प्रहरी आउँदा गाउँले लुके !

 पुष २८, २०७५ शनिबार ८:५७:५१ | रासस

बाजुरा – गौमुल गाउँपालिका–१, अन्द्राडीमा पहिलो पटक प्रहरी पुग्दा गाउँबासी डराएर लुके । 

केही महिनाअघि आएर बसेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हंशराज जोशीको टोलीलाई मदिरा व्यवस्थापनपछिको अवस्था बुझ्नका लागि गाउँपालिकाले गएको सोमबार सुक्ष्म अनुगमनमा अन्द्राडी पठाएकामा स्थानीयवासी डरले लुकेका थिए । प्रहरीलाई देखेपछि कोही पनि घरबाट निस्केनन् भने घर बाहिर रहेका समेत डरले थरथर काम्न थाले । कारण थियो पहिलो पटक गाउँमा प्रहरीको आगमन । 

प्रहरीलाई देखिसकेका त्यहाँका केही युवाले यी त प्रहरी हुन भनेर कानेखुसी गरे पनि कहिल्यै प्रहरी नदेखेका त्यहाँका वृद्धवृद्धा र बालबालिका भने डराएर प्रहरीसँग बोल्न नै सकेकन् । साठी वर्षीय फुगे रोकायाले भन्नुभयो, ‘तमी को हौ ? काँ जादाँ भया ? तमी हामी जसा आछिन् । कपडा पनि कसान लगायाका ।’ 

जवाफमा प्रहरी हबल्दार मनीराज भण्डारीले भन्नुभयो, ‘होइन हामी पनि तपाईं जस्तै मान्छे प्रहरी हौँ । हामी तपाईँहरुको गाउँ अनुगमन गर्न र तपाईहरूकै सुरक्षाका लागि भनेर आएका हौँ ।’

‘हामीले प्रहरी देखेकै छैनौँ, त्यसैले हामीले त डरले बोल्नसमेत सकेनौँ, यो गाउँमा कोही पनि आउँदैन थिए’, अर्का युवा साउनी बोहराले भन्नुभयो, ‘अहिले भने अलिअलि आउन लागेको भए पनि हामीले प्रहरी देखेकै थिएनौँ तर पनि प्रहरी हामी जसा हुदाँ रहेछन् ।’ 

त्यस्तै अर्का युवा सौरे बोहराले भन्नुभयो, ‘प्रहरी हामीभन्दा फरक हुँदा हुन् भनी सोचेको थिएँ, हामी जस्तै हुँदारैछन् ।’ 

प्रहरीको टोली गाउँमा पुगेपछि लुकेका स्थानीयवासी केही समयपछि सबै प्रहरी भएको ठाउँ वरिपरि जम्मा भए । ‘उनीहरुले हामीलाई सबै कुरा भने । अब तपाईँहरु निरन्तर हाम्रो गाउँ आउनुहोला भनेर स्थानीयवासीले स्वागतसमेत गरे’, प्रहरी हबल्दार भण्डारीले बताउनुभयो । 

जिल्लाको सानो गाउँ हो अन्द्राडी । त्यहाँ स्थानीय सरकार गठन भएपछि मात्र गैरसकारी कार्यालयका कर्मचारी र जनप्रतिनिधि जान थालेको स्थानीयवासी धनबहादुर रोकायाले बताउनुभयो । 

‘हामी गौमुल गाउँपालिकाकाकै विकट वडाका रुपमा छौँ । पहिले न नेता आउथे न सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी नै, जब देश सङ्घीयतामा गयो तब आफ्नो गाउँ अन्द्राडीमा जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी अनि प्रहरी आएकोे हो’, उहाँले बताउनुभयो ।

‘अन्द्राडीे निकै विकट र पिछडिएको वडाका रुपमा रहेको छ । यहाँ न टेलिफोन लाग्छ, नत रेडियो नै बज्छ, हामी सूचनाबाट समेत बाहिर छौँ’, रोकायको गुनासो थियो
 

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया