राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्रीबाट दशैँकाे टीका ग्रहण

 असोज २१, २०७६ मंगलबार १५:७:४४ | रासस
unn.prixa.net

काठमाण्डाै - राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च पदस्थ व्यक्तित्व तथा सर्वसाधारणलाई टीका लगाइदिनु भएको छ ।

शितलनिवासमा राष्ट्रपतिले अहिले सर्वसाधारणलाई पनि टीका लगाइदिइरहनुभएको छ । यसअघि उहाँले मूल पुजारीको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरुप टीका जमरा ग्रहण गर्नुभएको थियो । राष्ट्रप्रमुखलाई दशैँ घरका मूल पुजारीले दुर्गा भवानीको प्रसाद स्वरुप टीका र जमरा लगाइदिने परम्परा छ ।

राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेबाट पनि टीका, जमरा र प्रसाद ग्रहण गर्नुभएको छ । यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले बुबा रामसुर पुनको हातबाट टीका ग्रहण गर्नुभएको छ । उपराष्ट्रपति भवनमा पुनले ८६ वर्षीय बुबाबाट दशैँको टीका लगाउनुभएको हो ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पिता मोहनप्रसाद ओलीको हातबाट टीका लगाउनुभएको छ ।

प्रधानमन्त्रीले सरकारी निवास बालुवाटारमा बुबाको हातबाट टीका र जमरा लगाउनुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ४ बजेसम्म मन्त्री, सांसद्, विशिष्ट व्यक्ति, पार्टीका नेता लगायतलाई र दिउँसो ४ देखि बेलुकी ७ बजेसम्म पार्टीका समर्थक, कार्यकर्ता, शुभचिन्तक एवं इच्छुकलाई टीका लगाइदिने कार्यक्रम रहेको उहाँका प्रेस सल्लाहाकार कुन्दन अर्यालले जानकारी दिनुभयो ।

यो वर्ष आज मात्र टीका लगाइदिने उहाँले बताउनुभयो । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले ९० वर्षीय बुवा भोजप्रसाद भट्टराईको हातबाट टीका लगाउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया