वैदेशिक रोजगारीको नाममा मानव बेचबिखन

 पुस ५, २०७५ बिहिबार १७:२९:४१ | उज्यालो सहकर्मी

काठमाडौं – पछिल्लो एक वर्षमा सञ्चारमाध्यममा प्रकाशित समाचारले वैदेशिक रोजगारीको नाममा हुने मानव तस्करीमा राज्य पक्षकै संलग्नता रहेको देखाएको छ । 

महिला तथा बालबालिका बेचविखनविरुद्ध काम गर्दै आएको संस्था एटबिनले बिभिन्न पत्रपत्रिकामा छापिएका समाचारका विषयमा गरेको अध्ययनले यस्तो देखाएको हो । 

पत्रपत्रिकामा छापिएका समाचारले मानव तस्करीमा श्रम कार्यालय, अध्यागमन विभाग र विदेशमा रहेका कुटनीतिक नियोगको सहयोग र संलग्नता देखाएकोे भन्दै सरोकारवालाले यसतर्फ राज्य गम्भीर हुनुपर्ने बताएका छन् ।

काठमाडौंमा बिहीबार भएको कार्यक्रममा शक्ति समूहकी कार्यकारी निर्देशक सुनिता दनुवारले वैदेशिक रोजगारीको नाममा भएको मानव बेचबिखनलाई ठगी नभई बेचबिखनकै रुपमा हेर्नुपर्नेमा जोड दिनुभयो । 

‘काम गर्ने भन्दै विदेश पुग्नेहरु बेचबिखनमा पर्ने क्रम बढिरहेको छ, तर उनीहरुलाई स्वदेश फिर्ती वा उद्धारको कुनै संयन्त्र छैन्, सरकारले वैदेशिक रोजगारीको नाममा भएको मानव बेचबिखनलाई अझै पनि बेचबिखको रुपमा हेर्न सकेको छैन,’ उहाँले भन्नुभयो ।

राम्रो कामकाे खोजी : बेचबिखनको पहिलो कारण

बेचबिखनमा पर्नेले बताएका कुरालाई आधार मान्दा बेचबिखनमा पर्नुको पहिलो कारण राम्रो कामको खोजी भएको अध्ययनले देखाएको छ ।  समाचारमा उल्लेख गरिएकामध्ये ६० प्रतिशत स्वदेशमा काम नपाएर विदेश पुगेका वा राम्रो कामको खोजीका लागि विदेश पुगेर बेचबिखनमा परेको अध्ययनले देखाएको छ । 

त्यसैगरी गरिबीका कारण ७ प्रतिशत, घरेलु तनावका कारण ७ प्रतिशत, पारिवारिक बेमेलका कारण ७ प्रतिशत र कुनै कारण बिना नै २८ प्रतिशत बेचबिखनमा परेका छन् ।  

काठमाडौंबाट मानब बेचबिखन धेरै

बेचबिखन हुने ठाउँका आधारमा सबैभन्दा धेरै काठमाडौंबाट बेचबिखन भएको अध्ययनले देखाएको छ । एक वर्षमा काठमाडौंबाट मात्रै २ सय ७७ वटा बेचबिखनको घटना भएको अध्ययनमा उल्लेख छ ।

 काठमाडौंपछि बाँकेबाट धेरै बेचबिखनमा परेका छन् । बाँकेबाट २२ प्रतिशत बेचबिखनमा परेका छन् ।  काठमाडौंबाट बेचबिखन हुनेमा सिन्धुपाल्चोकका नागरिक धेरै छन् ।

एक वर्षमा सिन्धुपाल्चोकबाट १५ प्रतिशत बेचबिखनमा परेको अध्ययनले देखाएको छ । सिन्धुपाल्चोकपछि बेचबिखनमा पर्नेमा नुवाकोटका धेरै रहेका छन् । नुवाकोटबाट १३ प्रतिशत बेचबिखनमा परेका छन् । 

नेपालीहरु वैदेशिक रोजगारीका लागि पुग्ने देशहरुमध्ये मलेसिया र युएईबाट सबैभन्दा धेरै बेचबिखनमा पर्ने गरेको अध्ययनमा उल्लेख छ । यी दुई देशबाट बेचबिखनमा पर्ने ७ प्रतिशत छन् भने ओमानबाट तीन,  कतारबाट दुई र साउदीबाट एक प्रतिशत बेचबिखनमा परेका छन् । 

वैदेशिक रोजगारीको नाममा मानब बेचबिखन गर्दा कानुनबाट जोगिन सक्ने भएकाले पछिल्लो समय तस्करले यो बाटो रोजेको एटबिनकी अध्यक्ष अन्जना शाक्यले बताउनुभयो । 

‘राज्य संयन्त्र, नेता र कलाकार नै संलग्न भएको अध्ययनले देखाउँछ, त्यति मात्र हैन खेलकूदका नाममा पनि अहिले मानव तस्करी भइरहेको छ, यो बदलिँदो रुपलाई रोक्न जरुरी छ,’ उहाँले भन्नुभयो । 
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया