अर्थ मन्त्री खतिवडाकाे सुझावपछि शेयर बजार उकालाे लाग्याे

 भदौ ३१, २०७६ मंगलबार १६:४०:४९ | रासस
unn.prixa.net

काठमाण्डाै - अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले ‘अहिले धितोपत्र बजारमा लगानी गर्ने उपयुक्त समय’ भएको टिप्पणी गरेलगत्तै लगातार ओरालो लाग्दै आएको धितोपत्र बजार मंगलबार एकाएक बढेको छ ।

कर्मचारी सञ्चय कोषको ५८ औँ वार्षिकोत्सवका क्रममा मंगलबार अर्थमन्त्री खतिवडाले शेयर बजार घटिरहेको अहिलेको स्थितिमा नवप्रवेशीका लागि उपयुक्त समय रहेको धारणा राख्नुभएपछि बजार एक्कासि बढेको हो । बजार खुल्नेबित्तिकै आइतबार र सोमबारकै लयमा घट्न थालेको थियो । जब अर्थमन्त्रीको त्याे धारणा सार्वजनिक भयो तब बजारले उकालोको यात्रा तय गर्‍यो । कारोबार सुरु भएको २८ मिनेटसम्म स्थिर रहेको बजार त्यसपछि भने एकाएक बढ्न थाल्यो ।

नेप्से परिसूचकको उकालो यात्रा अपराह्न १ बजेर २७ मिनेटसम्म निरन्तर रह्यो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक २६.९१ बिन्दुले बढेर एक हजार १५०.७४ मा पुगेर रोकिएको छ । प्रतिशतका आधारमा नेप्से २.३९ प्रतिशतले वृद्धि भएको छ ।

यस्तै सेन्सेटिभ परिसूचक २.१२ प्रतिशत अर्थात ५.२२ बिन्दुले बढेर २५१.५७ मा पुगेको छ । नेप्से परिसूचक वृद्धिको तुलनामा कारोबार रकम भने बढ्न सकेन । मंगलबार कुल १७१ कम्पनीको १३ लाख ७७ हजार ९४६ कित्ता शेयर रु ३८ करोड ३९ लाख ५७ हजार ४२६ मा खरिदबिक्री भए ।

स्टकका अनुसार कारोबार भएका कुल १२ उपसमूहमध्ये ११ उपसमूहको शेयर उकालो लागेको भने सामूहिक लगानी कोष भने घटेको छ । कोष ०.०४ प्रतिशतले घटेको छ । बैङ्किङ २१.०७, व्यापार २.२८, होटल ५७.७९, विकास बैङ्क २६.७७, जलविद्युत् ३९.५, वित्त ८.४६, निर्जीवन बीमा ८८.५७, उत्पादन १०७.१, अन्य २०.२६, लघुवित्त ३०.२ र जीवन बीमा १०२.९३ अङ्कले बढ्यो ।

कारोबार रकमका आधारमा सिद्धार्थ बैङ्क शीर्ष स्थानमा रह्यो ।  सिद्धार्थ बैङ्कको रु तीन करोड ४९ लाख ७७ हजार ३६० मा शेयर खरिदबिक्री भयो ।  बैङ्कले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट २५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेपछि लगानीकर्ता आकर्षित भएका हुन् ।

त्यस्तै नेपाल बैङ्कको रु दुई करोड ९७ लाख एक हजार ६६९, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु दुई करोड ८३ लाख ३८ हजार २०६, शिवम् सिमेन्ट रु एक करोड ९९ लाख ७६ हजार, प्रभू बैङ्क रु एक करोड ४५ लाख १९ हजार ८७८ र सानिमा बैङ्कको रु एक करोड २८ लाख ४० हजार ७०२ मा खरिदबिक्री भयो ।

त्यस्तै शिवम् सिमेन्टका लगानीकर्ताले ९.९० प्रतिशतले कमाउँदा गुराँस लघुवित्त वित्तीय संस्था ९.६२, राधी विद्युत् कम्पनी ९.४५, अपि पावर कम्पनी ९.१७, कर्णाली डेभलपमेन्ट बैङ्क ८.९१ र अरुण काबेली पावर लिमिटेडका शेयरधनीले ८.९१ प्रतिशतले कमाए ।

बढेको बजारमा एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले ५.५९, आँखुखोला जलविद्युत् कम्पनी ५.३५, सिटिजन बैङ्क इन्टरनेशनल ५.०६, सिन्धु विकास बैङ्क ४.७६, सानिमा इक्विटी फण्ड ३.०३ र कालिका पावर कम्पनीका शेयरधनीले २.४३ प्रतिशतले गुमाए । 

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया