पाँचथरमा सुँगुरको मासु खाँदा एक कैदीबन्दीको ज्यान गयो, तीन जना सिकिस्त

 असोज २०, २०७६ सोमबार २०:२:३६ | रासस
unn.prixa.net

पाँचथर - सँगुरको मासु खाँदा जिल्ला कारागार पाँचथरमा कैद भुक्तान गरिरहेका एक कैदीबन्दीको ज्यान गएको छ भने ३ जनाको अवस्था गम्भीर छ ।

आइतबार राति सुँगुरको मासु खाएपछि बिरामी परेकाेले सोमबार बिहान जिल्ला अस्पताल पाँचथरमा भर्ना गरिएका पाँचथरको फालेलुङ गाउँपालिका–८, याङनामका २५ वर्षीय बुद्धि केरुङको सोमबार दिउँसो उपचारका क्रममा मृत्यु भएको हो ।

सँगुरको मासु खाएर ३ जना सिकिस्त बिरामी भएका छन् । बिरामी हुनेहरुमा फिदिम नगरपालिका–१०, याङनामका जयप्रकाश जवेगु, कुम्मायक गाउँपालिकाका दिनेश खजुम र पहिलेकाे सिदिन गाविसका सुन्दर राई रहेका छन् ।

उनीहरुको जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकेपछि झापा पठाइएकाे पाँचथर प्रहरीले जनाएको छ ।

दशैँको अवसरमा कारागार भित्रै सुँगुर ल्याएर काटेको र मासु खाएका उनीहरुलाई सुरुमा झाडापखाला लागेपछि जिल्ला अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा केरुङको साेमबार दिउँसो ३ बजे मृत्यु भएको पाँचथर प्रहरीका सूचना अधिकारी अनिलकुमार पौडेलले बताउनुभयो । केरुङ जबरजस्ती करणी मुद्धामा ३ वर्ष अघिदेखि कैद भुक्तान गरिरहेका कैदीबन्दी हुन् । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया