चितवनमा बस दुर्घटना: ३८ जना घाइते, एकको अवस्था गम्भीर

 असोज २२, २०७६ बुधबार ९:११:१७ | रासस
unn.prixa.net

चितवन - चितवनमा बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् ।

मंगलबार राति काठमाण्डौबाट सर्लाहीको मलङ्गावातर्फ जाँदै गरेको ना ५ ख ५३४४ नम्बरको रात्रिबस भरतपुर महानगरपालिका–१२, आस्था चोकमा साढे बाह्र बजे दुर्घटना हुँदा ३८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।  

प्रहरीका अनुसार बस आफैँ अनियन्त्रित भएर सडक छेउको पीपलको रुखमा ठक्कर खाएपछि दुर्घटना भएको हो ।

घाइतेहरुको पुरानो मेडिकल कलेज र भरतपुरको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये २७ को अवस्था मध्यम रहेको छ । यस्तै १० जना सामान्य रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालक पनि सामान्य घाइते भएका छन् । बसमा करिब ४५/४६ जना रहेको बताइएकाे छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया