उच्च पडाडी भेगमा भारी हिमपात : कतै खुशीयाली, कतै कष्ट

 माघ १२, २०७५ शनिबार ११:४२:५१ | रासस
unn.prixa.net

काठमाण्डौ - वर्षासँगै देशका केही उच्च पहाडी भेगमा हिमपात भएको छ । हिमपात भएपछि किसान खुशी भएका छन् । हिउँ खेल्न जानेहरुलाई पनि रमाइलो भएको छ । तर हिमपातसँगै चिसो बढ्दा र केही ठाउँमा सडक अवरुद्ध हुँदा कष्ट र हैरानी पनि उत्तिकै छ ।

पर्वतका उच्च पहाडी भूभागमा बाक्लो हिमपात परेकाले जनजीवन प्रभावित छ। 

शुक्रबार साँझदेखि जिल्लाको जलजला गाउँपालिकाको लेखफाँट, शालिजा, बाँसखर्क, क्याङ भुकताङले, हम्पालको लेक, पञ्चासे, डहरे र चिसापानीको लेकमा तीन फिट बाक्लो हिउँ परेको छ । धेरै वर्षपछि बाक्लो हिमपात भएको स्थानीयवासीले जनाएका छन् । 

म्याग्दी सदरमुकाम बेनीबाट राखु क्षेत्रमा भएको हिमपातको दृश्य । म्याग्दीमा १२ बर्षपछि भारी हिमपात भएको छ । तस्वीरः रासस

वर्षासँगै हिमपात भएकाले जनजीवनका साथै गाईवस्तुलाई समेत समस्या भएको छ । हिमपातले गहुँ, आलुलगायत विभिन्न जातका फलफूललाई समेत क्षति पु¥याएको स्थानीय किसानले बताएका छन् । गत असोजदेखिको खडेरी परेको यस क्षेत्रमा गत सोमबार र मङ्गलबार वर्षा र शुक्रबार साँझदेखि हिमपात भएपछि उपल्लो बस्तीका हिउँदेबाली र फलफूल खेतीमा सकारात्मक प्रभाव परेको छ । यद्यपि चिसोले जनजीवन भने प्रभावित भएको छ । 

समुद्र सतहदेखि दुई हजार मिटरभन्दा माथिल्ला भूभागका बस्तीमा हिमपात भएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख वासुदेव रेग्मीले जानकारी दिनुभयो । जलजला गाउँपालिकाको लेकफाँट, मोहोरेडाँडा र बनौलगायत लेकमा भारी हिमपात भएको जलजला–९ का वडाध्यक्ष गौबहादुर पुनले जानकारी दिनुभयो । 

म्याग्दीको मंगला गाउँपालिका–१ स्थित पूर्णगाउँमा परेको हिमपात । जिल्लाको तल्लो क्षेत्रमा १२ बर्षपछि भारी हिमपात भएको छ । तस्वीरः रासस

मोदी गाउँपालिका–४ क्याङको उपल्लो खर्क र सहश्रधारालगायतमा पनि करीब तीन फिटसम्म हिमपात भएको क्याङका नरसिंह पुनले जानकारी दिनुभयो । फलेवास नगरपालिका–१ र २ मा पर्ने डहरेको लेक, महाशिलाको फलामखानी, देउरालीलगायतका लेकमा पनि हिमपात भएको लुङ्खुदेउरालीका एकबहादुर हमालले जानकारी दिनुभयो । धेरै वर्षपछि बाक्लो हिउँ परेपछि स्थानीयवासी घर बाहिरै निस्कन नसकेको उहाँले बताउनुभयो । 

उपल्लो बस्तीमा हिमपात भइरहँदा तल्लो बस्तीमा भने चिसो बढेको छ । वर्षासँगै शीतलहर र तुवाँलोका कारण कुश्मा, ज्ञाँदी, फलेवास, बिहादी, रानीपानीलगायतका बस्तीमा बिहान शीत जमेर बाहिर निस्किनै नसक्ने अवस्था भएको स्थानीयवासीले बताएका छन् । 

पाँच महिनायता पहिलोपटक वर्षा भएपछि आकाशे पानीको भरमा खेती गर्दै आएका किसान भने खुशी भएका छन् । सुख्खा टारमा लगाइएको आलु, गहुँ, जौ, तोरीलगायतका बालीमा वर्षाले ठूलो राहत महसुस भएको किसानको दाबी छ । 

कञ्चनपुरको बेलौरी नगरपालिकाको टेडुवाका स्थानीय किसान एक्कासी पानी पर्न आँटे पछि घर ल्याउनको लागि हतार हतार गरि खेतमा तोरी जम्मा गर्दै । तस्वीर : रासस

लगातार परेको वर्षाले बेँसीको बस्तीमा अत्यधिक चिसो बढेको छ । अस्पताल तथा स्वास्थ्य केन्द्रमा चिसोका बिरामी बढेका छन् । चिसो बढेपछि यो सातामा मात्रै रुघाखोकी, निमोनिया ज्वरोलगायतका बिरामीको सङ्ख्या ह्वात्तै बढेको पर्वत जिल्ला अस्पतालले जनाएको छ । 

हिमपातका कारण मार्तडी–कोल्टी सम्पर्क टुट्यो

 निरन्तरको वर्षा र हिमपातका कारण बाजुरासहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको जनजीवन कष्टकर बनेको छ । 

विगत केहि दिनदेखि भइरहेको मौसम बदलीसँगै निरन्तरको वर्षा र हिमपातका कारण उच्च पहाडी र हिमाली क्षेत्रमा जनजीवन कष्टकर बनेको हो । हिमपातकै कारण बाजुराको ‘क’ र ‘ख’ क्षेत्रको सम्बन्ध टुटेको छ । बडिमालिका र बूढीनन्दा नगरपालिकाको सिमाना पोरखेलेकमा बाक्लो हिउँ परेपछि सम्बन्ध टुटेको हो । मार्तडी–कोल्टी सडक पूर्णरूपमा बन्द भएको छ भने आवतजावत पनि रोकिएको छ । 

बागलुङ नगरपालिका–९ तित्याङ हुँदै रायडाँडा जाने जिर्ण कच्चि सडकको हिलोमा तान्न नसकेको यातायातको साधन । बाटो निर्माणको लागि नगरको योजना रहेको छ । तस्वीरः रासस

चार/पाँच फिटसम्म हिउँ जमेकाले हिँडडुलमा समस्या भएको छक्क मल्लले बताउनुभयो । मार्तडीबाट कोल्टीका लागि जाने सवारीसाधान रोकिएका छन् । सडक बाटो पूर्णरूपमा बन्द भएको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताउनुभयो । 

हिमपातका कारण ग्रामीण भेगका कच्ची सडक हिलाम्मे भएकाले सडकमा यात्रा गर्न र गराउन समस्या भएको यातायात व्यवसायीले बताएका छन् । सदरमुकाम मार्तडीबाट जिल्लाको गौमुल र कोल्टीसम्मको सडकमा हिमपात बढी भएकाले जिप सञ्चालन हुन नसकेको प्रमुख भाटले जानकारी दिनुभयो । 

कोल्टी क्षेत्र सञ्चारविहीन 

कोल्टी क्षेत्र सञ्चारविहीन बनेको छ । जिल्लाका नौ स्थानीय तहमध्ये चार स्थानीय तह रहेको कोल्टी क्षेत्र टेलिफोन सेवा र इन्टरनेट सेवाबाट विच्छेद बनेको प्रहरीले जनाएको छ । 

कोल्टी क्षेत्रका बूढीनन्दा नगरपालिका, जगन्नाथ, स्वामिकार्तिक खापर र हिमाली गाउँपालिका सञ्चार सुविधाबाट बञ्चित भएका हुन् । घाम लागेको दिन मात्रै मोबाइलमा टावर आउने र बादल लाग्दा सञ्चारविहीन हुने गरेको छ । 

सञ्चार सुविधा नहुँदा स्थानीय तहका काम प्रभावित बनेका छन् । “कुनै विपत्ति आउँदा, घटना, दुर्घटना हुँदा प्रहरी प्रशासनमा खबर गर्न पनि समस्या हुने गरेको स्थानीयवासीको गुनासो छ । घाम लागेको बेला आउने भए पनि लगातार हिमपात परेपछि सेवा अनियमित बनेको हो । 

उत्तरी क्षेत्रका बूढीनन्दा नगरपालिकाको कोल्टीको घोडाकोट, हिमाली गाउँपालिका–६ गुम्लु र हिमाली गाउँपालिका–२ को कोटमा दुई वर्षअघि रिपिटर टावर निर्माण भएका छन् । 

टेलिकम बाजुरा कार्यालयका कर्मचारी मानबहादुर रोकायाले बिजुली नभएकाले त्यस क्षेत्रमा सोलारको विकल्प नभएको बताउँदै कोल्टीमा विद्युत् भए पनि नियमित नहुँदा समस्या आएको उल्लेख गर्नुभयो । चिसोले अस्तव्यस्त बनेको यहाँको जनजीवन फोन सेवासमेत नहुँदा थप सास्ती भोग्न बाध्य छ । 

पाँच वर्षपछि हिमपात, कृषक खुशी

बागलुङको काठेखोला गाउँपालिका–४ बिहुँ दहपानी र आसपासमा पाँच वर्षपछि आज हिमपात भएको छ । 

शुक्रबार दिउँसैदेखि लगातार पानी परेर चिसो बढेसँगै रातको समयमा हिउँ परेको हो । हिउँका कारण बिहुँ र आसपासका ठानडाँडा, शिवालय, घोडा बाँधे, कर्लेम, लेखानीलगायतका गाउँ सेताम्ये देखिएका छन् । 

विगत पाँच वर्षअघि यस क्षेत्रमा हिउँ परेको जानकारी दिँदै काठेखोला गाउँपालिका–४ का वडा सदस्य शिवलाल कँडेलले त्यसयता भने पहिलो पटक हिउँ परेको बताउनुभयो । हिउँ परेसँगै यस क्षेत्रमा लगाइएका आलु, गहुँ, जौको राम्रो उत्पादन हुने भएका कारण यहाँका कृषक खुशी भएका छन् । 

गाउँ पर्यटन प्रवद्र्धन मञ्च ९भिटोफ० केन्द्रको आयोजना एवं भिटोफ गण्डकी प्रदेश पोखराको संयोजनमा आज यहाँस्थित शिवधुरी सामुदायिक घरबासको उद्घाटनका लागि आएका अतिथि बिहानैदेखि हिउँ खेलेर रमाएका छन् । 

हिउँ परेपछि सेताम्य देखिइएको बाग्लुङको काठेखोला गाउँपालिका–४ बिहुँ दहपानी । तस्वीरः रासस

यहाँको प्रकृति र संस्कृतिलाई पर्यटन बजारमा पु¥याउने उद्देश्यका साथ पहिलो चरणमा १० घरमा घरबास कार्यक्रम सञ्चालनमा ल्याइएको र यसको प्रवद्र्धन गर्न लागिएको भिटोफ पोखराका अध्यक्ष रवीन्द्रराज पौडेलले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया