सुनको भाउ तोलामा एक सय रुपैयाँले बढ्यो
पुस २९, २०८१ सोमबार
चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनको आर्थिक विकासको मार्गका बारेमा कुनै पनि देशले हस्तक्षेप गर्न नसक्ने बताउनुभएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीले अबलम्बन गरेको ऐतिहासिक ‘सुधार एवं खुला नीति’ को ४०औँ वर्षका अवसरमा बेइजिङमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति सीले चीनको विकास र प्रगति त्यही नीतिका आधारमा निरन्तर अगाडि बढेको र त्यसलाई छाड्न नसकिने बताउनुभयो ।
चिनियाँ ग्रेट हल अफ् द पिपुलमा आयोजित भव्य समारोहमा सम्बोधन गर्दै राष्ट्रपति सीले आर्थिक सुधारका क्षेत्रमा चीनले थप कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘हालको एक दलीय राजनीतिक प्रणालीबाट विचलित हुँदैनौँ र अरु कुनै पनि मुलुकबाट आदेश लिएर काम गर्दैनौँ ।’
‘समाजवादको झण्डा चिनियाँ भूमिमा अझै उचाइका साथ सदैव फर्फराइरहनेछ’ राष्ट्रपति सीले भन्नुभयो । ‘चीनको कम्युनिष्ट पार्टीको नेतृत्व चिनियाँ विशेषतायुक्त समाजवादको प्रतिरुप हो र यो चिनियाँ विशेषता सहितको समाजवादी प्रणालीको ठूलो उपलब्धि हो ।’
चिनियाँ सुधार एवं खुला नीति देङ सियाओपिङको कार्यकालमा सन् १९७८ डिसेम्बर १८ मा आजकै दिन शुभारम्भ भएको थियो । तर, पछिल्ला दिनहरुमा चीन र अमेरिकाबीचको व्यापारिक युद्धले चिनियाँ अर्थतन्त्रले अनेक सङ्कटको सामना गर्नु परिरहेको छ । दुवै देशबीच ९० दिनको व्यापारिक युद्धविराम गरी सहमतिको खोजी भइरहेको छ ।
संयुक्त राज्य अमेरिकामाथि प्रत्यक्ष सङ्केत नगरी राष्ट्रपति सी जिनपिङले भन्नुभयो, ‘चीन कुनै पनि देशका लागि चुनौती होइन तर यसलाई कुनामा थन्क्याउँछु भन्नु ठूलो भूल हुनेछ । चिनियाँ जनताले के गर्नु पर्दछ वा के गर्नु हुँदैन भनेर कसैले हस्तक्षेप गर्ने परिस्थितिमा अहिले कोही छैन ।’
‘हामीले गर्न सकिने सुधारका कार्यहरुलाई निरन्तरता दिनै पर्दछ, तर कतिपय काम हामी गर्न सक्दैनौँ, त्यसमा कसैले हस्तक्षेप गर्ने प्रयास नगरे हुन्छ’, राष्ट्रपति सीले चेतावनीयुक्त भाषामा भन्नुभयो ।
राष्ट्रपति सीले बढीभन्दा बढी सुधारका बारेमा चीन तयार रहेको बताए पनि कुनै ठोस योजना भने घोषणा गर्नु भएन । संयुक्त राज्य अमेरिका र युरोपका देशहरुले लामो समयदेखि चीनको विशाल बजारमा सहज पहुँचको माग गरिरहेका छन् । तर, उनीहरुले चिनियाँ कम्पनीहरुले पश्चिमा देशको अर्थतन्त्रमा खुला र सहज प्रवेश पाइरहेको गुनासो गरिरहेका छन् ।
देङको खुला नीतिले करोडौँ चिनियाँ जनतालाई गरिबीबाट मुक्त गरेको विश्वास गरिन्छ । साथै, यही नीतिको बलमा चीनले आफूलाई विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको देशका रुपमा उभ्याएको छ ।
तर पछिल्ला वर्षहरुमा चीनको ऋण बढ्दो क्रममा देखिएको छ भने आर्थिक विकासमा केही कमी आएको छ । गएको वर्ष ६ दशमलब ९ प्रतिशत रहेको आर्थिक विकास यस वर्ष ६ दशमलब ५ प्रतिशतमा छ ।
चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओत्से तुङका नीतिहरुले मुलुकमा विषम परिस्थिति सिर्जना गरेको भन्दै देङ सियाओपिङले सुधार एवं खुला नीति प्रतिपादन गर्नुभएको थियो ।
मङ्गलबार ग्रेट हल अफ् द पिपुलमा आयोजित समारोहमा देशको विकासमा महत्वपूर्ण योगदान गरेका १०० भन्दा बढी व्यक्ति एवं संस्थालाई विशेष पदकद्वारा विभूषित गरिएको थियो । विभूषित हुनेहरुमा ग्रामिण क्षेत्रमा कार्यरत व्यक्तिदेखि चीनका सर्वाधिक धनी व्यक्ति अलिबाबाका संस्थापक ज्याक मा, एनबीए खेलाडी याओ मिङ समेत छन् ।
खुलापनका पिताका रुपमा चिनिने देङ सियाओपिङले हङकङसँग सीमा जोडिएको सेन्जेनमा चीनकै पहिलो विशेष आर्थिक क्षेत्र निर्माण गर्नुभएको थियो । यो आर्थिक क्षेत्र मुलुकका बाँकी स्थानका लागि नमूनाका रुपमा स्थापित भएको थियो ।
सेन्जेन हाल विश्वव्यापी प्रविधि केन्द्रका रुपमा स्थापित छ । यहाँ टेन्सेन्ट र टेलिकम क्षेत्रको मसहुर कम्पनी हुवावेका मुख्यालय छन् ।
चालीस वर्षअघि ग्रामीण क्षेत्रमा ९७.५ प्रतिशत रहेको गरिबी गत वर्षसम्म आइपुग्दा ३.१ प्रतिशतमा झरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।