बारा र पर्साका हावाहुरी पीडितलाई घर हस्तान्तरण

 भदौ १८, २०७६ बुधबार १८:२७:२० | रासस
unn.prixa.net

पर्सा – हावाहुरी  तथा चक्रवातबाट ठूलो जनधनको क्षति भएको बारा र पर्साका पीडित नागरिकका लागि निर्माण गरिएको घर हस्तान्तरण गरिएको छ ।

कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको उपस्थितिमा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले बुधबार आयोजित एक कार्यक्रममा बारा पर्साका प्रभावित स्थानीय तहका प्रमुखलाई घर हस्तान्तरण गर्नुभयो ।

जनता आवास पुनःनिर्माण कार्यक्रमअन्तर्गत नेपाली सेनाले निर्माण गरेका घरहरु हस्तान्तरण गरिएको हो । गएको वर्ष चैत १७ गते साँझ आएको चक्रवातबाट २७ जनाको मृत्यु हुनुका साथै अरबौँ मूल्य बराबरको धनमाल क्षति भएको थियो । 

सरकारले चैत २१ गते क्षतिग्रस्त घरको पुनःनिर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । नेपाली सेनाको २८ नम्बर बाहिनी अड्डा नेतृत्वको कार्यदलले १२ वटा क्लष्टरमा विभाजन गरी तीन चरणमा निर्माणकार्य पूरा गरेको हो । बारा र पर्साका विभिन्न स्थानीय तहमा निर्माण गरिएको जनता आवास पुनःनिर्माण कार्यक्रमअन्तर्गत नेपाली सेनाले ८६९ घर निर्माण गरेको हो ।

मूल्य अभिवृद्धिकरसहित प्रतिघर चार लाख ८४ हजार ८ सय अठासी रुपैयाँ   लागत रहेको त्यो आवास निर्माणका लागि सरकारले ८४ करोड ६८ लाख ७६ हजार रुपैयाँ उपलब्ध गराएको थियो । आवास निर्माण कार्यमा दुई हजार ६६५ सैनिक र तीन हजार ६७७ गैरसैनिक परिचालन गरिएको थियो ।

त्यस क्षेत्रको पुनःनिर्माण, पुनःस्थापना, सहजीकरण  र समन्वय गर्न गठित समितिले साउनको अन्तिम साता जिम्मेवारी पूरा गर्ने लक्ष्य लिएकोमा तराई–मधेशमा आएको बाढी र डुबानका कारण केही दिन निर्माणकार्य स्थगित गर्नुपरेको थियो ।

कार्यक्रममा प्रधान सेनापति  पूर्णचन्द्र थापा, प्रदेश नम्बर २ का भौतिक पूर्वाधारमन्त्री जीतेन्द्र सोनल, बारा र पर्साका प्रमुख जिल्ला अधिकारी  स्थानीय जनजनप्रतिधिको उपस्थित थियो । कार्यक्रमअघि कार्यवाहक प्रधानमन्त्री पोखरेलले बाराको चैनपुरमा निर्माण गरिएको ती घरहरुको अवलोकन गर्नुभएको थियो ।

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया