पहिलो चोटि सरकारमा जाँदा चमत्कार गर्न सकिएन, झिलिमिलीमै बित्यो ९ महिना : प्रचण्ड

 माघ २९, २०७५ मंगलबार २२:३२:४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर-रासस

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो चोटि सरकारमा जाँदा आफूले कुनै चमत्कार गर्न नसकेको बताउनुभयो । 

नेकपाका युवा नेता तथा जनयुद्धमा कमाण्डरसमेत रहेका सरल सहयात्रीको उपन्यास ‘शिखरको ढुङ्गा’ को विमोचन कार्यक्रममा बोल्दै उहाँले आफ्नो पहिलो कार्यकाल सम्झँदै भन्नुभयो, ‘पहिलो चोटि सरकारमा गएर मैले कुनै चमत्कार गर्न सकिनँ । यो सकिने कुरा पनि होइन । रियलमा त चमत्कार भन्ने कुरा त केही नि हुँदैन नि ।’

पहिलो पटक सरकारको नेतृत्वमा जाँदा आफूहरु अनुभवविहीन भएको बताउँदै प्रचण्डले भन्नुभयो, ‘अनुभव नै नभएको क्षेत्रमा उत्पात गर्ने भन्ने त हुँदैन । प्रधानमन्त्री हुँदाको पहिलो कार्यकाल मेरो लागि झिलिमिलीमै गयो । झिलिमिलै हुँदाहुँदै नौ महिना बित्यो, छोडेर हिँड्न पर्यो । के हो के हो यो राजनीति ? कहाँ आइयो कहाँ आइयो ? राम्रो ठाउँमा आइयो कि नराम्रो ठाउँमा आइयो भन्दाभन्दै नै बित्यो ।’

आफूहरुको आकांक्षा ठूलै भएको बताउँदै प्रचण्डले भन्नुभयो, ‘आकांक्षा र अनुभवबीचको अन्तरविरोधले सफल भएन ।’

दोस्रो कार्यकाल भने आफ्ना लागि झिलिमिली नभएको पनि अध्यक्ष प्रचण्डले स्पष्ट पार्नुभयो । देशलाई नयाँ दिशा दिनका लागि आफू योजनाबद्ध तरिकाले नै अघि बढेको उहाँले बताउनुभयो । 

उहाँले अहिलेको अवस्था अलग भएको बताउँदै भन्नुभयो, ‘अहिले जुन ठाउँमा आएका छौँ । पार्टी एकतापछि दुई तिहाई बहुमतको कम्युनिष्टको सरकार छ । राजनीतिक स्थिरता छ । देश परिवर्तनकारी बाटोमा अगाडि बढ्दैछ ।’ अब देश शान्तिपूर्ण प्रतिस्पर्धाबाट समाजवादको यात्रातर्फ लाग्नुपर्ने उहाँले बताउनुभयो । आफ्नै कार्यकालमा नेपालले विश्व समुदायलाई एउटा सन्देश दिएको हेर्न चाहेको उहाँले बताउनुभयो ।  

अध्यक्ष प्रचण्डले बुद्धि, विवेक र क्षमता भएकै मान्छेले जनयुद्ध लडेको बताउनु भएको छ । प्रचण्डले जनयुद्धमा लागेका योद्धाहरु अहिले पनि खेल तथा समाजका विभिन्न तप्कामा रहेर आफूलाई चिनाउने काम गरिरहेको बताउनुभयो । जनयुद्ध लडेका व्यक्तिहरु अहिले सांस्कृति मोर्चा, फिल्म र गीतका क्षेत्रमा आफ्नो प्रतिभा देखाइरहेको अध्यक्ष प्रचण्डले बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका योद्धाहरुले समाजमा स्थापित हुन अझै आफूलाई प्रमाणित गर्नुपर्ने देख्दा दुःख लागेको बताउनु भएको छ । 

नेकपा अध्यक्ष प्रचण्डले जनयुद्धमा होमिएका हरेक योद्धा आफैमा उत्कृष्ट व्यक्ति हुँदाहुँदै पनि अहिले समाजमा आफूलाई उभ्याउन प्रमाणित गर्नु परेको देख्दा दुःख लागेको बताउनुभयो । तर पछिल्लो समय देशलाई युगान्तकारी परिवर्तनको लागि लडेका योद्धा विभिन्न क्षेत्रबाट राज्यको मूलप्रवाहीकरणमा बिस्तारै आएको आभास हुन थालेको पनि बताउनुभयो । यसले समाजले भने जस्तो जनयुद्धमा होमिएका कोही पनि अविवेकी थिएनन् भन्ने प्रमाणित गरेको भन्दै अध्यक्ष प्रचण्डले खुशी व्यक्त गर्नुभयो ।

लेखक सरल सहयात्रीले जीवनको विभिन्न काल खण्डलाई र आफू जनयुद्धमा हुँदा देखे भोगेका विषयलाई उपन्यासको रुपमा पाठकमाझ ल्याउनु भएको हो । लेखक जनयुद्धका पूर्व कमाण्डर हुनुहुन्थ्यो भने उहाँले सगरमाथाको सफल आरोहण पनि गर्नु भएको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया