एक कर्मचारीलाई ११ वटा शाखाको जिम्मेवारी !

 पुष ११, २०७५ बुधबार १३:५४:० | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

इलाम – दक्षिणी इलामको माई नगरपालिकामा ९६ कर्मचारीको आवश्यक भए पनि नौजना मात्रै कार्यारत छन् ।

जम्मा १० वडा रहेको नगरपालिकाले आन्तरिक स्रोतबाट पाँच कर्मचारी थपे पनि कर्मचारीलाई कामको भार थपिने क्रम बढ्दो छ । नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतसमेत नभएको १० महिना बितेको नगर प्रमुख दीपक थेवेले बताउनुभयो । अधिकार र काम थपिए पनि नगरपालिकामा कर्मचारी नहुँदा योजना कार्यान्वयन, अनुगमन र प्रशासनिक काम गर्ने समस्या रहेको हो ।

कर्मचारी अभावले माई नगरपालिकामा एक कर्मचारीले ११ वटा फाँटसम्म हेर्नुपर्ने र इञ्जिनीयरले वडासचिवको समेत काम गर्नुपर्ने अवस्था छ । योजना कार्यान्वयनमा लाग्नुपर्ने प्राविधिकले वडासचिवको काम गर्नुपर्दा विकास निर्माणका योजनाले गति लिन सकेका छैनन् ।

दक्षिणकै चुलाचुली गाउँपालिकामा कर्मचारी नहुँदा योजना कार्यान्वयनको काम हुन सकेको छैन । गाउँपालिकामा प्राविधिक र प्रशासनिक कर्मचारी पर्याप्त नहुँदा कामको गति सुस्त छ । सङ्घीय सरकारले २९ कर्मचारी पठाउनुपर्ने भए पनि अहिले १० मात्रै कार्यरत छन् । वडासचिव सबै वडामा नहुँदा नागरिकको काम गर्न समस्या रहेको गाउँपालिकाका अध्यक्ष प्रदीपचन्द्र राईले बताउनुभयो ।

वडा कार्यालयमा योजना हेर्ने प्राविधिक सहायक र सचिव केन्द्र सरकारबाट आउनुपर्नेमा अहिले कुनै वडामा पनि प्राविधिक छैनन् । गाउँपालिकाको केन्द्रमा १७ को दरबन्दी भए पनि अहिले पाँच कार्यरत छन् । शाखाअनुसारको कर्मचारी नहुँदा बजेट भएर पनि काम गर्न नसकिएको प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले बताउनुभयो ।

कृषि, पशु, स्वास्थ्य र लेखा शाखामा प्रमुख भए पनि आठ वटा बढी शाखाको जिम्मा लिने कर्मचारी नहुँदा काम कसरी गर्ने भन्ने गाउँपालिकामा समस्या रहेको छ । उत्तरी सन्दकपुर गाउँपालिकामा समस्या उस्तै छ । सङ्घीय सरकारबाट २२ कर्मचारी समायोजन भएर आउनुपर्नेमा अहिले आठ जनाले गाउँपालिकाको काम धानिरहेका छन् ।

सबै वडामा वडा सचिव भए पनि प्राविधिक कर्मचारी र शाखाअनुसारको कर्मचारी नहुँदा योजना कार्यान्वयनमा समस्या रहेको गाउँपालिकाका प्रवक्ता गिरिराज खनालले बताउनुभयो । गाउँपालिकामा प्राविधिक कर्मचारी नहुँदा भौतिक पूर्वाधारको योजना कार्यान्वयन र अनुगमनको काम गर्ने नसकिएको बताइएको छ ।
पहाडी क्षेत्रको ठूलो सूर्योदय नगपालिकाको मुख्य प्रशासनिक भवनमा ३९ कर्मचारी आवश्यक छ तर अहिले १५ ले काम गरिरहेको नगरप्रमुख रणबहादुर राईले बताउनुभयो ।

आवश्यक कर्मचारी नहुँदा काम गर्न समस्या देखिएको छ नगरप्रमुख राईले भन्नुभयो, ‘इलामका अन्य स्थानीय तहको तुलनामा कर्मचारी धेरै देखिए पनि ठूलो क्षेत्रफल भएकाले कर्मचारी अभावले पिरोलेको छ ।’ १४ वडा रहेको नगरपालिकाको दुई वडा सचिव छैनन् भने प्रमुख प्रशासनिक कार्यालयका धेरै शाखाका प्रमुख नभएको प्रमुख राईले जानकारी दिनुभयो ।

उत्तरपूर्वी माइजोगमाई गाउँपालिकाको मुख्य प्रशासनिक कार्यालय चार जनाले धानेको छ । कूल २१ कर्मचारी दरबन्दी मुख्य प्रशासनिक कार्यालयमा भए पनि अहिले प्रमुख प्रशासकीय अधिकृत, लेखा, प्रशासन प्रमुख र एक प्राविधिक मात्रै छन् ।  गाउँपालिकाको ६ मध्ये चार वडामा मात्रै सचिव छन् । मुख्य प्रशासनिक कार्यालयका शाखा रित्तै रहेको प्रमुख प्रशासकीय अधिकृत चन्द्र बस्नेतले बताउनुभयो ।

केन्द्र र वडा गरी २९ कर्मचारीको दरबन्दी भए पनि अहिले ११ मात्रै कार्यरत हुँदा काम गर्न समस्या भएको गाउँपालिकाका अध्यक्ष जितबहादुर राईले बताउनुभयो । इलाम नगरपालिकाको समस्या उस्तै छ । नगरपालिकामा ४२ कर्मचारी आवश्यक भए पनि अहिले सङ्घीय सरकारबाट खटिएका सात मात्रै कमचारी छन् ।

पुरानो नगरपालिका भएकाले आन्तरिक स्रोतबाट राखिएका कर्मचारीले काम चलिरहेको प्रमुख प्रशासकीय अधिकृत सहदेव रायमाझीले बताउनुभयो । जिल्लाको पश्चिमी देउमाई नगरपालिकाको मुख्य प्रशासनिक कार्यालय र वडा कार्यालय सञ्चालनमा ७० कर्मचारी आवश्यक पर्छ । तर अहिले २२ ले मात्रै काम गरिरहेको र आन्तरिक स्रोतबाट अत्यावश्यक कर्मचारी थप गरी काम गरिरहेको नगरप्रमुख सूर्य पोखरेलले बताउनुभयो ।

इलाममा १० स्थानीय तह छन् । स्थानीय तह गठन भएपछि तत्कालित जिल्ला विकास समिति, जिल्लाका विषयगत कार्यालय र सङ्घ सरकारबाट कर्मचारी खटाएर काम सञ्चालन गरिएको थियो । निर्वाचनबाट जनप्रतिनिधि आएपछि पूर्णरुपमा स्थानीय तह सञ्चालनका कानून निर्माण भए पनि सेवा दिने कर्मचारी अभाव रहेको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले बताउनुभयो ।

कर्मचारी कम भएर काम गर्न समस्या परेको गुनासो दिनैपिच्छे स्थानीय तहबाट आउने गरेको जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले बताउनुभयो ।
स्थानीय तहबाट कर्मचारी चाँडो पठाउन पहल गर्नुपर्यो भनेर माग आउने क्रम बढेको जिल्ला समन्वय समितिका प्रमुख बरालले बताउनुभयो ।

‘हामीले गुनासा सङ्घको सरकारसँग पु¥याउने गरेको र त्यहाँबाट माघ १५ सम्म कर्मचारी व्यवस्थापन गरिसक्ने आश्वासन पाएका छौँ’, उहाँले भन्नुभयो ।

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया