झरनाको फेदीमा कार्यपालिका बैठक

 पुस ११, २०७५ बुधबार ८:५३:१८ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा– मोलुङ गाउँपालिका वडा नं ८, रागादीपमा सेप्ली झरना जान लौरो टेकेर हिँड्नु भएका ८४ वर्षीय टेकबहादुर क्षेत्रीले सांसद यज्ञराज सुनुवारसँग अंकमाल गर्नुभयो ।  

झरनामा मोलुङ गाउँपालिकाले कार्यपालिकाको विस्तृत बैठक आयोजना गरेको सुनेपछि क्षेत्री झरनाको प्रचार प्रसार गर्न गाउँपालिकाले आयोजना गरेको बैठकमा सहभागी हुन हिँड्नुभएको थियो । ‘सेप्लीमा कार्यक्रम हुने सुनेर लौराको सहारामा हिँडेको हुँ, साह्रै खुसी भएँ’ उहाँले भन्नुभयो । 

शनिबार टेकबहादुर क्षेत्रीलगायत धेरै गाउँले कार्यपालिका बैठकमा सहभागी भए । सेप्ली झरना हेर्न उनीहरु भीर पाखा छिचोल्दै दुई घण्टा हिँडेर पुगे । 

जिल्लामै पहिलो पटक स्थानीयबासिन्दा र सरोकारवाला सहभागी गराएर कार्यपालिका बैठक आयोजना गर्ने मोलुङ गाउँपालिका पहिलो स्थानीय तह हो । बैठकमा सहभागी जिल्ला समन्वय समितिका उपप्रमुख दिलकुमारी खतिवडाले मोलुङको यस्तो अभ्यास अनुकरणीय भएको बताउनुभयो । 

गाउँपालिकाले विश्वको सर्वोच्च शिखर सगरमाथा हेर्न सडक र पैदल मार्गबाट आउने पर्यटक आकर्षण गरेर पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सेप्ली झरना महोत्सव गर्ने तयारी सुरु गरेको छ । बैठकले सेप्ली झरना महोत्सव गर्ने, झरना क्षेत्रमा पूर्वाधार विकास गर्न विस्तृत परियोजना प्रतिवेदन तयार गर्नेलगायतका निर्णय गरेको छ । 

बैठकलाई सम्बोधन गर्दै सांसद यज्ञराज सुनुवारले एक वर्षभित्र सेप्ली झरना महोत्सव गर्ने प्रस्ताव गर्नुभएको छ  । ‘देशकै नमूना र ठूलो झरनालाई विश्वभर परिचित गराउन महोत्सव गर्न आवश्यक छ’ कार्यपालिका बैठकमा उहाँले भन्नुभयो । 

मोलुङ गाउँपालिकाले वडा नं. ७ र ८ को सिमानामा रहेको संभवतः देशकै सबैभन्दा अग्लो मानिएको झरनालाई पर्यटकीय गन्तव्य बनाउन कार्यपालिका बैठक आयोजना गरिएको गाउँपालिका अध्यक्ष मणिराज राईले बताउनुभयो । झरना १ सय ५० मिटरभन्दा अग्लो रहेको अनुमान गरिएको छ । 

सेप्लीको छाँगोसँगै देखिने भीरमौरी, पहराका बीचबाट एकैसाथ निस्केर सिधै दहमा खसेको झरना र यसको फरक फरक बहाव निकै आकर्षक देखिन्छ । झरना आसपासमा रहेका अनौठा आकृतिका पहरा ‘रक क्लाइम्बिङ’का लागि निकै आकर्षक छन् । 

सेप्ली झरना सदरमुकाम ओखलढुंगाबाट २६ किलोमिटर कच्ची सडकको यात्रा र डेढ घण्टाको पैदल यात्रापछि पुगिन्छ । झरनास्थलसम्म जान गाउँपालिकाले घोडेटो बाटो निर्माण गरेको छ । झरना हेर्न र फोटो खिच्नका लागि झरना अगाडि सेल्फी पुल निर्माण गर्न डीपीआर बनाउने काम भइरहेको वडा नं. ८ का वडा अध्यक्ष हरिकुमार राईले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया