नगरपालिकाले तोक्यो दक्षिणा

 साउन २२, २०७६ बुधबार ६:५७:२३ | रासस
unn.prixa.net

चितवन –  माडी नगरपालिकाले दक्षिणा स्वरुप दिइने पैसा निर्धारण गरेको छ । नगरपालिकाको ३५औँ कार्यपालिका बैठकले दक्षिणास्वरुप १०१ रुपैयाँ कायम गरेको हो । नगरसभाका निर्णय मंगलबार सार्वजनिक गर्दै नगर प्रमुख ठाकुर ढकालले समाजमा हुने भड्कीलोपनालाई नियन्त्रण गर्न यो निर्णय गरिएको बताउनुभयो । 

निर्णय कार्यान्वयनका लागि सम्पूर्ण नगरवासीलाई अपिल गरिने उहाँले जानकारी दिनुभयो । हुने खानेले विवाह, व्रतबन्ध, पूजाआजालगायतका शुभकार्यमा बढी दक्षिणा दिने र हुदाँ खानेले थोरै दक्षिणा दिने गर्दा समाजमा विभेद् निम्तिएको भन्दै नगरपालिकाले विभेद् अन्त्यका लागि यो निर्णय गरेको ढकालले बताउनुभयो ।

यस्तै माडीवासीले वैवाहिक कार्य गर्दा घरैमा गर्नुपर्ने भएको छ । कार्यपालिका बैठकले घरमा विवाह गर्दा खर्च कम हुने भएकाले घरमा नै गर्नुपर्ने प्रावधान अघि सारेको हो । यसले खर्चमा कटौती हुने र देखावटी गरिने खर्चको नियन्त्रणसँगै समाजमा हुने विभेद्लाई समेत केही मात्रामा रोक्न सहयोग पुग्ने नगरपालिकाको विश्वास रहेको प्रमुख ढकालले बताउनुभयो । 

उहाँका अनुसार पार्टी प्यालेसमा विवाह गर्नुपर्ने बाध्यता रहेमा त्यहाँ गरिने खर्चको केही रकम नगरपालिकालाई बुझाउनुपर्ने हुन्छ । सो रकमबाट नगरपालिकाले अभिभावक गुमाएका बालबालिकाका लागि खर्च गरिने उहाँले जानकारी दिनुभयो । अहिले नगरपालिकाले अभिभावक गुमाएका बालबालिकाका लागि आवास सञ्चालन गरिरहेको छ । वडा नं. ६ लक्ष्मीवासमा रहेको यो आवासमा ३७ जना बालबालिका आश्रित छन् । 

माडीमा तीन वटा पार्टीप्यालेस सञ्चालनमा रहेका छन् भने अन्य खुल्ने क्रममा छन् । नगरपालिकाका कार्यपालिका सदस्यहरूबाट तत्काल शुरुवात हुनेगरी दक्षिणा निर्धारण गरिएको नगरपालिकाका प्रवक्ता शिवहरि सुवेदीले जानकारी दिनुभयो । उहाँले एकै परिवारमा दुई वटा छोरी जन्मेका भए दुवै जनालाई उच्च माध्यमिक तहसम्म निःशुल्क शिक्षा प्रदान गरिने बताउनुभयो । छुवाछुत प्रथा हटाउन छुवाछुतविरुद्धको दिवसमा सहभोज आयोजना गर्ने कार्यपालिकाले निर्णय गरेको छ ।

यस्तै कार्यपालिका बैठकले वडा नम्वर ९ मा रहेको प्याउलीमा बाल शिक्षा केन्द्र स्थापना गर्ने र नगरपालिकाको भूगोल, जनसङ्ख्या, भू उपयोगको अवस्था एवं आर्थिक सामाजिक पक्ष समेटी नगरको वृत्तचित्र तयार गर्ने निर्णय भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

अन्तिम अपडेट: पुस २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया