४ करोडभन्दा धेरै सम्पत्तिको स्रोत नखुलेपछि सिँचाइ विभागका तत्क...
पुस २८, २०८१ आइतबार
म्याग्दी - कोरला नाका जोड्ने बेनी-जोमसोम-कोरला सडकअन्तर्गत मुस्ताङको छुसाङमा मोटरेबल पुल निर्माण भएको छ ।
छुसाङ र चैलेको सिमानामा पर्ने मुस्ताङ गेट भन्ने ठाउँमा कालीगण्डकी नदीमाथि मोटरेबल पुल निर्माण भएपछि उपल्लो मुस्ताङ सिधा यातायात सञ्जालमा जोडिएको छ । यसअघि पुल नहुँदा कालीगण्डकी नदीमा पानीको सतह घट्दा हिउँदयाममा मात्र जोमसोमदेखि लोमान्थाङ हुँदै कोरला नाकामा सिधा सवारी सञ्चालन हुने गरेको थियो ।
पुल निर्माण भएपछि जोमसोमदेखि लोमान्थाङसम्म सहजरूपमा सवारी साधन सञ्चालन हुन थालेको छुसाङका मुखिया विनोद गुरुङले जानकारी दिनुभयो । कालीगण्डकी नदीबाट सवारी साधन तार्नुपर्ने समस्या हटेको छ । ७७.२ मिटर लामो पुल ११ मिटर फराकिलो छ ।
'पुल बनेपछि जोमसोमदेखि लोमान्थाङसम्म सिधा यातायात सेवा सञ्चालन भएको छ', मुखिया गुरुङले भन्नुभयो, 'सडक यातायात सहज भएपछि देशका विभिन्न ठाउँबाट उपल्लो मुस्ताङ भ्रमणमा आउनेहरुको सङ्ख्या बढेको छ ।'
पुल बनेपछि जोमसोमदेखि उपल्लो मुस्ताङको दामोदरकुण्ड लोघेकर र लोमान्थाङ गाउँपालिकाका बासिन्दा, आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको छ । दैनिक उपभोग्य, खाद्यान्न र निर्माण सामग्री ढुवानी सहज भएको छ ।
डोलिडारले पुल निर्माणका लागि लुम्बिनी बिल्डर्ससँग चार करोड ७३ लाख ८८ हजार ६८ रुपैयाँमा विक्रम संवत २०७३ असार ११ मा सम्झौता गरेको थियो । गलत डिजाइनका कारण पुल निर्माणका क्रममा बस्तीतर्फ कटान हुने र खोला एकातिर पुल अर्कोतिर बन्ने अवस्था सिर्जना भएपछि अलपत्र बनेको थियो ।
विक्रम संवत २०७४ मा सांसद प्रेमप्रसाद तुलाचनको पहलमा डोलिडारका अधिकारी, निर्माण कम्पनीका प्रतिनिधि र स्थानीयवासीबीच पुलको डिजाइन परिवर्तन गरेर बस्तीलाई असर नपर्ने र प्रयोग हुने गरी डिजाइन परिवर्तन गराउने सहमति भएपछि पुल निर्माण अघि बढेको थियो ।
छुसाङको बस्ती संरक्षणका साथै पुल निर्माण भएपछि कोरला नाकासम्मको सडक पहुँच सहज भएको सांसद तुलाचनले बताउनुभयो । 'छुसाङ र पाण्डाखोलामा मोटरेबल पुल बनिसकेको छ', तुलाचनले भन्नुभयो, 'जोमसोम-कोरला खण्डको ११० किलोमिटर सडक सात प्याकेजमा स्तरोन्नतिसँगै विभिन्न ठाउँका खोलामा मोेटर चल्ने पुल बनाउने काम भइरहेको छ ।'
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।