डोटीमा पनि हिमपात, विद्युत सेवा अवरुद्ध

 पुस २३, २०७५ सोमबार १४:४१:४ | विमल बिष्ट
unn.prixa.net

डोटी – गएरातिदेखि परेको हिमपातका कारण डोटीलगायत यहाँका अन्य पहाडी जिल्ला अछाम, बाजुरामा विद्युत सेवा अवरुद्ध भएको छ ।

डोटीको दिपायलस्थित विद्युत सब–स्टेसनका प्रमुख भोजबहादुर स्वाँरले दिनु भएको जानकारी अनुसार बाक्लो हिमपातका कारण विद्युत सेवा अवरुद्ध भएको हो । हिमपातका कारण अवरुद्ध भएको विद्युत सेवा पुनः सञ्चालन गर्न दिपायलबाट टोली खटिए पनि अहिलेसम्म अवरुद्ध भएको ठाउँ पत्ता लगाउन नसकिएको बताइएको छ ।

‘हिमपातले विद्युत तार र रुखहरु ढपक्क ठाकेको छ । विद्युत चुहावट भएको ठाउँ पत्ता लागउन सकिएको छैन’, सब–स्टेसन प्रमुख स्वाँरले भन्नुभयो, ‘विद्युत सेवा सञ्चालनका लागि कर्मचारी टोली बिहानै खटिएको छ । ‘फल्ट’ भएको ठाउँ नै पत्ता लगाउन सकिएको छैन् ।’

आइतबार रातिदेखि डोटीका उच्च लेकाली क्षेत्रमा बाक्लो हिमपात भएको छ । हिमपातका कारण यहाँका स्थानीयको जनजीवन प्रभावित भएको छ । डोटीको खप्तड, गोलादेउ, नापानी, चर्केको लेक, शिखरधुरा, बडिकदेराधुरालगायतका ठाँउहरुमा  बाक्लो हिमपात  भएको स्थानीयवासीले जानकारी दिएका छन् ।

त्यस्तै अत्तरीया–स्याउले जोड्ने भिमदत्तपन्त राजमार्गमा पनि हिमपात भएका कारण सवारी साधन आवत–जावतमा समस्या भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट बुडर डोटीले जनाएको छ ।

डोटीका उच्च लेकाली क्षेत्रमा अहिले पनि हिमपात भइरहेको छ । हिमपातका कारण स्थानीयवासीहरु घरबाहिर निस्किन सकेका छैनन् भने गाईबस्तु समेत गोठभित्रै थुनिएको नापानीका स्थानीयवासी जगत बोगटीले फोन मार्फत बताउनुभयो । उहाँले भन्नुभयो, ‘हिउले डाँडा–काँडा र जंगल छपक्क ढाकेको छ । गाईबस्तु समेत बाहिर निकाल्न सकेका छैनौ ।’

डोटीका उच्च लेकाली क्षेत्र अर्थात पानी नभएका ठाउँमा हिमपात भएपछि हिउँदे बाली सप्रिने आशामा किसानहरु भने खुशी भएका छन् । हिमपातका कारण यहाँका स्थानीयको जनजीवन समेत प्रभावित भएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया