नेपाल क्रिकेट संघकाे निलम्बन यथावत्

 साउन ३, २०७६ शुक्रबार १४:२२:३७ | रासस
unn.prixa.net

काठमाण्डाै - अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट सङ्घ (क्यान)को निलम्बन यथावत् नै राखेको छ ।

इंग्ल्याण्डको लण्डनमा बिहीबार बसेको आईसीसीको बोर्ड बैठकले क्यान निलम्बन फुकुवाका बारेमा कुनै छलफल गरेन । आईसीसीले क्यानमा सरकारी हस्तक्षेप बढेको भन्दै नेपाललाई विक्रम संवत २०७३  वैशाख १३ गते निलम्बन गरेको थियो । त्यसयता बारम्बार फुकुवाको प्रयास भए पनि सफल हुन सकेको छैन ।

आईसीसी प्रतिबन्धमा रहे पनि नेपाली क्रिकेट टोलीले आइसिसीकै निगरानीमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेल्दै आइरहेको छ ।

त्यसैगरी आईसीसीको बैठकले जिम्बावे क्रिकेट बोर्डलाई पनि प्रतिबन्ध लगाएको छ । जिम्बावे क्रिकेट बोर्डमा सरकारी हस्तक्षेप भएको भन्दै आइसिसीले जिम्बाब्वेलाई निलम्बन गरेको हो । सरकारी हस्तक्षेप बढेको र आईसीसीको धारा २ (४) को ‘सी’ र ‘डी’ विपरीत काम गरेको भन्दै जिम्बाब्वेलाई तत्कालैदेखि लागू हुनेगरी निलम्बन गरिएको हो ।

आईसीसीले निलम्बनसँगै जिम्बावेको सबै अनुदानसमेत रोक्का गरेको छ । जिम्बाब्वे अहिले आर्थिक सङ्कटमा छ ।    आइसिसीले जिम्बाब्वे क्रिकेट बोर्डलाई तीन महीनाभित्र यस मुद्दालाई समाधान गर्न (अल्टिमेटम) समयसीमा दिएको छ ।

आईसीसीले क्रोएसिया र जाम्बियाको क्रिकेट बोर्डलाई पनि निलम्बन गरेको छ भने मापदण्ड नपुगेको भन्दै मोरक्कोको क्रिकेट बोर्डलाई पनि निष्कासन गरेको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया