पहिरोले संखुवासभामा दर्जनौ घरमा क्षति, ६ घर परिवार विस्थापित

 साउन ११, २०७६ शनिबार १४:२३:११ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा - केही दिनदेखि परेकाे अविरल वर्षाले संखुवासभाका विभिन्न ठाउँहरुमा दर्जनाैँ घरहरुमा क्षति पुर्‍याएको छ ।

दिनभर आकाश खुले पनि साँझ परेपछि लगातार वर्षा भइरहेकाले जिल्लाको धेरै ठाउँहरुमा पहिरो गएको हो । विभिन्न ठाउँमा बाढीपहिरो जाँदा सर्वसाधारणको लाखौँ रुपैया बराबरको क्षति गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । वर्षाले विभिन्न स्थानमा ठूलो मात्रामा क्षति हुनाका साथै पशु-चौपायाको मरेका छन् तर अहिलेसम्म मानवीय क्षति भने नभएको बताइएको छ । 

मानेभञ्जाङ्गमा ६ घर परिवार विस्थापित

पहिरोले खाँदबारी नगरपालिका–३, मानेभञ्जाङमा ६ घर परिवार विस्थापित भएका छन् । विस्थापित हुनेहरुमा टेकबहादुर विश्वकर्मा, कमल तामाङ, कमल घिमिरे, मनबहादुर तामाङ, तिलबहादुर विश्वकर्मा र गंगाप्रसाद शाक्यको परिवार रहेका छन् ।

विस्थापित परिवारहरुलाई अहिले महेन्द्र माध्यमिक विद्यालयको कक्षाकोठामा सारिएको छ । पहिरोले टेकबहादुरको घर भत्काएको छ । घरसँगै रहेको शौचालय, सुँगुरको खोर, बाख्राको खोर समेत बगाएको छ । स्थानीय गंगाप्रसाद शाक्य र तिलबहादुर विश्वकर्माको सुँगुरको खोर बगाएकाे छ । त्यसैगरी मानेभञ्जाङमा घरहरु पनि उच्च जोखिममा परेकाले विस्थापितहरुलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सुचना अधिकारी सन्तोष राईले जानकारी दिनुभयो । 

मानेभञ्जाङ बजार नै उच्च जोखिममा

खाँदबारी–३, मानेभञ्याङ बजार पहिरोको उच्च जोखिममा परेको छ । जथाभावी सडक विस्तारले मानेभञ्याङ बजार नै उच्च जोखिममा परेको हो ।मानेभञ्जाङको दुवै क्षेत्रबाट सडक विस्तार भएका कारण मानेभञ्याङ बजार पहिरोको उच्च जोखिममा परेको स्थानीयहरु बताउँछन् । बजार नजिकको दायाँ पट्टि उत्तर दक्षिण कोशी सडक छ भने बाँयापट्टि खाँदबारी-२, चेवाबेसी जाने सडकले मानेभञ्याङको मुख्य बजार रहेको छ । त्यसैले दुवै क्षेत्रबाट बजारलाई पहिरोले तान्न थालेको वडा नम्बर ३ का कार्यवाहक अध्यक्ष नरेन्द्र गुरुङले बताउनुभयो ।

 

उहाँले मानेभञ्जाङ बजार क्षेत्रमा मात्रै ५० भन्दा बढी घरहरु उच्च जोखिममा परेको बताउनुभयो । बजारको दुवै क्षेत्र भिरालो भाग र सडक भएका कारण पहिरो झरेकाे हाे। त्यसैले पहिरोले बजारका साथै एक प्रहरी चौकी र विद्यालय भवन समेत उच्च जोखिममा परेका छन् ।

त्यसैगरि चिचिला गाउँपालिका–१, सोभाङटोल बस्ने धनबहादुर राईको घर पहिराेका कारण बस्न जोखिम भएकाले उनकाे तीन जनाको परिवार छिमेकी भिमप्रसाद राईको घरमा बसोबास गरिरहेका छन् । पहिरोले पाँच लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । 

जिल्लामा लाखौँको क्षति

अविरल वर्षाका कारण सिलिचुङ गाउँपालिका–१ मुस्तेनमा गएकाे पहिरोले स्थानीय राजकुमार राईको एक रोपनी मकैबारी पुरिएको छ । त्यसैगरी वडामा रहेको भिमसेन निमावि, सिसुवाखोलामा ढुङ्गा र माटोले बनेको पर्खाल भत्किएर करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको संखुवासभाका प्रहरी निरीक्षक राईले बताउनुभयो ।

उहाँका अनुसार, धर्मदेवी नगरपालिका–९, खाल्डे गाँउ बस्ने चित्रकुमार कार्कीको घरनजिकै पहिरोले घर र गोठ भत्काएको छ । खाँदबारी–३, मानेभञ्ज्याङमा पहिरोले रेवन राईको माेटरसाइकल ग्यारेजमा डेढ लाख बराबरको क्षति पुर्‍याएको छ । 

त्यसैगरी, खाँदबारी–४, सेकाहामा भीमबहादुर गुरुङको पाँचकोठे घर पहिरोले पुरेको छ । त्यसैगरी भीमबहादुरको घरसँगै टाँसिएको छिमेकी तेजबहादुर गुरुङ, गौरीमान गुरुङ र भुवनसिंं गुरुङको घर समेत खतरामा परेको प्रहरीको भनाइ छ । ती चारै घरमा नबस्न सुझाव दिइएकाे प्रहरीले जनाएको छ ।

सदरमुकाम खाँदबारी–१ मा निमछिरिङ शेर्पा, डम्बर विश्वकर्मा, राम विश्वकर्मा, गणेश राई, रिदा भोटे र पुण्यप्रसाद पोख्रेलको घर पहिरोको उच्च जोखिममा परेका छन् । खाँदबारी नगरपालिकाभित्र कति घर विस्थापित भए भन्ने यकिन तथ्याङक संकलन गर्ने काम भइरहेको खाँदबारी नगरपालिकाले जनाएको छ ।

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया