नेपालमा ३४ प्रतिशत मानिसले गर्छन् सुर्तीजन्य पदार्थको प्रयोग

 चैत २५, २०८० आइतबार ९:३०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेपालमा ३४ प्रतिशत मानिसले सुर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेको पाइएको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठानले गरेको सर्वेक्षणअनुसार कुल पुरुषमध्ये ५७ प्रतिशत र कुल महिलाको ११ प्रतिशत गरी समग्रमा ३४ प्रतिशतले सुर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेको पाइएको हो ।

सबैभन्दा धेरै कर्णाली प्रदेशमा ४७ दशमलव ८ प्रतिशत मानिसले कुनै न कुनै किसिमको सुर्तीजन्य पदार्थको प्रयोग गरिरहेका छन् भने सबैभन्दा कम वाग्मती प्रदेशमा २४ प्रतिशतले सुर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेका देखिएको छ । सुर्तीजन्य पदार्थ प्रयोग गर्ने ३४ प्रतिशतमध्ये सबैभन्दा धेरै ५५ देखि ६९ वर्ष उमेर समूहका मानिस धेरै छन् । युवा वर्गमा हुक्का र ई–सिगरेटको प्रयोग बढ्दै गएको सर्वेक्षणले देखाएको छ ।

अध्ययनले सुर्तीजन्य पदार्थको प्रयोगको असरबाट नेपालमा हरेक वर्ष ३७ हजार ५२९ जनाको ज्यान जाने गरेको देखाएको छ । सर्वेक्षण सन् २०२४ को शुरुवातमा सबै प्रदेशका १८ ठाउँ छनौट गरी गरिएको थियो । सर्वेक्षण प्रतिवेदनमा सुर्तीजन्य बस्तुकोे नियन्त्रणका निम्ति कर र खरिद मूल्य बढाउनुपर्ने सुझाव छ ।

अहिले नेपालमा सुर्तीजन्य बस्तुको खुद्रा मूल्यमा ४१ प्रतिशत कर लगाइएको छ । यो दक्षिण एसियाली देशमध्ये सबैभन्दा कम रहेको प्रतिष्ठानले जनाएको छ । विश्व स्वास्थ्य संगठनले सुर्तीजन्य पदार्थको खुद्रा मूल्यमा ७५ प्रतिशत कर लगाउनुपर्ने मापदण्ड तोकेको छ ।

अहिलेको तुलनामा ३५ प्रतिशत कर वृद्धि हुँदा १२ देखि १४ अर्बसम्म राजस्व बढ्ने र आठ प्रतिशत खपत घट्ने देखिएको छ । यसैबीच आज 'मेरो स्वास्थ्य मेरो अधिकार' भन्ने नारासहित आज विश्व स्वास्थ्य दिवस मनाइँदैछ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया