सुनको भाउ तोलामा एक सय रुपैयाँले बढ्यो
पुस २९, २०८१ सोमबार
काठमाडाैं – नेपालको पर्यटन प्रवर्द्धनका लागि सन् २०१८ महत्वपूर्ण वर्ष सावित भएको छ । यसवर्ष अहिले सम्मकै सबैभन्दा बढी १० लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरे । देशमा सहज परिस्थिति सिर्जना भइ पर्यटक आगमनमा बृद्धि हुँदै गएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् ।
नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१८ को ११ महीनामै १० लाख एक हजार ९३० विदेशी पर्यटक नेपाल आएका छन् । जसले नेपाली पर्यटन क्षेत्रमा नयाँ उत्साह जगाएको छ । सन् २०१७ मा १० लाखको हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१६ मा ७ लाख ५३ हजार पर्यटक आएका थिए ।
बोर्डले छिमेकी मुलुक चीन र भारत लक्षित प्रभावकारी रुपमा चलाएको प्रवर्द्धनात्मक कार्यक्रमले पर्यटकको सङ्ख्या वृद्धि भएको हो । घुमफिरजस्ता प्रवद्र्धन अभियानले आन्तरिक पर्यटक पनि उल्लेख्य रुपमा बढेका छन् । नेपालीमा विभिन्न गन्तव्यमा घुम्न निस्कने र खर्च गर्ने बानी बढेको छ । सरकारले नयाँ गन्तव्य पहिचान र प्रवद्र्धनका लागि सय गन्तव्य घोषणा गरी कार्यक्रम अघि बढाएको छ ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । उक्त लक्ष्यलाई सार्थक तुल्याउन पर्यटन मन्त्रालयले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रवर्द्धनात्मक गतिविधि बढाउन विभिन्न समिति बनाएर काम अघि बढाएको छ ।
होटल एशोसिएशन अफ नेपाल (हान) का अनुसार अहिले होटलको ‘वेड’ सङ्ख्या ३७ हजार छ । सन् २०२० सम्म करीब छ हजार बेड सङ्ख्या थपिनेछ । अहिलेकै अवस्थामा २५ लाख पर्यटक थान्न सकिने व्यवसायीले बताउँदै आएका छन् ।
काठमाडौँ उपत्यका र बाहिर गरी १० वटा पाँच तारे होटल निर्माण भइरहेका छन् । पर्यटन मन्त्रालयले करिब ४५ वर्षपछि पुरानो पर्यटन ऐन २०३५ परिवर्तन गरी नयाँ पर्यटन ऐन ल्याउने तयारी गरेको छ । उक्त ऐनको मस्यौदा तयार भई पारित हुने प्रक्रियामा छ ।
नेपाली हवाई उड्डयन इतिहासमै पहिलोपटक सरकारले मन्ट्रियल महासन्धि लागू गरेको छ । सन् २०१८ डिसेम्बर १५ बाट यो व्यवस्था लागू गरिएको हो । महासन्धि लागू भएसँगै नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हवाई यात्रुको बीमा रकम करीब छ गुणाले वृद्धि भएको छ ।
।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले खरीद गरेको वाइड बडी जहाज भित्र्दा जति चर्चा छायो त्यतिकै उक्त जहाजको खरीद प्रक्रियाको अनियमितताबारेको विवादको चर्चा चुलियो ।
पहिलो जहाज वाइड बडी ‘ए’ ३३०–२०० ‘नाइन एन एएलवाइ’ कलसाइनको ‘अन्नपूर्ण’ गएकाे असार १४ गते र दोस्रो वाइड बडी ‘ए’ ३३०–२०० ‘नाइन एन एएलजेट’ कलसाइन ‘मकालु’ विमान साउन १० गते काठमाडौँ अवतरण गरेका थिए । यी दुवै जहाज निगमका पुरानै गन्तव्यमा उडान भर्दै आएका छन् । सरकारको ग्यारेन्टीमा कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट लिएको १२/१२ अर्बको ऋणबाट दुई जहाज खरीद गरिएको हो ।
जहाज किन्दा सार्वजनिक खरीद व्यवस्था र निगमको विनियावली विपरीत गरेको भन्दै खरीद प्रक्रियामा आशङ्का उब्जिएपछि प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति र अन्तर्राष्ट्रिय सम्बन्ध समितिले तालुकदार मन्त्रालय र निगम पदाधिकारीसँग छलफल गरिसकेको छ । महालेखापरीक्षकको ५५ वार्षिक प्रतिवेदनले जहाज खरीद प्रक्रियामा त्रुटि औँल्याएपछि पछिल्लो समय यो विषय सडकदेखि संसदीय समितिमा पुगेको छ ।
निगमले थप नयाँ चार गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्ने तयारी गरेको छ । आउँदो चैतभित्र जापान, चीन, साउदी अरेबिया र दक्षिण कोरियामा उडान गर्ने तयारी गरेको निगमले जनाएको छ । वाइड बडी विमानले फेब्रुअरी पहिलो साता जापानको ओसाका र मार्चभित्र चीनमा ग्वाझाओमा उडान गर्ने योजना छ ।
निगमले हाल आठ गन्तव्यमा उडान भर्दै आएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानलाई दुई थान वाइड बडी ए ३३० जहाज, दुई वटा न्यारो वडी ‘ए’ ३२० जहाज र एक वटा बोइङ जहाज रहेका छन् ।
मुलुकको प्रतिष्ठासँग जोडिएको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको इतिहासमै पहिलोपटक धावनमार्ग पुनः कालोपत्र ‘रनवे रिह्याब’ को प्रक्रिया अघि बढेको छ । पहिला १७ घण्टा सञ्चालन हुँदै आएको विमानस्थल अहिले दैनिक २२ घण्टा सञ्चालन भइरहेको छ ।
विमानस्थलको स्वरुप बदलिएको छ । बुटिक विमानस्थलको रुपमा स्थापित गर्ने उद्देश्यले विमानस्थलमा मुलुकको कला, संस्कृति र पहिचान झल्कने वस्तुको सजावट गरिनुका साथै नयाँ कार्पेट बिछ्याएर सरसफाइले चिटिक्क पारिएको छ । अन्तर्राष्ट्रिय टर्मिनल अघिको अव्यवस्थित पाकिङ स्थानान्तरण गरिएको छ ।
मुलुकमा भएका राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलनले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको छ । पर्यटन क्षेत्रकै सबैभन्दा ठूलो ‘इभेन्ट’ को रुपमा लिइएको दोस्रो ‘हिमालयन ट्राभल मार्ट–२०१८’ गत जेठ १८ र २० गते काठमाडौँमा सम्पन्न भयो । संस्कृति, पर्यटन मन्त्रालयको अगुवाइमा प्यासिफिक एसिया ट्राभल एशोसिएशन पाटा नेपाल च्याप्टरले आयोजना गरेको मार्टमा २६ देशबाट ५९ कम्पनी सहभागी थिए ।
यस्तै गत भदौ १४ र १५ गते काठमाडौँमा भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको प्रयास (बिम्सटेक) सम्मेलनमा सम्बन्धित राष्ट्रप्रमुख पाहुनाको आगमनले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्यो । अन्तर्राष्ट्रिय जगत्मा नेपालको पहिचान दिलाउन सम्मेलन उपयोगी बन्यो ।
मङ्सिर १५ र १६ गते काठमाडौँमा भएको एशिया प्रसान्त सम्मेलनमा विभिन्न मुलुकका पाहुना आए । यो सम्मेलनले पनि पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान गरेको छ । कम्बोडियाका प्रधानमन्त्री, म्यानमारकी नेत्रीलगायतले नेपाल भ्रमण गर्नुभएको थियो । नेपाल र कम्बोडियाबीच सिधा हवाई उडान गर्ने सम्झौता भयो । जुन पर्यटन क्षेत्रका लागि उपलब्धिमूलक मानिएको छ ।
यही पुस १२ गते पर्यटनको लागि महत्वपूर्ण मानिएको पुरातात्विक महत्वको राष्ट्रिय गौरव ‘धरहरा’ को प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभयो । आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गरिने लक्ष्यको यो सम्पदा विसं २०७२ वैशाख १२ को गोरखा भूकम्पबाट क्षतिग्रस्त भएको थियो ।
राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम तीव्र गतिमा चल्यो । जुन सन् २०१९ को जुलाइभित्र सञ्चालनमा आइसक्नेछ ।
बहुप्रतिक्षित दोस्रो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अघि बढेको छ भने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले गति लिएको छ । वर्षभरि पर्यटनका परी घटनाका सकारात्मक र नकारात्मक दुवै पक्ष रहे ।
फेक रेस्क्युको समाचारले अन्तर्राष्ट्रिय मिडियामा चर्चा बटुल्यो । पर्यटन मन्त्रालयले छानबिन समिति बनाएर आवश्यक कारवाही प्रक्रिया अघि बढायो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।