नासु आत्महत्या प्रकरण : ‘इमान्दार व्यक्ति हुनुहुन्थ्यो, कसरी यस्तो भयो आश्चर्यमा छौँ’

 भदौ ३, २०७६ मंगलबार २०:५४:५० | रासस
unn.prixa.net

काठमाण्डाै - सिंहदरबारभित्र राष्ट्रिय याजना आयोगको पहिलो तलामा रहेको अनुगमन तथा मूल्याङ्कन शाखाको सभाहलको छेउमा चिया बनाउने ठाउँ छ ।

मंगलबार बिहान कार्यालय समयमा एक कर्मचारी पानी खान जाँदा नायब सुब्बा बच्चुराम केसी लडिरहेको देख्नुभयो । उहाँले जानकारी गराएपछि मात्रै घटना सार्वजनिक भएको हो ।

'बिहान लडिरहेको जानकारी आउने बित्तिकै सिंहदरबारको प्रहरी र आफन्तलाई समेत हामीले खबर गरेका हौँ, प्रहरीले आएर हेर्दा केसी मृत भेटिनुभएको हो', आयोगका प्रवक्ता डाक्टर किरण रुपाखेतीले भन्नुभयो ।

कीर्तिपुर नगरपालिका–६ टौदह घर भएका केसीको शव नजिकै विषादीको सानो बट्टासमेत भेटिएको थियो । त्याे बट्टा बालीमा हाल्ने कीटनाशक विषादीको रहेको प्रहरीले जनाएको छ । नजिकै केराको बोक्रासमेत फेला परेको थियो । सुरुमा कर्मचारीले मदिरा पिएर ढलेको भन्ने अनुमान गरेका थिए । सर्ट खोलेको अवस्थामा घटनाको प्रकृति अस्वभाविक देखिएपछि तल्कालै प्रहरीलाई खबर गरेको कर्मचारीले बताएका छन् । केसीले त्यही केरासँग विषादी मिसाएर खाएको अनुमान काठमाण्डौ प्रहरीको छ ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले भन्नुभयो, 'सुसाइड नोट फेला परेको छ, त्यसमा उल्लेख भएअनुसार केसीले आफ्नै कारणले घटना घटेकोजस्तो देखिन्छ ।' घटना अन्दाजी १०/११ बजे राति भएको भन्दै उहाँले सीसी क्यामेराको श्रव्यदृष्यको पनि अनुसन्धान भइरहेको बताउनुभयो । काम सकेर निस्किएका केसी फेरि राति कार्यालयमा फर्किएको पाइएको छ । अन्य कुरा अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ ।

आयोगको प्रशासन महाशाखाअन्तर्गत प्रशासन तथा विपद् व्यवस्थापन शाखामा कार्यरत हुनुहुन्थ्याे नायब सुब्बा बच्चुराम केसी । उहाँ झण्डै आठ वर्षदेखि आयोगमा काम गर्दै आउनु भएकाे थियाे । 'केसी कार्यालयका साह्रै भरपर्दो, इमान्दार र कर्तव्यनिष्ठ हुनुहुन्थ्यो, उहाँलाई काम लगाएपछि पक्का हुन्थ्यो, कसरी घटना भयो हामी सबै आश्चर्यमा छौँ', आयोगका प्रवक्ता डाक्टर रुपाखेतीले भन्नुभयो । सोमबार दिनभरि नै केसीले कार्यालयमा काम गरेको कर्मचारीले बताएका छन् ।

केसीका श्रीमती, एक छोरा र एक छोरी छन् । छोरा हाल अष्ट्रेलियामा रहेको उहाँका दाइ मधु केसीले बताउनुभयो । 'सुसाइड नोटमा म आफै जिम्मेवार छु भनेर लेखिएको छ, हलको बोर्डमा मार्करले पनि लेखेको भनिएको छ, अनुसन्धानपछि घटनाबारेमा प्रहरीले खुलाउला', दाइ मधुले प्रतिक्रिया दिनुभयो ।

उहाँका अनुसार आवश्यक कागजात मिलाउँदा समय नपुगेकाले बुधबार मात्रै शवपरीक्षण गरिने भएको छ । प्रहरीले घटनाको मुचुल्का उठाएर अपराह्न नै शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगेको छ ।

मुद्रण विभागको भवनमा योजना आयोगले कार्यालय सारेको केही वर्ष भयो । यहाँ मुद्रणको काम हुने भएकाले राति पनि खुला हुने गरेको थियो । प्रहरीका अनुसार राति नै उहाँ कार्यालयमा प्रवेश गर्नु भएकाे थियाे । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया