जापानका परराष्ट्रमन्त्री योको खामिखावा आज नेपाल भ्रमणमा आउँदै

 बैशाख २३, २०८१ आइतबार ६:२९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – जापानका परराष्ट्रमन्त्री योको खामिखावा आज एक दिने नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा कामीकावा नेपालको औपचारिक भ्रमणमा आउन लाग्नुभएको हो । भ्रमणका क्रममा उहाँले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्नुहुने तथा परराष्ट्रमन्त्री श्रेष्ठसँग भेटघाट र द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

भ्रमणका क्रममा कुनै समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम नभए पनि दुई पक्षीय सम्बन्धकाबारेमा छलफल हुनेछ । हालै भारत, कतार, चीन, अमेरिकालगायत देशबाट नेपालमा भैरहेका भ्रमणको श्रृङ्खला माझ नेपालको प्रमुख साझेदार रहेको जापानबाट परराष्ट्रमन्त्री तहको भ्रमण हुन लागेको हो ।

जापानका परराष्ट्रमन्त्री खामिखावाले फ्रान्स र श्रीलङ्कासहित ६ वटा देशको भ्रमणको कार्यसूची अन्तर्गत नेपाललाई अन्तिम गन्तव्य बनाउन लाग्नुभएको हो । उहाँ कोलम्बोबाट काठमाण्डौ आउने र बेलुका नै काठमाण्डौबाट स्वदेश फर्किनुहुने कार्यक्रम छ । जापानको परराष्ट्रमन्त्री नियुक्त भएपछि खामिखावाको यो पहिलो नेपाल भ्रमण हो । अहिले जापानमा एक लाख ६० हजारभन्दा धेरै नेपाली नागरिक अध्ययन, रोजगारी र व्यापार–व्यवसायको सिलसिलामा रहेका तथ्याङ्क छ ।  

नेपाल–जापान सम्बन्ध

दुई देशबीच कूटनीतिक सम्बन्ध कायम भएको ७० वर्ष पनि पुग्दैछ । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध सन् १९५६ सेप्टेम्बर १ तारिखमा स्थापना भएको हो । दुई देशबीचको सांस्कृतिक, सामाजिक, धार्मिक र जनस्तरको सम्बन्ध भने एक सय २५ वर्ष पुरानो हो । सन् १८९९ मै जापानका बौद्धभिक्षु इकाइ कावागुची बौद्ध ग्रन्थ र धर्मको अनुसन्धान गर्ने सिलसिलामा नेपाल आउनुभएको थियो ।

नेपालबाट सन् १९०२ मा आठ जना नेपाली विद्यार्थी उच्च शिक्षाका लागि जापान गएका थिए । जापान–नेपालबीच दौत्य सम्बन्ध स्थापना भएको नौ वर्षपछि सन् १९६५ मा नेपालले टोकियोमा राजदूतावास स्थापना गरेको थियो । त्यसको तीन वर्षपछि जापानले नेपालमा राजदूतावास खोलेको हो ।

नेपालको शिक्षा, स्वास्थ्य, सञ्चार, कृषि, पूर्वाधार, ऊर्जा, नागरिक उड्डयनलगायत क्षेत्रमा जापानले सहयोग गर्दै आएको छ । सिन्धुली–बर्दिवास सडकदेखि नागढुङगा–सिस्नेखोला सुरुङमार्गमा पनि जापानले सहयोग गरेको छ । जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी नेपालको आर्थिक–समाजिक विकासमा केन्द्रित भएर जापानले सहयोग गरिरहेको बताउनुहुन्छ । जापानका परराष्ट्रमन्त्रीको यो भ्रमणले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउन महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया