विदेश गएका बाँके र बर्दियाका झण्डै ३ सय महिला सम्पर्कविहीन

 पुस १८, २०७५ बुधबार १४:४६:० | रासस

बाँके – वैदेशिक रोजगारीमा गएका बाँकेका १९४ महिला सम्पर्कविहीन भएका छन् । राम्रो काम पाइने प्रलोभनमा दलालमार्फत छिमेकी देश भारत र खाडी राष्ट्रमा पुगेका महिला सम्पर्कविहीन भएको मानवबेचविखन विरुद्ध क्रियाशील संस्थाले जनाएका छन् । 

गएको एक वर्षमा १९४ महिलाका परिवारले खोजतलासका लागि नेपालगञ्जस्थित माइती नेपालको कार्यालयमा निवेदन दिएको संस्थाका संयोजक केशव कोइरालाले जानकारी दिनुभयो । आफन्तका अनुसार उनीहरू जोखिमपूर्ण यात्रामा भारत तथा खाडीका देशमा हराएका छन् ।

माइती नेपाल नेपालगञ्ज कार्यालयको सन् २०१८ को तथ्याङ्कअनुसार, बाँकेको कोहलपुर नगरपालिकाका ६२ जना, नेपालगञ्ज उपमहानगरपालिकाका ४२, राप्तीसोनारी गाउँपालिकाका ३१, बैजनाथ गाउँपालिकाका ३३, खजुरा गाउँपालिकाका २०, जानकी गाउँपालिकाका चार र डुडुवा गाउँपालिकाका दुईजना घरपरिवारको सम्पर्कमा छैनन् । 

धेरैजसो पर्यटन भिसामा खाडीका देश जाने उनीहरू तीन महीनासम्म घरपरिवारसँग सम्पर्कमा रहे पनि त्यसपछि लुकेर काम गर्नुपर्ने बाध्यता रहेको कोइरालाले बताउनुभयो । कतिपयलाई साहुले जोखिमपूर्ण काममा लगाई घरपरिवारसँग सम्पर्क गर्न नदिने गरेको अवस्था छ । 

इलाका प्रहरी कार्यालय जमुनाहका इञ्चार्ज प्रहरी नायव निरीक्षक शिवकुमार वलीले पठाउँदा लुकीछिपी दलालको विश्वासमा पठाउने र हराएपछि मात्र प्रहरी र सङ्घसंस्थाको सम्पर्कमा आउने हुनाले खोजतलासमा कठिनाइ हुनेगरेको बताउनुभयो । 

मानवबेचिबिखन विरुद्ध कार्यरत सङ्घसंस्थाहरूसँग समन्वय गरी मानव बेचबिखन विरुद्ध क्रियाशील रहेको उहाँको भनाइ छ । सन् २०१८ मा असुरक्षित यात्रामा रहेका ९२० जनालाई नेपालगञ्ज नाकाबाट फिर्ता गरिएको छ । 

बर्दियाबाट १०१ जना हराए 

त्यसैगरी सन् २०१८ मा बर्दियाबाट वैदेशिक रोजगारीमा गएका १०१ जना महिला सम्पर्कविहीन भएका छन्  । 

बढैयाताल गाउँपालिकाबाट ३२, बाँसगढी नगरपालिकाबाट २५, मधुवन नगरपालिकाबाट २२, बारबर्दिया नगरपालिकाबाट छ, राजापुर नगरपालिकाबाट तीन, ठाकुरबाबा नगरपालिकाबाट नौ र गेरुवा गाउँपालिकाबाट चार महिला बेपत्ता भएका छन् । 

उनीहरूको आफन्तले प्रहरी र मानव बेचबिखन विरुद्ध काम गर्ने सङ्घ संस्थामा खोजतलासका लागि निवेदन दिएका छन् ।
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया