नेता बन्न बम राख्ने व्यक्ति पक्राउ

 कात्तिक ३०, २०७५ शुक्रबार १५:५५:३ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – बिहीबार नेपालगञ्जमा बम राख्ने व्यक्तिलाई पक्राउ गरी प्रहरीले शुक्रबार सार्वजनिक गरिएको छ ।

बम राखेको अभियोगमा जाजरकोटको नलगाड ४ का २७ वर्षका प्रदीप वली पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले पक्राउ परेका वली लामो समयदेखि भारतको सिम्लामा रहेको फैक्ट्रीमा मजदुरको रुपमा कार्यरत रहेको र त्यही बम बनाउन सिकेको पाइएको जानकारी दिनुभयो ।

समाजमा आतंक सिर्जना गर्ने उद्देश्यले बम राखेको पाइएको उहाँले बताउनुभयो । प्रहरीले पुष्पलाल चोकमा राखिएको सीसी क्यामेराको फुटेज तथा सुरक्षा निगरानीका आधारमा बम राखिएको एक घण्टाभित्र वलीलाई शंकाष्पद व्यक्तिको रुपमा पहिचान गरी बम डिस्पोजल गर्नुभन्दा अगाडि नै पक्राउ गरेको थियो ।

नेपाल–भारतको सीमा नाकामा बम राख्ने उद्धेश्य भए पनि वलीले सुरक्षाका कारण पुष्पलाल चोकमा राखेको बयान प्रहरी समक्ष दिएका छन् । प्रहरीले वलीको साथबाट  झण्डै ४२ हजार रुपैयाँसहित सीम कार्ड, नागरिकतासँगै कमाण्डो ग्रुप र ‘हामी नेपाली, हाम्रो नेपाल’ नामक लेटर प्याडलगायतका प्रचार सामाग्री समेत बरामद गरेको छ ।

वलीले आफूलाई समूहको अध्यक्षको रुपमा चिनाएका छन् । उच्च मावि उत्तिर्ण गरेका वलीले भारतको सिम्लामा नेपाली मजदुर जम्मा पारेर समूह बनाएको र आफू नेता बन्ने महत्वकांक्षा देखाएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी पौडेलले बताउनुभयो ।

नेपालगञ्जमा राखिएको बम परिमार्जित विष्फोटक पदार्थ(आईईडी) भएको प्रहरीले जनाएको छ । पुष्पलाल चोकमा  बिहीबार बिहान ११.३० बजेतिर  प्लाटिकको झोलाभित्र  राखिएको बम दिउँसो ४ बजेतिर नेपाली सेनाको टोलीले सुरक्षित रुपमा निष्कृय पारेको थियो । प्रहरीले वलीका विषयमा थप अनुसन्धान गरिरहेको छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया