निर्माण सम्पन्न भएको दुई महिनामै भासियो रोशी पुल

 साउन ५, २०७६ आइतबार १२:७:४५ | रासस
unn.prixa.net

काभ्रेपलाञ्चोक –  निर्माण सम्पन्न भएको दुई महिनामै काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० साल्मिटार र वडा नं ११ बल्थली जोड्ने रोशीखोलाको पुल साल्मिटारतर्फ भासिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा पूर्वाधार कार्यालयमार्फत बन्दना भगवती जेभी नामक निर्माण कम्पनीले पुल बनाएको हो । तीन करोड रुपैयाँको लागतमा निर्मित पुल ३५ दशमलव ६ मिटर लम्बाइको छ ।

पुल साल्मिटारतर्फ करिब एक फिटसम्म र बल्थलीतर्फ करिब छ इन्च भासिएको छ । पुलको बल्थलीतर्फ दायाँबायाँ राखिएका दर्जन खम्बामध्ये केही भत्केर खोलामा खसेका छन् भने केही पुलसँगै भासिएका छन् । यो पुल जेठ महिनामा निर्माण सम्पन्न भएको हो ।

पूर्वाधार कार्यालय प्रमुख इञ्जिनीयर लोकनाथ रेग्मीले पुलको बिम नभासिएको, पुलको दायाँबायाँ जमिनसँग जोड्ने स्ल्याबमात्रै भासिएको बताउनुभयो । 'प्राविधिकले हेरिसक्नुभएको छ, निर्माणका बेला ध्यान नदिँदा स्ल्याबभित्र पानी पसेर भासिएको रिपोर्ट आएको छ', उहाँले भन्नुभयो । उहाँका अनुसार निर्माण कम्पनीले सम्पूर्ण क्षति पुनःनिर्माण गर्नेछ ।

पुल निर्माणको एक वर्षसम्म ‘त्रुटि सच्याउने अवधि’को प्रावधान भएकाले सो अवधिसम्म भएका क्षति निर्माण कम्पनीले व्यहोर्नुपर्ने रेग्मीले जानकारी दिनुभयो । उहाँले पहिला क्षतिको विवरण सङ्कलन गरिएकाले अब पुलको गुणस्तरबारे परीक्षण गरिने बताउनुभयो । उहाँले भन्नुभयो, 'सम्झौताअनुसारको गुणस्तर नभए निर्माण कम्पनीलाई कारवाही गरिनेछ ।'

त्रुटि सच्याउने अवधि (एक वर्ष) सकिएपछि सम्झौताअनुसारको पुल निर्माण कम्पनीले जिल्लास्थित प्राधिकरणको पूर्वाधार कार्यालयलाई हस्तान्तरण गर्नुपर्नेछ । तर निर्मााण कम्पनीले भने पुल निर्माणार्थ सम्झौताअनुसारको रकम लिइसकेको छ ।

निर्माण सम्पन्न भएलगत्तै पुलको बल्थलीतर्फ दायाँबायाँ राखिएका खम्बा लडेपछि स्थानीयवासीले नपा कार्यालयमा गुनासो गरेका थिए । तत्कालीन अवस्थामा नगरपालिकाको एक टोलीले गरेको अगुगमनमा पुल गुणस्तरीय नबनेको जानकारी ल्याएको नगरपालिकाका प्रमुख भीम न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, 'हाम्रो अनुगमन टोलीले गएको असारमै पुल गुणस्तरसँग नबनेको प्रतिवेदन पेश गरेको थियो, अहिले भासियो ।'

न्यौपानेले दाता र निर्माण कम्पनीबीच पुल निर्माण सम्बन्धमा गम्भीर छलफल गर्नुपर्ने बताउनुभयो । 'सम्बन्धित निकायलाई पुल निर्माणमा त्रुटि भएको जानकारी गराउँदा पनि बेवास्ता गरियो, सम्झौताअनुसारको गुणस्तरमा पुल नबनेको भए हामी जिम्मा लिँदैनौँ', उहाँले भन्नुभयो । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया