माघपछि ‘वार रुम’ बाट के-के गर्छन् प्रधानमन्त्री ओली ?

 पुस १८, २०७५ बुधबार १३:२:६ | नवराज फुयाँल
unn.prixa.net

काठमाडौं – राष्ट्रिय गौरवको आयोजनामा देखिने समस्या तत्काल समाधान गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बनाइने भनेको ‘वार रुम’को निर्माण कार्य अगाडि बढेको छ । 

‘वार रुम’ मा रहने ‘भिडियो कन्फेरेन्सिङ सिस्टम’ राख्नका लागि ठेक्का प्रकृया टुंगिएको छ । ‘भिडियो कन्फेरेन्सिङ सिस्टम’ निर्माणको जिम्मा चिनियाँ कम्पनी हुवावेले पाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

विभिन्न तीनवटा कम्पनीले यसका लागि ठेक्का हालेको भए पनि तीनै कम्पनीको मापदण्ड नपुगेपछि चिनियाँ कम्पनी हुवावेको चाइना कम सर्भिसेस (सिसिएस) लाई सोझै वार्तामार्फत ठेक्का दिइएको मन्त्रालय श्रोतले जनाएको छ ।

ठेक्का प्रकृया टुंगिसकेकाले अब छिट्टै ‘भिडियो कन्फेरेन्सिङ सिस्टम’ इन्स्टल गर्ने काम हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिनुभयो । 

नतिजा व्यवस्थापन महाशाखाअन्तर्गत रहने गरी करिब १० करोड रुपैयाँ खर्चिएर ‘वार रुम’ तयार पार्न थालिएको हो । ‘भिडियो कन्फेरेन्सिङ सिस्टम’ का लागि मात्रै ५ करोड ४२ लाखमा ठेक्का लगाइएको हो ।  

‘भिडियो कन्फेरेन्सिङ सिस्टम’ सहित टेक्निकल काम सकेपछि ‘वार रुम’ संचालनमा आउने कुँवरले बताउनुभयो । ‘वार रुम’ मा राष्ट्रिय गौरवका आयोजना र विकास निर्माणसम्बन्धी सम्पूर्ण गतिविधिको सचित्र र भिडियोसहितको स्क्रीन राखिने छ ।  

ह्वाइट बोर्ड, चार्टलगायत हेर्नुपर्ने आयोजनाका सबै रिपोर्ट डिजिटलाइज्ड गरेर राखिने र कहीँ कतै समस्या निम्तिए त्यस स्थानबारे प्रत्यक्ष अवलोकन गरी तत्काल निर्णय गर्न सकिने गरि ‘वार रुम’ निर्माण भइरहेको हो ।   

विकास निर्माणमा हुने गतिरोध, ढिलासुस्ती र अन्तरमन्त्रालय विवाद तथा अन्य साना–ठूला समस्या तत्काल समाधान गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले ‘वार रुम’को अवधारणा अघि बढाइएको हो ।

‘वार रुम’ बाट सरकारले प्राथमिकतामा राखेर काम अघि बढाएका योजनाको द्रुत निगरानी र तत्कालै ‘एक्सन’ मा जान मद्दत पुग्ने प्रधानमन्त्री कार्यालयको दाबी छ । 

राष्ट्रिय गौरवका आयोजना लक्षित   

‘वार रुम’ सञ्चालनमा आएपछि विकास निर्माणका काममा ढिलासुस्ती तथा राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या समाधानका लागि सिधै प्रधानमन्त्री कार्यालयबाट सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर समस्या हल गरिने छ । 

यस्तै प्रधानमन्त्रीले सातवटै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो संवाद ‘टेलिप्रिजेन्ट’ गर्न मिल्ने गरी ‘वार रुम’ मा ‘भिडियो कन्फेरेन्सिङ सिस्टम’ जडान गर्न लागिएको हो । 

विगतमा अन्तरमन्त्रालय एवं अन्तर कार्यालय विवादका कारण ठूला परियोजनाको काम निर्धारित समयमा नसकिएको तथा केही योजनाका काम प्रभावित समेत भएको उदाहरण छ । तर अबदेखि भने सरकारले अगाडि बढाएका योजनामा कतैबाट पनि अवरोध नआओस भनेर प्रधानमन्त्रीकै निगरानीमा ‘वार रुम’ राख्न लागिएको हो । 

‘वार रुम’ संचालनमा आएपछि परीक्षणको रुपमा राष्ट्रिय प्राथमिकतामा रहेका ११ वटा आयोजनालाई लक्षित गरेर काम अगाडि बढाइने प्रवक्ता कुँवरले जानकारी दिनुभयो । 

पहिलो चरणमा प्रधानमन्त्री र मुख्यमन्त्रीबीच भिडियो संवाद

अहिले ठेक्का प्रकृया सकेर काम अघि बढेको भन्दै माघ अन्तिमसम्ममा पहिलो चरणको काम सम्पन्न हुने प्रवक्ता कुँवरले जानकारी दिनुभयो । 

पहिलो चरणमा ‘वार रुम’ बाट प्रधानमन्त्रीले सातवटै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो संवाद ‘टेलिप्रिजेन्ट’ गर्न मिल्ने गरी काम अघि बढेको उहाँले बताउनुभयो ।

‘माघ मसान्तपछि प्रधानमन्त्रीले ‘वार रुम’ मा बसेर सातैवटा प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो सम्वादमार्फत सम्बन्धित प्रदेशमा देखिएको समस्यामा छलफल गर्नुहुने छ,’ प्रवक्ता कुँवरले भन्नुभयो ।

वार रुममा भिजुअल उपकरण, डिभाइस समयतालिका र परियोजना जानकारी दिने विवरण राखिनेछ । यस्तै ह्वाइट बोर्ड, चार्टलगायतका माध्यमबाट समस्या भएका आयोजनाहरुको रिपोर्ट राख्ने काम पनि हुने छ । 

सकेसम्म योजनामा विवाद आउन नदिने गरी काम गर्न निर्देशन हुने र कारणवश विवाद आए प्रधानमन्त्रीको तहबाटै हल गर्ने गरी यो रुम संचालन गर्न लागिएको हो ।

समस्या देखिएका योजनाबारे प्रधानमन्त्रीको तहबाटै सम्बोधन हुँदा सन्देश पनि राम्रो जाने र काम पनि छिटोछरितो रुपमा अघि बढ्ने भएकाले ‘वार रुम’को अवधारणा अघि बढाइएको प्रवक्ता कुँवरले बताउनुभयो ।  

पहिलो चरणमा मुख्यमन्त्रीहरुसँग प्रत्यक्ष संवादको काम सकिने र त्यसपछि भने राष्ट्रिय गौरवका आयोजनालाई कसरी द्रुत गतिमा लैजाने र त्यसमा आएका समस्या समाधान गर्न के कसरी सकिन्छ भन्नेबारे प्रविधि जडान गरिनेतर्फ काम हुने उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया