दार्चुलामा नेपाल–भारत जोड्ने मोटरेबल पुलको निर्माण कार्य तीव्र

 जेठ २, २०८१ बुधबार १२:३५:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – दार्चुलामा नेपाल–भारत जोड्ने मोटरेबल पुलको निर्माण कार्य तीव्र रूपमा भइरहेको छ । भारतीय पक्षले निर्माण गरिरहेको एक सय १० मिटर लम्बाइको पुलको काम धमाधम भइरहेको निर्माण कम्पनीले जनाएको छ ।

यो मोटरेबल पुल २०७९ असोज ३ गते तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र भारततर्फ उत्तराखण्डका मुख्यमन्त्री (सीएम) पुष्करसिंह धामीले संयुक्त रूपमा शिलान्यास गर्नुभएको थियो । मोटरेबल पुलमा अहिले स्टिल ब्रिज राख्ने काम भइरहेको छ ।

दार्चुलाको महाकाली नगरपालिका वडा–८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धारचुला तहसिल बलुवाकोट नजिकको छारछुम क्षेत्रमा नेपाल–भारत जोड्ने पुल बनिरहेकाे छ । पुल भारतीय कम्पनी पीएण्ड आर इन्फ्राप्रोजेक्ट लिमिटेड पन्जाले निर्माण गरिरहेको छ । ३२ करोड ९८ लाख भारतीय रुपैयाँकाे लागतमा पुल निर्माण थालिएको हो ।

जिल्लामै पहिलो पटक महाकाली नदीमा पक्की पुल निर्माणले स्थानीयवासी खुशी भएका छन् । द्विपक्षीय निर्माण सम्झौतानुसार यो पुलको निर्माण कार्य यसै वर्ष सकिनुपर्ने छ । पुल निर्माण सम्पन्न भएपछि सरकारी र नागरिकस्तरमा दुई देशको सम्बन्ध थप बलियो हुनुका साथै दार्चुलाको स्थानीय कृषि उत्पादन, जडीबुटी, धातु र कच्चा पदार्थको अन्तर्राष्ट्रिय व्यापारमा समेत सहज हुने स्थानीयवासी रविन्द्रसिंह धामीले बताउनुभयो ।

महाकालीमा मोटरपुल निर्माण भएपछि दार्चुला, बैतडी, बझाङलगायत सुदूरपश्चिमका पहाडी जिल्लाका साथै भारत र चीनसम्मको व्यापार दार्चुलाको नाकाबाट हुने जिल्ला समन्वय समिति प्रमुख महादेब बडू कश्यपले बताउनुभएको छ ।

अन्तिम अपडेट: जेठ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया