चार खानीलाई उत्खननको अनुमति

 भदौ १३, २०७६ शुक्रबार ९:३२:३७ | रासस

खानी तथा भूगर्भ विभागले चार खानीलाई उत्खननका लागि अनुमति दिएको छ । विभागले चालू आर्थिक वर्षको डेढ महिनामा स्वर्गद्वारी माइन्स एण्ड मिनिलर्स प्रालिलाई चुनढुङ्गा, बालकुमारी प्रालिलाई क्वार्जजाइट, पाल्पा कोल प्रालिलाई पत्थर तथा कोइला र गुँरास स्टोन उद्योग प्रालिलाई क्वार्जजाइट उत्खननका लागि अनुमति दिएको हो । 

विभागका खनिज सम्पदा महाशाखाका प्रमुख रामप्रसाद घिमिरेले खनिज उत्खननका लागि आएका निवेदनलाई आवश्यक अनुसन्धान गरेर अनुमति दिएको जानकारी दिनुभयो । विभागले आव २०७५/०७६ मा खनिज उत्खननका लागि नौ कम्पनीलाई अनुमति दिएको थियो । जसमध्ये चुनढुङ्गा उत्खननमा मात्र छ वटा रहेका रहेका छन् । 

विभागका अनुसार आव २०७५/०७६ मा चुनढुङ्गा उत्खननका लागि स्वीकृत दिएको कम्पनीमा विशाल सिमेन्ट इण्डट्रिज प्रालि, ऋद्धिसिद्धी सिमेन्ट प्रालि, शुभश्री अग्नि सिमेन्ट प्रालि, मेगा सिमेन्ट प्रालि, सम्राट सिमेन्ट कम्पनी प्रालि र पञ्चकन्या सिमेन्ट प्रालि रहेका छन् । 

गएको आवमा देशभर ८२ कम्पनीले खनिज उत्खनन गरेका खनिज सम्पदा महाशाखा प्रमुख घिमिरेले बताउनुभयो । जसबाट सरकारले ६१ करोड ८१ लाख ५६ हजार १६५ रुपैयाँ राजश्व सङ्कलनसमेत गरेको थियो । यस्तै, विभागले आव २०७५/०७६ मा ऋद्धि गणेश हिमाल जेम्स एण्ड मिनिलर प्रालि र हिमालय रक एण्ड ह्याण्डिक्राफ्ट प्रालिलाई खनिज उत्खनन रोक्का गरेको छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया