नेपालका हिमालमा वसन्तयामको आरोहण शुरु

 बैशाख २, २०८१ आइतबार १२:५३:२० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सेभेन समिट ट्रेक्स

काठमाण्डौ – वसन्तयामका लागि नेपालका हिमालमा आरोहण शुरु भएको छ । मकालु र अन्नपूर्ण–१ मा शिखरसम्म डोरी बाटो बनाउने काम पूरा भएर आरोहण शुरु भएको सेभेन समिट ट्रेक्सले जनाएको छ । बाटो बनाउनेहरू डोरी र भर्‍याङ राख्दै शिखरसम्म पुगिसकेपछि मौसमको अनुकूलअनुसार आरोहीहरू शिखरतर्फ जान्छन् ।

यस वर्ष वसन्तयाममा नेपालका हिमाल आरोहणका लागि अहिलेसम्म २१ वटा हिमालमा पाँच सय ४३ जनाले अनुमति लिएका छन् । उनीहरूबाट ३७ करोड ७३ लाख रुपैयाँ रोयल्टी सङ्कलन भएको छ । यस वर्ष सगरमाथामा भने आरोहीको सङ्ख्या घटेको छ । अहिलेसम्म सगरमाथा आरोहणका लागि दुई सय ३४ जनाले अनुमति लिएका पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिनुभयो ।

गएकाे वर्ष सन् २०२३ मा चार सय ७८ जना आरोहीले सगरमाथा आरोहणका लागि पर्यटन विभागबाट अनुमति लिएका थिए । आरोहणका लागि धेरैजसो आरोहीहरू आधार शिविरतर्फ गइसकेकाले अब अनुमति लिनेको सङ्ख्या धेरै नथपिने पर्यटन व्यवसायीहरू बताउँछन् । यस वर्ष सगरमाथामा बाटो बनाउने काम पनि ढिलाइ भइरहेको छ ।

खुम्बु आइसफलमा गएका वर्षहरूमा प्रयोग गरिँदै आएको बाटो यस वर्ष नभेटिएपछि नयाँ बाटो पहिचान गर्न समय लागेको आइसफल डाक्टरहरूले बताएका छन् ।

यस वर्ष सन् २००४ मा प्रयोग गरिएको बाटोलाई प्रयोग गर्ने गरी निर्माणको काम भइरहेको छ । हिउँको जङ्गल भनेर चिनिने खुम्बु आइसफललाई सगरमाथा आरोहणमा बाटो बनाउँदा मुख्य चुनौतीको रूपमा लिइन्छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया