विश्वकप क्रिकेट :  उपाधिका लागि इंग्ल्याण्ड र न्यूजिल्याण्डबीच प्रतिस्पर्धा

 असार २९, २०७६ आइतबार ७:४८:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी एकदिवशीय विश्वकपको उपाधिका लागि आयोजक इंग्ल्याण्ड र पछिल्लो संस्करणको उपविजेता न्यूजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । विश्वकप फाइनल क्रिकेटको घर भनेर चिनिने लन्डनको लर्डस् मैदानमा नेपाली समयअनुसार दिउँसोको सवा ३ बजेदेखि सुरु हुनेछ ।

२७ वर्षपछि विश्वकपको फाइनलमा पुगेको इंग्ल्याण्ड जारी विश्वकपमा सबैभन्दा चलायमान टिमको रुपमा देखिएको छ । फाइनलसम्म आउँदा उसको टिम प्रदर्शन र खेलाडीको लय उत्कृष्ट देखिन्छ ।

अघिल्लो संस्करणमा पहिलो चरणबाटै लज्जास्पद पराजय ब्यहोरेर बाहिरिएको इंग्ल्यान्डले त्यसलगत्तै भएको ५ एकदिवशीय सिरिजमा न्युजिल्याण्डलाई ३–२ ले पराजित गरेको थियो । 

यसअघि तीन पटकसम्म फाइनलमा पुगेर जित्न नसकेको उपाधि सपना यसपल्ट इंग्लिस खेलाडीहरु साकार पार्न चाहन्छन् । इंग्ल्याण्ड सन् १९७९, १९८७ र १९९२ को विश्वकपको उपविजेता हो । 

इयोन मोर्गन नेतृत्वको इंग्ल्यान्डका लागि ज्यासन रोयको पुनरागमन निकै नै प्रभावकारी देखिएको छ । लिग चरणमा श्रीलंका र अष्ट्रेलियासँगको लगातार हारपछि समस्यामा परेको इंग्ल्यान्ड त्यसबाट माथि उठेर सेमिफाइनलमा पुगेको हो ।

जोनी बेरिस्टो, रोय र जोय रुट इंग्ल्याण्डका शीर्ष ३ ब्याट्सम्यान हुन् र उनीहरुले अहिलेसम्म यस विश्वकपमा १ हजार ४७१ रन जोडेका छन् ।

क्रिश वोक्सको नेतृत्वमा रहेको बलिङ आक्रमणमा अनुशासित बलिङ गरिरहेका जोफ्रा आर्चरले न्युजिल्याण्डको ब्याटिङपंक्तिमा पर्याप्त दबाब राख्नेछन् ।

विश्वकप उपाधिकै मुख्य दावेदार र लिग चरणमा शीर्ष स्थानमा रहेको भारतलाई धुलो चटाउँदै फाइनलमा पुगेको न्यूजिल्याण्डका लागि सबैभन्दा ठूलो प्रोत्साहन र आत्मविश्वास नै त्यही हुनेछ । 

त्यस खेलबाट अर्को के पनि प्रमाणित भएको छ भने क्रिकेटमा सबै कुरा सम्भव छ । मौसमको खराबीका एकदिवशीय विश्वकपको सेमिफाइनल २ दिन लगाएर खेलिएको थियो ।

शीर्ष क्रमले अपेक्षाकृत राम्रो प्रदर्शन गर्न नसक्नु न्यूजिल्याण्डको प्रमुख समस्या हो । तर, अनुभवी रस टेलर र केन विलियमसनले अहिलेसम्म ब्याटिङस्तर खस्कन दिएका छैनन् ।

बलिङमा उनीहरु शशक्त छन् । लोकी फर्गुसन, म्याट हेनरी र ट्रेन्ट बोल्टको सानदार बलिङले जारी प्रतियोगितामा उनीहरुले धेरैपल्ट विपक्षीलाई हायलकायल पारेका छन् । भारतको पारी ध्वस्त हुँदा पनि यिनै तीनको प्रदर्शन निर्णायक थियो ।

लगातार दोस्रोपल्ट विश्वकपको फाइनल खेल्न लागेको न्यूजिल्याण्ड उसका ओपनरहरुको लय फर्कने ब्यग्र प्रतीक्षामा छ ।

पछिल्लो लय, लिग चरणको नतिजा र घरेलु कन्डिसनका कारण इंग्ल्याण्ड यस फाइनलमा केहि अगाडि देखिन्छ । तर, न्युजिल्याण्डको टिम एकता र आत्मविश्वास जस्तोसुकै टिमका लागि पनि भारी पर्न सक्छ । 

लन्डनमा आइतबार वर्षाको सम्भावना छैन । अधिकांश समय घाम लाग्नेछ र समयसमयमा बदली हुन सक्नेछ । लर्ड्सको पछिल्लो नतिजालाई आत्मसाथ गरी दुवै कप्तानले टस जितेर ब्याटिङ रोज्ने चाहना राख्नेछन् ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया