राष्ट्रिय वाणिज्य बैंकद्वारा एकैपटक १४ शाखा विस्तार

 भदौ १२, २०७६ बिहिबार ८:४३:१ | रासस

काठमाण्डौ – सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले एकैपटक आफ्ना १४ शाखा कार्यालय विस्तार गरेको छ । अब बैंकको शाखा कार्यालय २२२ बाट २३६ पुगेको छ । २८ कमिर्शियल बैंकमध्ये सबैभन्दा बढी अर्थात् ३१ लाख ग्राहक पुगेको बैंकले बुधबार विस्तार गरेको शाखा कार्यालयमा चकचकी (झापा)  कसिंयाबजार (मोरङ), चन्द्रपुर (रौतहट),  भीमफेदी (मकवानपुर), बलवाबजार र पिपरा(महोत्तरी), पोखरीया (पर्सा) , टोखा र कोटेश्वर (काठमाण्डौ), खैरेनीटार (तनहुँ), पूर्तिघाट (गुल्मी) चन्द्रौटा –कपिलबस्तु) र घोराही (दाङ) रहेका छन् । सबै जिल्लामा बैंकको पहुँच पुगेको छ । 

अर्थमन्त्री डा. युवराज खतिवडाले डिजिटल माध्यमबाट बुधबार ती शाखा कार्यालयको शुभारम्भ गर्दै पुँजि बजार सुधार गर्न सरकारले उच्च प्राथमिकता दिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘आर्थिक गतिविधि बढिरहेको छ । एक खर्ब रुपैयाँको विदेशी लगानी आउने प्रतिबद्धता आएको छ । आर्थिक वृद्धिदर बढेको छ ।’ अर्थमन्त्री डा खतिवडाले बचत खाताका सेवाग्राहीलाई प्रदान गर्ने ब्याज रकम वृद्धि गर्न र स्वायत्ताभित्रको जवाफदेहीता प्रदान गर्न बैंकसित आग्रह गर्दै तरलताको सङ्कट आउन नदिन, सस्तो ब्याजदरमा कृषि, पर्यटन, घरेलु उद्योगम लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

बैंक सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सरकारको नीति निर्देशनभित्र रही बैंकले गत आवमा सहुलियत कर्जाअन्तर्गत रु ४० करोड लगानी गरेको र अगामी दिनमा लगानी वृद्धि गर्दै लैजाने बताउनुभयो । उहाँले भन्नुभयो, ‘वित्तीय पुहँच र सबै नेपालीको बैंक खाता बनाउने अभियानलाई सहयोग गर्न बैंकले प्राथमिता दिएको छ । बैंक सुधारको आयोजना जारी रहेको छ ।’

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले सहुलियत दरमा कर्जा वितरण कार्यलाई प्रभावकारी कार्यान्वयन गर्न बैंकसित आग्रह गर्दै उत्पादनशील कर्जा वितरण, वित्तीय समावेशीता र वित्तीय स्थायित्वमा ध्यानुपर्ने बताउनुभयो । 

बैंकका कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले गएको आवका बैंकले पाँच अर्ब ३२ करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल रहेको जानकारी दिँदै बैंकको निक्षेप एक खर्ब ९० अर्ब रुपैयाँ रहेको बताउनुभयो । विसं २०२२ माघ १० गते बैंकको स्थापना भएको थियो । 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया