उपभोक्ताको स्वास्थ्यमाथि चरम लापर्वाही, चामलमा भेटियो युरिया मल

 माघ २३, २०७५ बुधबार १०:५३:२८ | सन्तोष थापा
unn.prixa.net

प्रशासनको नियन्त्रणमा रहेको युरिया मिसिएको चामल

पर्वत –पर्वतको कुश्मा नगरपालिका–७, गोदामका कृष्णप्रसाद आचार्यले बजारबाट किनेर लगेको चामलको बोरा खोल्दा युरिया मल मिसावट भएको पाइएको छ ।

शौरभ फूड प्रोडक्ट्स प्रालि बाराले उत्पादन गरेको सोल्टी ब्राण्डको जिरा मसिनो चामलमा युरिया भेटिएको हो ।

सदरमुकाम कुश्मा बजारको दुर्लुङ्गचोकमा रहेको प्रभु शरणम किराना पसलबाट माघ २० गते आइतबार साँझ चामल घर लगेको र सोमबार बिहान भात पकाउने क्रममा युरिया भेटिएको आचार्यले बताए । आइतबार त्यही बोराको चामल पकाएर खाँदा सोमबार परिवारका सदस्यलाई झाडापखाला लागेपछि शंका लागेर चामल हेर्दा युरिया मलका सेता दाना बाक्लै भेटिएपछि जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको आचार्यले बताउनुभयो । ‘बेलुका भात पकाएर खाँदा सबैलाई पखाला लागेपछि बिहान चामल हेर्दा युरिया देखियो’, आचार्यले भन्नुभयो, ‘त्यसपछि प्रशासनमा खबर गरेको हूँ ।’ आचार्यले माघ २१ गते सोमबार जिल्ला प्रशासन कार्यालय पर्वतमा उजुरी दिनुभएको थियो । 

सौरभ फूड प्रोडक्ट्सले २०७५ मंसिर २५ गते प्याकिङ्ग गरेको ब्याच नं. २९ को सोल्टी जिरा मसिनो चामलको बोरा प्रशासनमा राखिएको छ ।    चामलको उपभोग्य मिति भने चौबीस महिना रहेको छ । 

उपभोक्ता आचार्यको उजुरीको आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका निमित्त प्रमुख केदार पौडेलसहितको टोलीले चामलको बोरा अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो ।  पसलको गोदाममा रहेका त्यही ब्याच नम्बरका चामलका बोरामा भने मिसावट पाइएको छैन ।  पसलको गोदाममा रहेका अन्य बोराहरु हेर्दा भने युरियाको मिसाबट नभएको पाइएको प्रमुख पौडेलले बताउनुभयो । 

प्रारम्भिक अनुसन्धानका क्रममा चामल उत्पादकले  नै त्रुटि गरेको निष्कर्षमा पुगिएको र  थप अनुसन्धानका लागि चामल प्रयोगशालामा पठाइने पौडेलले जानकारी दिनुभयो । 

चामलमा युरिया भेटिएको बारे अनुसन्धान भैरहेको र उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड हुनेगरी बिक्री वितरण गरेको पाइएमा आवश्यक कारबाही गरिने प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो । 

 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया