वैशाख महिनाको २४ दिनमा आगलागी, डढेलो र चट्याङबाट २७ जनाको ज्यान गयो

 बैशाख २६, २०८१ बुधबार ९:१९:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ गतेदेखि अस्ति सोमवारसम्म २७ जनाले ज्यान गुमाएका हुन् । आगलागीबाट मात्रै १८ जनाको ज्यान गएको छ । अरु ६ जनाले डढेलो र ३ जनाले चट्याङमा परेर ज्यान गुमाएका हुन् । यी घटनामा ९० जना घाइते भएका प्राधिकरणले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा पनि चट्याङको घटना भएका छन् । आगलागीबाट वैशाख महिनामा मात्रै एक हजार दुई सय ७१ परिवारको घरगोठ जलेको छ । घरगोठमा भएको धेरैजसो आगलागी डढेलोका कारण भएको पाइन्छ । यस वर्षको सुख्खायाम अर्थात गएको जनवरी १ देखि अहिलेसम्म देशभर पाँच हजारभन्दा धेरै डढेलोका घटना भएका छन् । डढेलोले हजारौँ हेक्टर जङ्गल नष्ट भएको छ । जङ्गलमा रुखविरुवा मात्र हैन जीवजन्तुहरु पनि जलेका छन् ।

यसले पर्यावरणमै असर गरिरहेको छ । यति ठूलो क्षति हुँदा पनि सरकारले डढेलोलाई ठूलो विपद्को रुपमा स्वीकार नगरेको विज्ञले बताएका छन् । डढेलोबाट विभिन्न क्षेत्रमा हुने क्षतिलाई हेर्दा यो सामान्य विपत्ति नभई महाविपत्ति नै रहेको विपद् जोखिम व्यवस्थापनविज्ञ केशव मलासीले बताउनुभएको छ ।

जङ्गलमा लागेको डढेलो निभ्न पानी नै पर्नुपर्ने अवस्था छ । अस्ति र हिजो पानी परेसँगै देशका धेरैजसो ठाउँको डढेलो निभेको छ । पानी परेको र डढेलो पनि निभेका कारण वायुको गुणस्तर पनि सुधार भएको छ । यस्तै बादल र वर्षासँगै गर्मी पनि केही घटेको छ । लामो खडेरीले आजित भएका किसान पानी परेपछि उत्साहित भएका छन् । मौसम पूर्वानुमान् महाशाखाले अझै केही दिन मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको जनाएको छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया