आबुधाबीमा अलपत्र १ सय १४ जना नेपालीको उद्दार प्रकृया रोकियो, खाना र पानीको  समस्या

 चैत २१, २०७५ बिहिबार १०:५५:४९ | उमाकान्त पाण्डे

यूएई – यूएईको आबुधाबीमा अलपत्र परेका २ सय जना नेपाली कामदारसहित साढे ७ सय कामदारको उद्दार प्रक्रिया रोकिएको छ । यूएई सरकारले चासो देखाएर सुरु भएको उद्दार गरेर कामदारलाई आफ्नो देश फर्काउने प्रक्रिया कानुनी प्रकृया लम्बिएपछि रोकिएको हो ।

जसका कारण १ सय १४ जना नेपाली घर फर्किन नपाउँदै फेरि समस्यामा परेका छन् । उनीहरुललाई अहिले पानी र खानाको समस्या भएको छ । अलपत्र परेकामध्ये ७६ जना नेपालीलाई यसअघि उद्दार गरेर नेपाल फर्काइएको छ । 

कम्पनी बन्द गरेर कम्पनी मालिक युएई छोडेर गएकाले कम्पनीमा काम गर्ने कामदार समस्यामा परेका हुन् । अलपत्र मध्ये ४ जना महिला सहित २ सय जना नेपाली थिए । ती मध्ये ५ पटक गरेर ७६ जना नेपालीलाई नेपाल फर्काइएको हो । बाँकी ४ जना महिलासहित १ सय १४ जना अहिले पनि नेपाल फर्किन पाएका छैनन् । 

कम्पनीले राखेको क्याम्पमा रहेकाहरुलाई केही दिन यता खाना र पानीको समस्या हुन थालेको हो । काम नपाएर पैसा नभएपछि खाना र पानीको अभाव भएको मोरङ उर्लाबारीका रुपेश खुलालले बताउनु भयो । 

अबुधाबीको अल वासिता इमिरेट्स क्याटरिङ कम्पनीमा कार्यरत उनीहरुलाई १० महिनादेखि काम बिहीन बनाएर राखेपछि समस्या भएको हो । नेपालबाट यो कम्पनीमा सन हिल्स म्यानपावरले कामदार ल्याएको हो ।

कम्पनीमा समस्या आएपछि कम्पनीका सञ्चालक सूर्य अधिकारीले यस अघी यूएई आएर दूतावास र कम्पनीसँगको समन्वयमा अलपत्र कामदारको उद्दार थाल्नुभएको थियो । 

म्यानपावरका सञ्चालक अधिकारीले फेरि समस्या आएको विषयमा नेपाली दूतावास, कामदार र कम्पनीसँग समन्वय गरेर समाधानको प्रयासमा गर्ने बताउनुभयो । उहाँले अलपत्र परेकामध्ये झण्डै ६४ जनाले मात्रै पहिलो करार सम्झौता पूरा गर्न नपाएको भन्दै बाँकी कामदारले भने दुईदेखी ७ बर्षसम्म त्यही कम्पनीमा काम गरिरहेको बताउनुभयो । 

अहिले उद्दार प्रकृया रोकिएका १ सय १४ मध्ये धेरै कम्पनीमा समस्या देखिएपछि बिदामा गएका थिए । तर कम्पनीले ५० प्रतिशत क्षपिपूर्ति दिने भन्दै बोलाएपछि फेरि यूएई पुगेका थिए । ‘सबैको हातमा पासपोर्ट भए पनि काम गरे बापतको पैसा नपाउँदा नेपाल फर्किन सकेका छैनौं’ गोरखाका रबिन्द्र श्रेष्ठले भन्नुभयो । 

उद्दारका लागि सबै प्रयास गर्छौं : दुतावास   

यूएईको राजधानी आबुधाबीबाट ४० किलोमिटरमा रहेको मुसाफा ४० नम्बर मजदुर क्याम्पमा बस्दै आएका सबै कामदारले लामो समयसम्म आफूहरुको उद्दार नभएको भन्दै ४२ जना कामदार मगंलबार नेपाली दूतावास पुगेर गुनासो गरेका थिए ।

समस्या बारे नवनियुक्त राजदूत कृष्णप्रसाद ढकाललाई भेटेर कामदारले जानकारी गराएका थिए । राजदूत ढकालले नेपाली कामदारको उद्दार प्रकृयाका लागि सबै प्रयास गरिने बताउनुभयो । 

बुधवार मात्रै राजदूत ढकालले कुटनीतिक माध्यममार्फत यहाँको श्रम मन्त्रालय तथा अन्य बिभिन्न निकायमा समस्या समाधान गर्न अनुरोध गर्नुभएको छ । यस्तै कामदारको बास तथा खाना र पानीलाई समेत समस्या भएको बारे बुझ्न दुतावासका उपनियोग प्रमुख सागरप्रसाद फुयाँलले कामदार रहेको क्याम्पमा पुगेर स्थलगत अनुगमन पनि गर्नुभएको छ ।

दूतावासका प्रवक्ता समेत रहेका फुयाँलले कामदारलाई तत्काल आवश्यक खाद्यन्न उपलब्ध गराउन र उद्दारका लागि कुटनीतिक पहल सुरु गरिसकेको कामदारलाई जानकारी गराउनु भएको थियो । 

कामदारको मुद्दा हेरिरहेको श्रम अदालतमा दूतावासले बिहीवार प्रतिनिधि पठाउने र कामदारको मुद्दा दुतावासले लड्न सक्ने र क्षतिपूर्ति दिलाउन सक्ने कानुनी प्रकृया बारे बुझ्ने जनाएको छ ।

दूतावासले यही कम्पनीमा अलपत्र परेका अन्य देशका कामदार सम्बन्धित मुलुकका युएईमा रहेका दुतावाससँग पनि समन्वय गरेर काम गर्ने जनाएको छ । यसअघि फर्किएका ७६ जना नेपालीपनि दूतावासकै पहलमा नेपाल फर्काइएको हो ।

कामदारको अवस्था बुझ्न दूतावासका उपनियोग प्रमुख फुयाँल, जनसम्पर्क अधिकृत (पीआरओ) इर्फान आलम तथा सहदेव गिरी मजदुर क्याम्प पुग्नु भएको थियो । 
दूतावासका प्रतिनिधिसँगै क्याम्प पुगेका गायक प्रकाश पौडेलले तत्कालका लागि आवश्यक खाद्यन्न सहायता गर्नुभएको छ ।

कामदारले तीन दिनदेखि खान नपाएको गुनासो गरेपछि पौडेलले ३८ किलो चामल , २२ किलो दाल र १२ किलो सोयाविन सहयोग गर्नुभएको हो ।  बिहीवारदेखि उनीहरुको व्यवस्थापनका लागि तयारी भइरहेको नेपाली दूतावासले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया