गण्डकी प्रदेशले प्रदेश लोकसेवा आयोग गठनको काम अघि बढायो

 मंसिर १९, २०७५ बुधबार २०:३२:४६ | रासस
unn.prixa.net

फाइल फाेटाे

कास्की – सङ्घीय सरकारले कर्मचारी समायोजन अध्यादेश स्वीकृत गरेसँगै गण्डकी प्रदेश सरकारले प्रदेश लोकसेवा आयोग गठनको काम अघि बढाएको छ । 

प्रदेश मन्त्रिपरिषद्को आज बसेकोे बैठकले प्रदेश लोकसेवा आयोग गठनका लागि आवश्यक कानून तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिएसँगै आयोग गठन प्रक्रिया सुरु भएको हो । 

प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बैठकका निर्णय सार्वजनिक गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोग गठन सम्बन्धमा आवश्यक कानुनको मस्यौदा बनाउन सैद्धान्तिक स्वीकृति दिएको जानकारी दिनुभयो । 

नेपालको संविधानको धारा २४४ मा प्रदेशमा लोक सेवा आयोग रहने उल्लेख भएअनुसार आयोग गठनको काम अघि बढाएको बताउँदै उहाँले आयोगले कर्मचारी भर्ना, छनोट, पदपूर्ति र बढुवासम्मका काम गर्ने अधिकार प्राप्त गरेको जानकारी दिनुभयो । 

तालिम प्रतिष्ठान गठन गर्ने 

मन्त्रिपरिषद्को बैठकले प्रदेश तालिम प्रतिष्ठान गठनका लागि आवश्यक कानुनको मस्यौदा बनाउनसमेत स्वीकृत दिएको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रतिष्ठान गठनका लागि आवश्यक कानून निर्माण गर्न पेश गरेको प्रस्तावलाई सैद्धान्तिक स्वीकृति दिएको हो । प्रदेशमा कार्यरत कर्मचारी तथा राजनीतिक क्षेत्रका व्यक्तिको क्षमता अभिवृद्धिका लागि प्रतिष्ठानले काम गर्ने बताउँदै मन्त्री बस्नेतले प्रदेश सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रतिष्ठान गठन प्रक्रियालाई अगाडि बढाएको जानकारी दिनुभयो । 

तीन मस्यौदा समितिमा पठाइयो 

यसैगरी बैठकले उद्योेग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले तयार गरेको ‘वातावरण तथा जलवायु परिवर्तन नीति–२०७५’ र ‘वन तथा जलाधार व्यवस्थापन नीति–२०७५’ को मस्यौदालाई सैद्धान्तिक स्वीकृतपछि मन्त्रिपरिषद्अन्तर्गतको आर्थिक तथा सामाजिक विकास समितिमा छलफलका लागि पठाउने निर्णय गरेको छ । 

बैठकले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयलले तयार गरेको ‘वन तथा वातावरण सुरक्षा एवं व्यवस्थापन कार्यक्रम कार्यान्वयन कार्यविधि–२०७५’ छलफलका लागि मन्त्रिपरिषद्अन्तर्गतको प्रशासन तथा विधेयक समितिमा छलफलका लागि पठाउने निर्णय गरेको मन्त्री बस्नेतले जानकारी दिनुभयो । 

बैठकले प्रदेश नीति तथा योजना आयोगको सदस्यमा विष्णुराज बराललाई नियुक्त गरेको छ ।
 

अन्तिम अपडेट: पुस १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया