यती एअरलाइन्सले २ हजार ५ सय रुपैयाँमा भरतपुर–पोखरा उडान गर्ने

 भदौ १२, २०७६ बिहिबार १८:४१:५१ | रासस
unn.prixa.net

चितवन - यती एअरलाइन्सले यही भदौ १५ गतेदेखि भरतपुरबाट पोखरा सस्तो भाडादरमा सिधा उडान सुरु गर्ने भएको छ । दैनिक पोखराबाट भरतपुर र त्यही जहाज भरतपुरबाट पोखरा जाने गरी नयाँ उडान भर्ने भएको हो ।

एअरलाइन्सका भरतपुर शाखा व्यवस्थापक अनुप ढकालका अनुसार बिहान ११ः३० बजे भरतपुरबाट पोखरा जहाज उड्ने छ । यती एअरलाइन्सको ३० सिटको जेडस्टिम जहाज पोखरा–भरतपुर उडान गरिने उहाँले जानकारी दिनुभयो ।

भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै दुई पर्यटकीय गन्तव्य जोड्ने गरी यतीले उडान सुरु गर्न लागेको हो । पोखरा देशकै दोस्रो र चितवन तेस्रो पर्यटकीय गन्तव्य हो ।

एकतर्फी उडानको २ हजार ५ सय रुपैयाँ मात्र भाडादर तय गरी उडान गर्न लागिएको ढकालले जानकारी दिनुभयो ।

भरतपुर–पोखरा हाल बुद्ध एअरले उडान भर्दै आएको छ । बुद्ध एअरले एकतर्फी भाडा  ३ हजार ८ सय रुपैयाँ लिने गरेको छ । यती एअरलाइन्सले हाल भरतपुर–काठमाण्डौ दैनिक चार वटा उडान भर्दै आएको छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया