अमेरिकाले फिलिपिन्सलाई २० वटा एफ–१६ लडाकू विमान बिक्री गर्ने
चैत २०, २०८१ बुधबार
हेटौँडाबाट बिहान ९ बजे छुटेको गाडी भीमफेदी–कुलेखानी–सिस्नेरी हुँदै दिउँसो २ बजे बल्खु आइपुग्यो । यात्राले थाकेका केही यात्रुहरू गाडी रोक्ने ठाउँ नजिकैको बेन्चमा थकाइ मार्न लागे भने कोही यात्रुहरूले चालकसँग असन्तुष्टि पोख्न थाले ।
‘यस्तो बाटो किन ल्याएको ?’, एक जना यात्रुले गाडी चालकसँग गुनासो गरे ।
‘बाटो यस्तै छ त के गर्नु ?’, चालकले जवाफ फर्काए ।
‘त्यसो भन्दैमा जता भित्तो छ, त्यतै ठोक्दिने ?’, अर्को यात्रुले चर्को आवाजमा भने, ‘हामी पनि पैसा तिरेर चढेका हौँ, सजिलोसँग पुर्याउनुपर्छ !’
चालक पनि रिसाए, ‘बाटोभरि पहिरो, अप्ठ्यारो, खाल्डाखुल्डी छ, कहाँ कुदाउनु ?’
अरू यात्रुहरू र चालकको बहस चल्दै गर्दा गाडीको डिकीबाट पहेँलो बोरा निकाल्दै हुनुहुन्थ्यो हेटौँडाका रमेश तिमल्सिना । रमेश कामको सिलसिलामा बेलाबेला काठमाण्डौ आउजाउ गर्नुहुन्छ । सात महिनापछि उहाँ फेरि प्रदेश राजधानीबाट सङ्घीय राजधानी आइपुग्नुभएको हो । खराब सडक र असहज यात्रा उहाँका लागि नौलो हुन छोडिसक्यो ।
रमेशलाई यस पटकको यात्रा सहज होला भन्ने आशा थियो तर बाटोका कारण यात्रा फेरि उस्तै दुःखद बन्यो । ‘अघिल्लो चोटि वैशाखमा चित्लाङ भएर आएँ, त्यति बेला पनि बाटो एकतर्फी रोक्दै बनाउँदै थिए । अब त बनिसक्यो होला भन्ने सोचेको थिएँ तर अहिले भीमफेदी–कुलेखानी भएर आउँदा पनि उस्तै रैछ’, उहाँले गुनासो गर्नुभयो ।
असोजको वर्षाले बिगारेको बाटो अझै बनेको छैन । कुलेखानीको पुल बगेको पनि महिनौं भइसक्यो, अझै नयाँ पुल बनेको छैन । रमेशले झन् आक्रोशित हुँदै भन्नुभयो, ‘प्रदेश र सङ्घीय राजधानी जोड्ने बाटोको यस्तो हालत छ तर कसैलाई मतलब छैन !’
‘चुनावमा नेताको स्वार्थका लागि रातारात बनाइने र पिच हुने बाटो, यात्रुहरूले सात महिनासम्म दुःख भोग्दा कसैलाई चासो छैन !’, रमेशले रिस पोख्नुभयो ।
काठमाण्डौ–हेटौँडा चल्ने यात्रुहरू मात्र होइनन्, दिनहुँ गाडी चलाउने चालकहरूको पीडा झन् ठूलो छ । मकवानपुरको इन्द्रसरोवरका जीवन वाइबा १५ वर्षदेखि भीमफेदी–कुलेखानी–सिस्नेरी रुटमा गाडी चलाउँदै आउनुभएको छ । यो बाटोमा गाडी चलाउँदै गर्दा सुखभन्दा बढी दुःख सहनुपरेको उहाँ बताउनुहुन्छ ।
‘पहिले तीन घण्टामा पुग्थ्यौँ, अहिले पाँच–छ घण्टा लाग्छ’, उहाँ भन्नुहुन्छ, ‘कतिपय ठाउँमा बाटै नै छैन, बगरमै गाडी चलाउनुपरेको छ ।’ असोजको भेलले बाटो बगाएर बगर बनाइदिएकाे छ । सरकारले अस्थायी ट्र्याक खोल्यो तर त्यो पनि सोझै बगरबाटै जान्छ ।
‘झन् पानी पर्यो भने ठाउँ-ठाउँमा पहिरो खस्छ । हिलो, ढुङ्गा, खाल्डाखुल्डी ! गाडी चलाउनु त परै जाओस्, हिँड्न पनि मुश्किल हुन्छ’, उहाँले दुखेसो पोख्नुभयो ।
‘यसपालि पनि अवस्था झन् खराब हुने चिन्ता छ । सडक राम्रो नहुँदा चालकहरूलाई गाडी हाँक्न मात्र होइन, यात्रुहरूको गुनासो सुन्न पनि गाह्रो छ । तर, विकल्प नै के छ र ? आखिर परिवार पाल्नकै लागि भए पनि जोखिम मोलेरै गाडी गुडाउनुपर्ने बाध्यता छ’, जीवनले सुस्केरा हाल्नुभयो ।
काठमाण्डौ–हेटौँडा जोड्ने कुन सडकको अवस्था कस्तो ?
काठमाण्डौ र हेटौँडालाई जोड्ने पाँच वटा छोटो दूरीका सडक छन् । तीमध्ये केही गएको असाेजको वर्षाले भत्किए । थानकोट–चित्लाङ–पालुङ–भैँसे जोड्ने सडक भने तुलनात्मक रूपमा कम क्षति भएको छ । यही कारण अरू बाटो बन्द हुँदा यात्रुहरू यही सडक रोज्न थालेका छन् ।
त्रिभुवन लोकपथअन्तर्गतको थानकोट–नौबीसे–पालुङ–भैँसे सडक पनि सामान्य अवस्थामा छ । अहिलेसम्म यो सडकमा खासै समस्या देखिएको छैन ।
कान्ति लोकपथको पुनर्निर्माण अधुरो
हेटौँडाबाट ललितपुरको सातदोबाटो जोड्ने कान्ति लोकपथको यात्रा अहिले पनि कष्टकर छ । असोजको वर्षाले बुद्धचोकदेखि टीकाभैरवसम्म ठाउँ–ठाउँमा सडक भत्कायो । भत्किएको ठाउँमा जेनतेन मर्मत गरेर गाडी चलाउने अवस्था त बनेको छ तर पूर्णरूपमा बाटो बन्ने सङ्केत अझै देखिएको छैन ।
मकवानपुर खण्डमा एक सय वटा पहिरो खस्यो, ललितपुर खण्डमा ९० वटा । पहिरो हटाएर गाडी चल्ने गरी बाटो खुलाइएको छ तर कतिपय ठाउँमा गाडी चलाउनै मुश्किल छ ।
सबैभन्दा ठूलो समस्या बागमतीको पुल बगेपछि थपिएको हो । पुल नभएपछि यात्रुहरू झनै हैरान छन् । यो खण्डको झन्डै २० किलोमिटर सडक जीर्ण छ । ‘दुई महिनाभित्र पुल बनिसक्छ’, कान्ति लोकपथ आयोजनाका प्रमुख इन्जिनियर रत्नलक्ष्मी महर्जनले भन्नुभयो । दुई वटा ठेक्का लागिसकेको र अब विस्तारै पुनर्निर्माणको काम अघि बढ्ने उहाँको भनाइ छ । ‘बजेट अभावले सुरक्षामा मात्र ध्यान दिन सकियो, अन्य काम गर्न पैसा पुगेन’, इन्जिनियर महर्जन बताउनुहुन्छ ।
अहिले सबैभन्दा जोखिममा रहेको ठाउँ भैँसे र बालुवाबास हो । यी ठाउँमा ठूलो पहिरो गएको छ जसले गर्दा अहिले एकतर्फी मात्र गाडी चल्ने अवस्था छ । ‘यसपालि जसरी पनि यी ठाउँ मर्मत गर्नुपर्छ, नत्र बाटो अवरुद्ध हुन्छ’, महर्जनले भन्नुभयो ।
बागमती नदीमा अस्थायी रूपमा बेलिब्रिज राख्ने तयारी भइरहेको छ । तर वर्षामै बाटो फेरि अवरुद्ध हुने चिन्ता छ । पुनर्निर्माणका लागि २ अर्ब ५२ करोड रुपैयाँ बजेट व्यवस्थापन गरिएको छ । तर सबै काम सक्न तीन वर्ष लाग्ने अनुमान छ ।
भीमफेदी–कुलेखानी–सिस्नेरी–मार्खु–चित्लाङ–थानकोट मार्गमा अहिले विभिन्न खण्डमा मर्मत तथा निर्माणका काम भइरहेका छन् जसले यात्रा असहज बनाएको छ ।
चित्लाङ–मार्खु सडक खण्डमा अहिले नाली निर्माणको काम भइरहेको छ । वर्षाअघि ग्राभेल गर्ने लक्ष्य राखिएको छ । तर पहिरोले क्षतिग्रस्त बनेको थानकोट–चित्लाङ सडक भने कालोपत्र गर्न आवश्यक छ तर वर्षासम्म सम्भव छैन ।
भीमफेदी–कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाण्डौ सडकमा पनि निर्माणको काम भइरहेको छ । ठाउँ-ठाउँमा सडक मर्मत र फराकिलो बनाउने काम भइरहेको छ । वर्षाअघि नै कालाेपत्र गरिसक्ने योजना छ ।
भीमफेदी–सिस्नेरी–दक्षिणकाली सडक खण्डमा भने विगत पाँच महिनादेखि खासै काम भएको छैन । यही कारणले आउँदो वर्षामा बाटो अवरुद्ध हुने खतरा छ । सिस्नेरी क्षेत्रमा बाढीले बगाएको सडक असारअघि नै मर्मत सक्ने योजना छ ।
इन्जिनियर देवनारायण यादवका अनुसार वर्षाअघि जसरी पनि सडक मर्मत हुन्छ । ज्यामिरे र सिस्नेरीमा एक हजार दुई सय मिटर सडक पूर्णरूपमा क्षतिग्रस्त छ । यहाँ मात्रै आठ करोड रुपैयाँ बराबरको क्षति भएको छ । कुलेखानीमा पुल बगाएपछि अहिले खोलाबाट डाइभर्सन बनाएर गाडी सञ्चालन गरिएको छ ।
असोजको वर्षाले भत्किएका सबै ठाउँ बनिसकेका छैनन् । सडक मर्मतको काम सुस्त गतिमा भइरहेको छ । काम छिटो नभएमा आउँदो वर्षामा सङ्घीय राजधानी काठमाण्डौ र प्रदेश राजधानी हेटौँडा जोड्ने छोटो मार्ग ठप्प हुन सक्ने चिन्ता छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
महेश ज्ञवाली उज्यालाेमा कार्यरत हुनुहुन्छ ।