गाडीलाई प्रदेश २ छिचोल्न पाँच घण्टा २५ मिनेटको सीमा

 असोज ८, २०७६ बुधबार ८:८:८ | रासस
unn.prixa.net

पर्सा – बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न प्रदेश नं. २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले सवारीसाधनलाई प्रदेश नं २ को ८ जिल्ला छिचोल्न पाँच घण्टा २५ मिनेटको समयसीमा तोकेको छ ।

आर्थिक वर्ष २०७६/०७७ को साउन महिनामा मात्र ९२ वटा सवारी दुर्घटना भएकोमा ४५ जनाले ज्यान गुमाएपछि प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले यस्तो समयसीमा तोकी ‘टाइमकार्ड’ लागू गरेको ट्राफिक प्रहरी निरीक्षक राजकुमार सिंहले बताउनुभयो ।

समयसीमा तोकिएपछि पश्चिमबाट पूर्वतर्फ जाने तथा पूर्वबाट पश्चिमतर्फ आउने सवारीसाधनले प्रदेश नं २ को ८ जिल्लाको २२५ किलोमिटरको बाटो पाँच घण्टा २५ मिनेटभित्र पार गरी सक्नुपर्ने नियम लागू भएको छ ।

प्रदेश नं २ को पथलैयादेखि पूर्वको भारदहसम्म २२५ किलोमिटर तय गर्दा चालक तथा यात्रुलाई सहज होस् भनेर प्रदेश नं २ को मध्य भाग लालगढमा ट्राफिक प्रहरीले बनाएको विश्रामस्थलमा १० मिनेट रोक्न सक्ने व्यवस्थासमेत मिलाइएको छ । त्यहाँ यात्रुका लागि खानपान, शौचालय, स्नानगृहसमेतको व्यवस्था मिलाइएको बताइएको छ ।

कुनै सवारीसाधन अत्यधिक गतिमा तोकिएको समयभन्दा चाँडै गएमा त्यस्तो सवारीसाधनलाई कारवाहीसमेत गरिने जनाइएको छ । ‘हाम्रो अभियान सहज र सुरक्षित ट्राफिक व्यवस्थापन’ भन्ने नाराका साथ लागू गरिएको टाइमकार्डका कारण सवारी दुर्घटनामा कमी आउने विश्वास लिइएको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा एक हजार ३५२ वटा सवारी दुर्घटनामा परी ४९६ जनाले ज्यान गुमाएका थिए भने ६५६ सख्त घाइते र ९१४ सामान्य घाइते भएका थिए । सोही आवमा ६१ हजार ३७० सवारीसाधनलाई कारवाही गरी एक करोड ९१ लाख आठ हजार रुपैयाँ जरिवानाबापत असुल गरिएको थियो ।

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया