‘नेपालमा पुरुष नर्स पनि आवश्यक’

 असार ११, २०७५ सोमबार १४:५५:१७ | रासस
unn.prixa.net

काठमाडौं – पुरुष नर्स रत्न गुरागाईंलाई पुनः पुरुषलाई पनि नर्सको रुपमा समावेश गर्ने विषयले खुशी बनाएको छ । ‘देशमा पुरुष नर्स पनि आवश्यक छ नि’ उहाँले भन्नुभयो । 

विसं २०४३ मा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा नेपालमा पहिलो ब्याचका रुपमा पुरुषले नर्सिङ पढेका थिए । सोही ब्याजका नर्स हुनुहुन्छ गुरागार्इं । 
 ‘‘यो बन्द गर्नै हुँदैन्थ्यो, फेरि शुरु हुनु सकारात्मक विषय हो’, गुरागाँईले भन्नुभयो, ‘नर्सिङ पढ्न धेरै पुरुष इच्छुक पनि छन् ।’ वीर अस्पतालमा बीस वर्षे लामो सेवा गरी सेवानिवृत्त भई हाल हेटौँडास्थित नारायणी मेडिकल एण्ड टेक्नोलोजीका प्रधानाध्यापक गुरागाईंले सरकारको यो कदमले नीति निर्माण तहमा पनि महिला पुरुष भए अघि बढ्न बल पुग्ने बताउनुभयो । 

उहाँले पुरुष बिरामीको हेरचाह गर्न, दुर्गम जिल्लाको स्वास्थ्य क्षेत्रका लागि पुरुष नर्सलाई खटाउन सकिने बताउनुभयो । ‘‘पुरुष नर्स हुँदा सामाजिक सुरक्षा मजबुत हुने र पेशालाई माथि उकास्न सहज हुन्छ’, उहाँले भन्नुभयो । 

लामो समयदेखि पुरुषले पनि नर्सिङ पढ्न पाउनुपर्ने माग अन्ततः सम्बोधन भएको छ । नेपाल नर्सिङ परिषद्ले पुरुषलाई पनि नर्सिङ पढ्न पाउने निर्णय गरेपछि पुरुष नर्स बन्ने बाटो खुल्ला भएको हो । 

नेपाल नर्सिङ परिषद्का अध्यक्ष प्राध्यापक गोमादेवी निरौलाले चारैतिरबाट पुरुषले पनि नर्सिङ पढ्न पाउनुपर्ने माग गरेपछि परिषद्ले आवश्यकता महसुस गरी यस्तो निर्णय गरेको बताउनुभयो । विश्वविद्यालय, प्रतिष्ठान र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्अन्तर्गतका नर्सिङ शैक्षिक संस्थालाई निर्णय कार्यान्वयन गर्न परिषद्ले सूचना जारी गरिसकेको अध्यक्ष निरौलाले बताउनुभयो । 

अध्यक्ष निरौलाले शैक्षिक सत्र २०७५÷७६ देखि लागू हुने गरी १५ प्रतिशत पुरुषलाई नर्सिङ अध्ययनमा समावेश गराउने निर्णय गरेको जानकारी दिनुभयो । 

नेपाल नर्सिङ संघले नर्सिङ अध्ययनमा पुरुषलाई कोटा दिनुपर्ने माग राख्दै नेपाल नर्सिङ परिषद्लाई पत्र समेत पठाएको थियो । 

नेपाल नर्सिङ संघकी महासचिव लक्ष्मी केसीले विदेशमा पुरुष नर्स उत्पादन भई काम गरिरहेकाले नेपालमा पनि पुरुष नर्सको आवश्यकता खड्किएको बताउनुभयो । 

‘लैङ्गिक समानताका लागि पनि नेपालमा पुरुष नर्स चाहिन्छ भनेर हामी पहिलेदेखि आवाज उठाउँदै आएका थियौँ’, उहाँले भन्नुभयो, ‘जनशक्ति उत्पादन गर्न संघमार्फत नर्सिङ परिषद्लाई पत्र पठाएका थियौँ ।’ अब नर्स भन्ने बित्तिकै महिला मात्र हुन्छन् भन्ने मानसिकता परिवर्तन हुने उहाँको विश्वास छ । 

नेपाल र भारतमा अध्ययन गरेका १०५ जना पुरुष नर्स परिषद्मा दर्ता भएका छन् । अब निर्णय कार्यान्वयन भएमा वार्षिक १ सय २५ कलेजबाट १५ प्रतिशत पुरुष नर्स उत्पादन हुँदा वर्षमा एक हजार १ सय ५५ पुरुष नर्स उत्पादन हुने अनुमान गरिएको छ । वार्षिक १ सय २५ भन्दा बढी नर्सिङ कलेजबाट सात हजार ७४० जना नयाँ महिला नर्स उत्पादन हुँदै आएका छन् । 

विसं २०४६ मा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा पुरुष नर्सको पढाइ शुरु भएको थियो । चार ब्याचसम्म मात्र अध्ययन भएको त्यो समयमा ८० जना पुरुष नर्स जनशक्ति उत्पादन भएका थिए । पछि पुरुषका लागि नर्सिङ पढ्ने अवसर बन्द भयो । 

नेपाल नर्सिङ परिषद्मा ८१ हजार ९० नर्स दर्ता छन् । जसमा स्टार्फ नर्स ४९ हजार ३४, अनमी ३१ हजार २ सय २१ र विदेशी नर्स ८ सय ३५ दर्ता छन् । दर्ता भई बर्सेनि लाइसेन्स दर्ता नवीकरण भने १३ हजार ८ सय ३६ स्टार्फ नर्स र तीन हजार ६ सय ३४ अनमीले मात्र गराएको परिषद्को तथ्यांक छ । 
 

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया