बाबुले गरे छोराको हत्या, गर्भमा रहेको शिशुलाई समेत छाडेनन्

 जेठ ३०, २०७५ बुधबार १७:५६:१२ | उज्यालो सहकर्मी

कास्की – पोखरामा एक व्यक्तिले परिवारका सदस्यको हत्या गरी आफूले पनि आत्महत्याको प्रयास गरेका छन् । 

पोखरा लेखनाथ महानगरपालिका –१५, रामबजारस्थित कालिका मार्गका रामजी घलेले घरेलु हतियार प्रहार गर्दा छोराको ज्यान गएको छ भने श्रीमती गम्भीर घाइते भएकी छन् । त्यसपछि आत्महत्याको प्रयास गरेका रामजी पनि गम्भीर घाइते छन् । ३८ वर्षीय घलेले ११ वर्षीय छोरा ज्ञापन घलेको हत्या गर्नुका साथै पत्नी ३२ वर्षीया सुमित्रा घलेको हत्या प्रयास गरेपछि आफैले पनि आत्महत्याको प्रयास गरेको प्रहरीको भनाइ छ । प्रहरीले प्रारम्भिक अनुसन्धानमा हत्यापछि रामजीले आत्महत्याको प्रयास गरेको निश्कर्ष निकालेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताउनुभयो । उहाँले घटनामा बाहिरियाको संलग्नता नदेखिएको प्रष्ट पार्नुभएको छ । 

हत्या प्रयासबाट श्रीमती सुमित्रा गम्भीर घाइते भएकी छन् । गर्भवती रहेकी उनको असार ६ गते प्रसुति मिति तोकिएको थियो । उनको पेटमा रहेको बच्चा अप्रेसन गरे निकालिए पनि मृत्यु भएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार गर्भवती सुमित्राले हिजो साँझ ६ बजे आफ्नो सुत्केरी हुने डेट असार ६ गते भएको श्रीमान रामजी घलेलाई सम्झाएकी थिइन् । राति १२ बजेतिर सुमित्राले पेट दुखेको भन्दै अस्पताल जान श्रीमानलाई आग्रह गर्दा रामजीले बिहान मात्रै अस्पताल जाने बताएपछि श्रीमान्–श्रीमतीबीच भनाभन हुँदा रामजीले तरकारी काट्ने चक्कु निकालेर श्रीमतीको घाँटीमा प्रहार गरेका हुन् । 

लगत्तै छोरा ज्ञापन घलेको कोठामा पसेर उनको पनि चक्कुले घाँटी रेटेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ । रामजीले छोराको हत्या प्रयास गरेपछि सुमित्राले हारगु्हार गरेपछि छिमेकीहरु आएका थिए । छिमेकीले हेर्दा मृत छोराको शव नजिकै रामजीले आफ्नो घाँटी रेटेर आत्महत्याको प्रयास गरेका स्थानीय वासिन्दाले बताएका छन् । रामजीको मणिपाल शिक्षण अस्पताल पोखराको आईसीयू कक्षमा उपचार भइरहेको छ । श्रीमती सुमित्राको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।  

श्रीमती सुमित्राको घाँटीको रुद्रघण्टी नजिकै प्वाल परेको छ । उनको अपरेसन सफल भएमा बाँच्ने सम्भावना रहेको बताइएको छ । तर आत्महत्याको प्रयास गरेका रामजीको भने अवस्था चिन्ताजनक छ । घट्नालगत्तै स्थानीयले प्रहरीलाई खबर गरेपछि राति नै वडा प्रहरी कार्यालय रामबजारबाट प्रहरी निरीक्षक दीपक केसीको नेतृत्वको टोली पुगेको थियो । हत्यापछि आत्महत्याको प्रयास गरेका रामजी झगडालु स्वाभावको नभएको स्थानीयबासीले बताएका छन् ।

परिवारका अनुसार उनीहरुबीच यसअघि खासै मनमुटाव र झगडा भएको पनि थाहा नभएको उनीहरुको भनाइ छ । घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया