१९ वर्षमुनिकाे नेपाली महिला टाेलीले टी–२० विश्वकपकाे तयारी ...
पुस २९, २०८१ सोमबार
अमेरिकी सैनिक सहायता रोक्ने अमेरिकी सिनेटको प्रस्तावलाई आफ्नो देशमाथिको ‘हस्तक्षेप’ भन्दै साउदी अरेबियाले त्यसलाई अस्वीकार गरेको छ । अमेरिकी सिनेटले यमनमा साउदी अरब समर्थित गठबन्धनले जारी राखेको हवाई आक्रमणमा अमेरिकी हातहतियारको प्रयोग रोक्न चाहेको छ ।
साथै, सिनेटले पत्रकार जमाल खशोग्गको हत्यामा साउदी राजकुमारलाई जिम्मेवार ठहर्याएको छ । ‘साउदी अरब अमेरिकी सिनेटको पछिल्लो दृष्टिकोणको निन्दा गर्दछ किनभने सिनेटका आरोपहरु अपुष्ट छन् । त्यसैले साउदी अरब आन्तरिक मामिलामा भएको अमेरिकी ठाडो हस्तक्षेपलाई अस्वीकार गर्दछ’, साउदी विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ ।
अमेरिकी सिनेटको मतदानले राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि नयाँ चेतावनी दिएको छ । राष्ट्रपति ट्रम्पले यमनको द्वन्द्वमा अमेरिकी हतियारको व्यापक प्रयोग भएको तथा पत्रकार खशोग्गीको हत्याका बारेमा विश्वव्यापी आलोचना भइरहेको साउदी अरेबियाको शासन सत्तालाई समर्थन गरिरहेका छन् ।
यमनको गृहयुद्धमा अमेरिकी समर्थन त्याग्नुपर्ने पक्षमा ४९ जना सिनेटरले मतदान गरेका थिए । मतदानमा डेमोक्राट र उनीहरुका विचारमा समर्थन जनाउने सात जना रिपब्लिकन सिनेटर सहभागी भएका थिए । राष्ट्रपति ट्रम्पको पार्टी रिपब्लिकनका अरु तीन जना सिनेटर मतदानमा उपस्थित भएनन् ।
सिनेटले पत्रकार खशोग्गीको हत्यासम्बन्धी निन्दा प्रस्ताव पनि पारित गरेको छ । सिनेटले साउदी अरेबियाका मुख्य शासक राजकुमार मोहम्मद बिन सल्मान नै यसमा जिम्मेवार ठहर्याएको छ ।
साउदी विदेश मन्त्रालयले राजपरिवारमाथि हुने कुनै पनि किसिमको ‘अपमान’ सह्य नहुने बताएको छ, ‘अमेरिकी सिनेटको यो कदमले साउदी–अमेरिकी सम्बन्धमा दरार ल्याउन खोज्ने सबैलाई मद्दत गरेको छ ।’
सिनेटको प्रस्तावमाथि जनवरीअघि हाउस अफ रिप्रिजेन्टेटिभमा छलफल हुने छैन । राष्ट्रपति ट्रम्पले विशेषाधिकारको प्रयोग गर्ने सम्भावना छ । तर सिनेटको मतदानले ह्वाइट हाउसमा रियादका बारेमा भिन्न दृष्टिकोण अबलम्बन गर्नेतर्फ सोच्न बाध्य बनाउनेछ ।
अमेरिकी अखबार वसिङ्टन पोस्टका लागि नियमित स्तम्भकार जमाल खशोग्गीको टर्कीको इस्तानबुलस्थित साउदी महाबवणिज्यदूतावास कार्यालयमा प्रवेश गरेलगत्तै गएको अक्टोबर २ मा हत्या भएको थियो ।
यमनमा जारी गृहयुद्ध र साउदी गठबन्धन नेतृत्वमा भएको हवाई आक्रमणले भएको जनधनप्रति अमेरिकी कंग्रेसमा छलफल सुरु भएको छ ।
सन् २०१५ यता साउदी गठबन्धनको आक्रमणबाट १० हजारभन्दा बढीको यमेनीको ज्यान गइसकेको छ । अधिकारकर्मीले यो संख्या अझ बढी रहेको बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।