अनुसन्धानमा प्रहरीले लापरवाही गर्नुहुँदैन : महानिरीक्षक खनाल

 मंसिर १८, २०७५ मंगलबार १३:२२:३७ | रासस
unn.prixa.net

काठमाडौं – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा हुने जुनसुकै प्रकृतिको हिंसाको अनुसन्धानमा प्रहरीले लापरवाही गर्न नहुने बताउनुभएको छ ।

एसियाली विकास बैँक, नेपाल प्रहरी अपराध अनुसन्धान विभाग र महिला तथा बालबालिका निर्देशनलायले आज यहाँ आयोजना गरेको ‘लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समितिको परिमार्जित कार्य सञ्चालन –२०७५’ सम्बन्धी गोष्ठीमा उहाँले महिला बालबालिका हिंसाको अनुसन्धानमा शून्य सहनशीलता अपनाउनुपर्ने बताउनुभयो । “अनुसन्धानमा जानीजानी लापरवाही गर्ने कुुरा प्रहरी सङ्गठनका लागि क्षम्य हुँदैन,”–उहाँले भन्नुभयो ।

महानिरीक्षक खनालले गत महीना प्रहरीले समाजमा हुने अपराध नियन्त्रण गर्न ‘प्रहरी–समुदाय साझेदारी कार्यक्रम’ ल्याएको भन्दै यसको सफल कार्यान्वयन भए समाजमा हुने जुनसुकै प्रकृतिका हिंसामा कमी आउने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रहरीले महिला तथा बालबालिकामाथि हुने हिंसामा ८७ प्रतिशत सफल अनुसन्धान गरेको बताउँदै यसले मात्र अनुसन्धान पूरा नहुने स्पष्ट पार्नुभयो । “९५ प्रतिशत नतिजा दिने गरी प्रहरीले काम गर्नुपर्छ,”– महानिरीक्षक खनालले भन्नुभयो ।

उहाँले प्रहरीबाट हुने हरेक किसिमका क्रियाकलापमा महिला सहभागितालाई प्राथमिकता दिएको बताउनुभयो । संयुक्त राष्ट्र सङ्घीय मिसनमा प्रतिनिधित्व हुने प्रहरी जनशक्तिमा महिलाको मात्र छुट्टै्र मिसनको व्यवस्था गर्ने सोच प्रहरीले अगाडि बढाएको उहाँको भनाइ थियो ।

काठमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीले धनी र इज्जतदार परिवारबाटै महिला तथा बालबालिकामाथि हिंसा हुने गरेको भन्दै यसको रोकथाम गर्न व्यक्ति स्वयं सुध्रिनुपर्ने बताउनुभयो । उपप्रमुख खड्गीले स्थानीय तहको निर्वाचनसँगै ९४ प्रतिशत महिला उपप्रमुखमा चुनिएर आएको बताउँदै यसको रोकथामका लागि महिला नै जागरुक हुनुपर्ने उल्लेख गर्नुभयो ।

एसियाली विकास बैँक नेपालको तर्फबाट महिला तथा बालबालिकाको क्षेत्रमा लामो समय काम गर्नुभएका कार्यक्रम संयोजक सुलोचना श्रेष्ठले महिला तथा बालबालिकामाथि हुने हिंसा नियन्त्रणमा ८ वर्षदेखि एडिबीले नेपाल प्रहरीसँग सहकार्य गर्दै आएको बताउनुभयो । “सन् २०१० मा जुम्लाका ३० गाउँ विकास समितिबाट शुरु भएको यो अभियान अहिले नेपालका २० जिल्लामा सञ्चालित छ,”–उहाँले भन्नुभयो, “न्यायमा पहुँच प्रदान गर्न यो कार्यक्रम ७७ वटै जिल्लाका सबै स्थानीय तहमा सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो ।” 

प्रहरी अतिरिक्त महानिरीक्षक पुस्कर कार्की र प्रहरी नायब महानिरीक्षक हरिभक्त प्रजापतिले प्रहरीले सीमित स्रोतसाधनकाबीच पनि महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरण तथा रोकथाममा प्रशस्त काम गरेको उल्लेख गर्नुभयो । दुई दिनसम्म चल्ने गोष्ठीमा ७७ वटै जिल्लाका प्रहरी कर्मचारीको सहभागिता रहेको छ ।

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया