दुई वर्षको सम्झौतामा टर्की पुगेका नेपाली एक वर्ष नपुग्दै फर्कन बाध्य

 पुस ११, २०७५ बुधबार १३:१२:४८ | उज्यालो सहकर्मी

काठमाडौं – झापाको शिवसताक्षी नगरपालिका मंगलप्रसाद ताजपुरिया वैदेशिक रोजगारीको लागि बिभिन्न देश ओहोरदोहोर गर्न थालेको १५ वर्ष भयो । दुबईमा १२ वर्ष, बहराइनमा दुई अनि कतारमा डेढ वर्षभन्दा धेरै काम गरेर फर्किएका ताजपुरियालाई चिनजानका प्रकाश परियारले टर्कीमा कामदारको माग आएको सुनाए । 

उनले अन्तर्राष्ट्रिय विमानस्थलको काम भएकाले कामसँगै कमाइ पनि राम्रो हुने भनेपछि मंगलप्रसाद जान तयार हुनुभयो । दिनको ८ घण्टा काम गर्नुपर्ने र तलब महिनाको ५ सय डलर हुने म्यानपावरले बताएको थियो । 

उहाँको टर्की जाने प्रक्रिया अवसर नामको म्यानपावरबाट सुरु भयो । तर पछि मात्रै उहाँले थाहा पाउनुभयो टर्की कामदार पठाउन त्यहाँ पनि एजेण्ट भएको म्यानपावर चाहिने रहेछ । त्यसैले त्यसपछिको प्रक्रिया युरो नेपाल म्यानपावरबाट अघि बढ्यो । 

युरोले अवसर र एचआरसँगै अरु म्यानपावरसँग मिलेर मंगलप्रसाद जस्तै ९ सय ९० जना कामदारलाई टर्की पठायो । तर त्यहाँ पुगेका कामदारले म्यानपावरले भनेको काम र तलब पाएनन् । काम पनि भनिएको भन्दा धेरै गर्नुपर्यो । 

‘हामीलाई दिनको ८ घण्टा काम गर्नुपर्ने भनिएको थियो, तर त्यहाँको निमयमा दिनको १० घण्टा अनिवार्य रहेछ , खाडीमा त महिनाको २६ दिन काम गर्नुपथ्र्यो तर त्यहाँ त २८ दिन काम गर्नुपर्ने रहेछ’ मंगलप्रसादले उज्यालोसँग भन्नुभयो, ‘त्यही पनि हामीलाई स्काफोल्डिङको काम भनेर लगिए पनि त्यो काम दिएन ।’ 

सम्झौता अनुसारको सेवा सुविधा नभए पनि काम गरिरहेका कामदारलाई ११ महिनापछि टर्कीको कम्पनीले फर्काइदिएको हो । ‘अहिले पनि त्यहाँ काम त भइरहेको छ तर यहाँबाट म्यानपावरले पैसा धेरै लिएर धेरै नै मान्छे पठाएपछि काम पाएनौं’ मंगलप्रसादले फर्किनुको कारण सुनाउनुभयो । 

उहाँ मात्रै होइन झण्डै ७ पटक गरेर लगिएका ९ सयभन्दा धेरै नेपालीको अवस्था यस्तै भयो । अहिले उनीहरु फर्किन थालेका छन् । विभिन्न समयमा समूह बनाएर फर्किएकाले यकिन भन्न नसके पनि ३ सयभन्दा धेरै नै नेपाली फर्किएको मंगलप्रसादले बताउनुभयो । 

म्यानपावरविरुद्ध उजुरी 

करार अवधि नसकिँदै फर्काइएका उनीहरुले म्यापावरविरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी दिएका छन् । उनीहरुको उजुरीका आधारमा म्यानपावरलाई छलफलका लागि बोलाइएको विभागका महानिर्देशक दिलिपकुमार चापागाईंले उज्यालोलाई जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया