्यून छ । कानूनी रूपमा यसलाई अवैधानिक भन्न नमिल्ने स्थिति भए पनि यसले नेपालको व्यापार तथा अर्थतन्त्रमा सकारात्मक योगदान दिन सकेको छैन । मुख्य समस्या भनेकै नेपालमा आयात हुने वस्तुहरूको वास्तविक उत्पादन र खपतको सही लेखाजोखा नहुनु हो ।
उदाहरणका लागि कुनै समय नेपालको जनसङ्ख्याभन्दा धेरै छाता आयात भएको देखियो । तर पछि ती छाताहरू कहाँ गए ? कुन देशमा निर्यात भए ? यसको कुनै लेखाजोखा छैन । यसरी नेपालमा उत्पादन नहुने वस्तुहरू अस्वाभाविक रूपमा निर्यात हुनु हामी सबैका लागि लज्जाको विषय हो । साथै यो देशको अर्थतन्त्रका लागि पनि अत्यन्तै घातक छ । यसले दीर्घकालमा अर्थतन्त्रमा नकारात्मक असर पार्ने निश्चित छ ।
सरकारी निकायहरू यसप्रति किन चासो दिँदैनन् ?
नेपालमा निकासी–पैठारी नियमन गर्ने सरकारी निकायहरू जस्तै मन्त्रालय, विभाग, तथा निर्यात प्रवर्द्धन बोर्ड छन् । यस्ता संयन्त्रहरूले नेपालको जनसङ्ख्या कुन वस्तुको उपभोग गर्छ ? ती वस्तुहरूको औद्योगिक खपत कस्तो छ ? भन्ने विषयमा गहिरो अध्ययन गरेको देखिँदैन ।
उदाहरणका लागि सुपारी उत्पादनको अवस्था कस्तो छ ? उत्पादन र खपतको अनुपात के छ ? उत्पादन क्षमता बढ्दै गएको छ कि घट्दै गएको छ ? उत्पादन दर कस्तो छ ? यस्ता विषयमा विस्तृत अनुसन्धान आवश्यक छ । सही तथ्याङ्क उपलब्ध भएमात्र त्यसअनुसारको नीति निर्माण गर्न सकिन्छ । तर नीति निर्माणमा यस किसिमको गम्भीरता देखिँदैन ।
नेपाल विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) को सदस्य राष्ट्र भएकाले त्यसको सम्झौता विपरीत हुने गरी व्यापारमा नियन्त्रण लगाउन सकिँदैन । तर सम्झौताभित्र रहेर नियमन कसरी गर्ने ? परिणामात्मक बन्देज लगाउन सकिन्छ कि सकिँदैन ? यदि लगाउन सकिन्छ भने कुन अवस्थामा र कहिले लगाउने ? यी प्रश्नहरूको स्पष्ट कानूनी परिभाषा आवश्यक छ ।
सरकारी निकायहरू वा अन्य सरोकारवालाहरूले नियमन गर्नुपर्छ । नेपाल राष्ट्र बैंकले ‘लेटर अफ क्रेडिट’ खोल्दा त्यसको मार्जिन, वस्तुको माग, आपूर्ति र आवश्यकताको मूल्याङ्कन गरेर अनुमति दिने वा नदिने विषयमा विचार गर्नुपर्ने हो । तर व्यवहारमा यस्तो नियमन पर्याप्त देखिँदैन ।
भन्सारमा वस्तु आयात भइसकेपछि, दस्तावेज पूर्ण भएर आइसकेपछि त्यसलाई रोक्न कानूनी रूपमा कठिन हुन्छ । अर्को समस्या भनेको खुला सिमाना हो जसका कारण धेरै वस्तुहरू अवैध रूपमा भित्रिरहेका छन् । ठूलो मात्रामा वस्तु आयात भएको देखिन्छ तर त्यसको निर्यात विवरण फेला पर्दैन ।
यसले गर्दा विदेशी मुद्रा खर्च भइसकेको हुन्छ तर आम्दानी भने हुन सक्दैन । यस्तो अवस्था विदेशी मुद्रा सञ्चितिमा विचलनको सङ्केत हो जसलाई सम्बोधन गर्नु अत्यावश्यक छ । यस विषयमा खोज, अनुसन्धान र अध्ययन गर्नु सरकारका सम्बन्धित निकायहरूको दायित्व हो । सुराकीका आधारमा पनि अनुसन्धान गरी आवश्यक कदम चाल्नु सरकारको जिम्मेवारी हो । नेपाल र व्यापारमा संलग्न अन्य देशहरूबीच सूचनाको आदानप्रदान कतिको प्रभावकारी छ ? यो बुझ्न आवश्यक छ ।
सरकारको तथ्याङ्क वस्तुगत छैन भन्ने प्रश्न बेला–बेला उठ्ने गरेको छ । हामीसँग अन्य आधिकारिक तथ्याङ्क उपलब्ध नभएकाले सरकारले प्रकाशित गर्ने तथ्याङ्कलाई नै स्वीकार्नुपर्ने बाध्यता छ । सरकारले प्रस्तुत गर्ने तथ्याङ्कको पूर्णरूपमा आधिकारिकता पुष्टि गर्ने भरपर्दो आधार छैन ।
तथ्याङ्क सार्वजनिक भएपछि त्यसको आधिकारिकता जाँच्न आवश्यक हुन्छ । प्रकाशित तथ्याङ्क सही छ कि छैन भन्ने कुरा सरकारले पुनः परीक्षण गर्नुपर्छ । अन्यथा यदि तथ्याङ्क नै गलत भएमा त्यसका आधारमा निर्माण गरिने सरकारी नीतिहरू तथा कार्यक्रमहरू पनि त्रुटिपूर्ण हुनेछन् । त्यसैले विश्वसनीय र आधिकारिक तथ्याङ्कको उपलब्धता अत्यावश्यक छ ।
तथ्याङ्क वैधानिक, गुणस्तरीय र पर्याप्त मात्रामा सङ्कलन गरिएको हुनुपर्छ । अन्यथा गलत तथ्याङ्ककै कारण अर्थतन्त्रमा विसङ्गति सिर्जना हुन सक्छ । हाम्रो अर्थतन्त्रको अवस्था हेर्दा करिब आधा भाग औपचारिक र आधा भाग अनौपचारिक देखिन्छ । व्यवसाय क्षेत्रलाई हेर्दा पनि झन्डै आधाजति व्यवसायहरू दर्ता नै नगरिकन सञ्चालन भइरहेको पाइन्छ । त्यसैले तथ्याङ्क सङ्कलन र सार्वजनिक गर्दा पारदर्शीता, तथ्यपरकता तथा विश्वसनीयतामा ध्यान दिन जरुरी छ ।
उत्पादन नै नभएका वस्तु निर्यातले अर्थतन्त्रमा पर्ने प्रभाव
वैदेशिक मुद्रा प्राप्त गर्ने पाँच प्रमुख माध्यम छन् । तीमध्ये सबैभन्दा सरल माध्यम निर्यात हो । जति बढी निर्यात हुन्छ त्यति नै धेरै विदेशी मुद्रा भित्रिन्छ । दोस्रो माध्यम भनेको वैदेशिक लगानी हो । विशेषगरी परियोजनामा आधारित लगानी त्यस्तै तेस्रो पर्यटनबाट हुने आम्दानी हो तर अहिले पर्यटककाे सङ्ख्या बढे पनि वास्तविक भ्रमणको प्रभाव त्यति देखिएको छैन । चौथो माध्यम वैदेशिक सहायता हो र पाँचौं प्रमुख स्रोत भनेको वैदेशिक आय (रेमिट्यान्स) हो । अहिले वैदेशिक मुद्राको प्रमुख स्रोत नै रेमिट्यान्स बनेको छ ।
सामान्य रूपमा निर्यात वृद्धि हुनु सकारात्मक मानिन्छ तर मुख्य प्रश्न भनेको कुन वस्तु निर्यात भइरहेको छ र ती वस्तुहरू कहाँको उत्पादन हुन् भन्ने हो । के ती वस्तुहरू उत्पादनमा नेपालकै कच्चा पदार्थ प्रयोग गरिएको छ ? यस्ता पक्षहरूले ठूलो महत्त्व राख्छन् ।
आजभन्दा २० वर्षअघि हेर्ने हो भने नेपालबाट गलैँचा, पस्मिना, जडीबुटी, अलैँची, अदुवाजस्ता वस्तुहरूको निर्यात धेरै थियो । सन् १९९० सम्म नेपालको कुल वैदेशिक व्यापारमा निर्यातको योगदान ३०–३२ प्रतिशत थियो तर पछिल्ला वर्षहरूमा व्यापार बढ्दै गयो, उपभोग शैली परिवर्तन भयो र नेपालीहरू नयाँ ब्रान्डका वस्तुहरू खोज्न थाले । उत्पादनभन्दा पनि उपभोगमुखी प्रवृत्ति बढ्दै गयो ।
नयाँ पुस्ताले आयातित वस्तुको उपभोग गर्न थालेपछि नेपालमा उत्पादित वस्तुको माग घट्दै गयो र आयात निर्भरता बढ्यो । अहिले नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा उद्योग क्षेत्रको योगदान मात्र १३–१४ प्रतिशत रहेको छ । हामी बुलेट सिलिन्डरमा ग्यास ल्याएर साना सिलिन्डरमा भरेर बेच्ने गर्छाैँ, त्यसलाई उद्योग भनिन्छ । चिनी मिल, इँटा उद्योग, कपडा वा धागो आयात गरेर उत्पादन गर्ने उद्योगहरू छन् तर ती पूर्णरूपमा नेपालमै कच्चा पदार्थ उत्पादन गर्ने उद्योग होइनन् ।
सन् १९९६ मा भारतसँग भएको व्यापार सन्धिअनुसार नेपालमा उत्पादित वस्तुहरूको निर्यातमा कुनै प्रतिबन्ध लगाइएन र भन्सार छुट दिइयो । त्यसपछि नेपालबाट भारततर्फ निर्यात उल्लेख्य रूपमा बढ्यो तर सन् २००१ मा भारतले नेपालबाट अत्यधिक मात्रामा सामान निर्यात हुन थालेको भन्दै त्यो सन्धिको केही धाराहरू परिमार्जन गर्यो । यसले गर्दा नेपालबाट भारततर्फ हुने निर्यातमा कोटा प्रणाली लागू गरियो जसले केही असहजता ल्यायो ।
त्यस बेला नेपालबाट भारततर्फ मुख्य रूपमा वनस्पति घिउ, एक्रेलिक यार्न, जिङ्क अक्साइड आदि निर्यात गरिन्थ्यो तर प्रविधिको अभावले गर्दा नेपालले गुणस्तरीय उत्पादनमा सुधार गर्न सकेन । आयातित वस्तुहरू नेपाल प्रवेश गर्दा गुणस्तर परीक्षण वा क्वारेन्टाइन जाँच गर्ने उचित संरचना छैन ।
यदि नेपालले यस्ता जाँच प्रक्रिया कडाइका साथ लागू गर्न खोजेमा आयातमा अवरोध आउन सक्छ जसले वस्तुको अभाव सिर्जना गर्ने खतरा रहन्छ । तर उल्टो नेपालबाट निर्यात हुने वस्तुहरूमाथि भारतले कडा नियम लगाएको देखिन्छ ।
नेपालले पनि आवश्यकतानुसार नीति निर्माण गर्दै प्रविधिको विकास गर्न आवश्यक छ जसले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सकाेस् । नेपालले ‘हामी पनि जाँच गर्छाैँ’ भनेर अन्तर्राष्ट्रिय बजारमा आफ्नो क्षमता प्रमाणित गर्न आवश्यक छ ।
अहिलेको कृषि वस्तु निर्यात नीतिले किसानलाई प्रत्यक्ष रूपमा फाइदा पुर्याउन सकेको छैन । बरु बिचौलियाहरूलाई मात्र फाइदा पुगेको छ । अर्कोतर्फ नेपालको अर्थतन्त्र ‘फुलाएको बेलुन’ जस्तो बनेको छ – यदि कसैले सानो प्वाल पारिदियो भने बेलुन जसरी सेलाउँछ, त्यस्तै कुनै देशले आफ्नो व्यापार नीति अलि परिवर्तन गर्दा नै नेपालको अर्थतन्त्र गम्भीर रूपमा प्रभावित हुने जोखिम रहन्छ ।
यसको मुख्य कारण भनेकै उत्पादनमुखी निर्यातको अभाव हो । त्यसैले दीर्घकालीन रूपमा अर्थतन्त्रलाई मजबुत बनाउन उत्पादन–आधारित निर्यात नीति निर्माण गर्नुपर्ने आवश्यकता छ ।
सैद्धान्तिक रूपमा निर्यातमुखी अर्थतन्त्र निर्माण गर्नु राम्रो हो तर मुख्य कुरा के निर्यात भइरहेको छ भन्ने हो । यदि हाम्रो पहाडी क्षेत्रका मौलिक उत्पादनहरूलाई ब्रान्डिङ गरेर निर्यात गर्न सकियो भने राम्रो हुन्थ्यो । तर उत्पादनशील क्षेत्रमा लगानी नगरी कच्चा पदार्थ आयातमा निर्भर रहनु अर्थतन्त्रका लागि सकारात्मक मानिँदैन । यस्तो अवस्थाले अन्तर्राष्ट्रिय रूपमा नेपालको छवि कमजोर बनाउँछ ।
अहिले नेपाल ‘ग्रे लिस्ट’ मा परेको छ । जसले हाम्रो विश्वसनीयता घटाउने काम गर्छ । यसको असर हाम्रो आर्थिक क्रियाकलापमा देखिन्छ किनकि अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले कारोबार गर्दा थप निगरानी राख्छन् । त्यसैले केवल निर्यात वृद्धि गर्नु मात्र होइन, आफ्नै स्रोत र साधनमा आधारित निर्यात नीति अपनाउनु आवश्यक छ ।
नेपालले सीपको निर्यात गरेको छैन बरु श्रमको निर्यात गरिरहेको छ । यसर्थ वैदेशिक रोजगारीका लागि जाने जनशक्तिलाई दक्ष बनाएर पठाउनु आवश्यक छ जसले दीर्घकालीन रूपमा फाइदा दिन्छ ।
जस्तै अरब राष्ट्रहरूले तेल निर्यात गरेर अर्थतन्त्र मजबुत बनाएका छन् । त्यसैगरी नेपालले पनि आफ्ना जलस्रोतलाई ब्रान्डिङ गरी निर्यात गर्ने सम्भावना छ । जलविद्युत् क्षेत्रमा अहिले केही सुधार भएका छन् तर यसलाई दिगो बनाउन थप प्रयास आवश्यक छ ।
२०६० सालको मोडेल बजेटमा मैले नै अरुण जलविद्युत् आयोजना सबैको लगानीबाट निर्माण गर्ने सुझाव सरकारलाई दिएको थिएँ । सामूहिक लगानीका यस्ता आयोजनाहरूले दीर्घकालीन लाभ दिने भएकाले सरकारले त्यसलाई लागू गरेको देखिन्छ ।
नेपालले चीनबाट सिक्न आवश्यक छ । चीनले निकासीमुखी अर्थतन्त्र निर्माण गरी विश्वका अधिकांश देशहरूसँग व्यापार बचत कायम गरेको छ । नेपालले पनि निर्यात बढाउने रणनीति अपनाउनु पर्छ जसले दीर्घकालीन रूपमा आर्थिक स्थायित्व ल्याउन सक्छ ।
कतिपय कच्चा पदार्थ नेपालमै ठूलो मात्रामा उत्पादन गर्न सकिन्छ भने कतिपयलाई ठूलो मात्रामा उत्पादन गर्न सम्भव हुँदैन । त्यसैले विदेशबाट कच्चा पदार्थ ल्याएर प्रयोग गर्नु पूर्णरूपमा अस्वाभाविक होइन । तर कुन वस्तु उत्पादन भइरहेको छ भन्ने विषयमा ध्यान दिनु आवश्यक छ । उदाहरणका लागि यदि भविष्यमा नेपाललाई युरेनियम चाहिने भयो भने त्यसलाई विदेशबाट आयात गर्नुपर्ने हुनसक्छ ।
यदि नेपालमा चिनी उद्योग स्थापना गरियो र किसानको उत्पादन लागत बढी परेका कारण भारतको उखु प्रयोग गरियो भने त्यो दीर्घकालीन रूपमा नेपालका किसानका लागि हानिकारक हुनसक्छ । त्यसैले जबसम्म नेपालमै पर्याप्त कच्चा पदार्थ उत्पादन गर्न सकिन्छ त्यति बेलासम्म देशकै उत्पादनलाई प्रोत्साहन गर्ने नीति सरकारले अवलम्बन गर्नुपर्छ ।
नेपालमा राम्रो सम्भावना भएका निर्यातमुखी वस्तुहरू
नेपालमा सबैभन्दा ठूलो सम्भावना कृषि क्षेत्रमा छ । पछिल्लो समय धान चामल उत्पादन तथा निर्यातको अवस्था कमजोर देखिएको छ । यसको मुख्य कारण भारतमा ठूलो मात्रामा कृषि उत्पादन हुनु हाे, भारतमा भू–क्षेत्र फराकिलो र जनसङ्ख्या पनि धेरै छ । नेपालमा त्यो स्तरको उत्पादन सम्भव नभएकाले हामीले अर्ग्यानिक उत्पादनलाई प्राथमिकता दिनुपर्छ ।
हामीले आन्तरिक उत्पादनलाई गुणस्तरीय बनाउँदै अन्तर्राष्ट्रिय बजारमा उच्च मूल्यमा बेच्ने रणनीति अपनाउन सक्छौँ । उदाहरणका लागि यदि अन्य देशका उत्पादनहरूको मूल्य ५ डलर छ भने हाम्रो उत्पादनलाई १० डलर दिन सक्ने गुणस्तर कायम गर्नुपर्छ ।
मसला (अलैँची, अदुवा, जडीबुटी) उच्च पहाडी क्षेत्रका भेँडा–च्याङ्ग्राको मासु, खनिज पदार्थ, जलस्रोतसम्बन्धी उत्पादनहरू, हस्तकलाका उत्पादनहरूलाई ब्रान्डिङ गरेर अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सकेमा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा टेवा पुग्नेछ ।
पछिल्लो समय नेपाली युवा वर्ग उत्पादनमुखीभन्दा उपभोगमुखी बढी भएको देखिन्छ । देखासिकीको प्रवृत्तिले गर्दा अनावश्यक रूपमा वस्तु खरिद र उपभोग गर्ने चलन बढ्दै गएको छ जसले हाम्रो अर्थतन्त्रमा नकारात्मक असर पारिरहेको छ ।
अहिले नेपाली समाजमा खर्च गर्ने बानी बढ्दै गएको छ जसलाई सन्तुलित बनाउन सरकारले विद्यालयस्तरबाटै आर्थिक सचेतना कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ । यदि हामीले केवल उपभोगमात्रै गर्याैँ भने उत्पादन नगर्ने बानीले नेपाललाई परनिर्भर बनाउनेछ ।
राज्यले उत्पादन सम्भावना भएका वस्तुहरूबारे नीतिगत व्यवस्था गरेर ती नीति नागरिक तहसम्म पुर्याउनुपर्छ । साथै निजी क्षेत्रको पहुँच केही सीमित समूहमा मात्र केन्द्रित भएकाले राज्यले केवल सम्पन्न वर्गको मात्र कुरा सुन्नु हुँदैन । साना तथा मध्यम स्तरका व्यवसायीहरूलाई पनि प्रवर्द्धन गर्ने नीति आवश्यक छ जसले गर्दा उनीहरूकाे आर्थिक उन्नति हुन सक्छ ।
उत्पादनमुखी अर्थतन्त्र बढाउने उपाय
सरकारी लगानी वृद्धि : उत्पादनशील क्षेत्रमा राज्यको लगानी बढाइनुपर्छ । चालू खर्च कटौती गरी अनावश्यक सरकारी खर्च घटाउनुपर्छ ।
कृषि प्राथमिकता : कृषि क्षेत्रमा आधुनिक प्रविधि, गुणस्तरीय उत्पादन सामग्री, पूर्वाधार विकास तथा सरकारी सहुलियत आवश्यक छ ।
सञ्चार तथा यातायात पूर्वाधार : ग्रामीण सडक, हाटबजार, शीतभण्डारजस्ता पूर्वाधार विस्तार गर्नुपर्छ ।
उद्योग र कृषि एकीकरण : कृषि उत्पादनलाई औद्योगिक उत्पादनसँग जोड्ने नीति बनाउनुपर्छ ।
जलस्रोतको प्रभावकारी उपयोग : नेपालकै पानी नेपालमै उपयोग गर्न नदी मिलान योजना, पोखरी निर्माण, सिँचाइ प्रणाली सुधार गर्नुपर्छ ।
औद्योगिक ग्राम स्थापना : साना तथा ठूला उद्योगहरूको उत्पादनलाई बढावा दिन औद्योगिक ग्राम निर्माण गर्नुपर्छ ।
यी उपायहरू कार्यान्वयन गर्न सकेमा आन्तरिक उत्पादनमा आधारित निर्यातमुखी अर्थतन्त्र निर्माण सम्भव हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
डा. अधिकारी अर्थविद् हुनुहुन्छ ।