चिकित्सा शिक्षा आयोगले तोक्यो ‘एमबीबीएस’ र ‘बीडीएस’ तहको शुल्क

 कात्तिक १, २०७६ शुक्रबार २०:१९:४६ | रासस
unn.prixa.net

काठमाण्डाै - चिकित्सा शिक्षामा बढेको आर्थिक अराजकता रोक्नका लागि सरकारले महत्वपूर्ण निर्णय गरेको छ । चिकित्सा शिक्षा आयोगले शुक्रबार ‘एमबीबीएस’ र ‘बीडीएस’ तहको शुल्क तोकेको छ । तोकिएको शुल्कभन्दा बढी शुल्क लिनेलाई कानुनबमोजिम कारबाही गर्ने आयोगले निर्णय गरेको छ ।

आयोगले काठमाण्डौ उपत्यकाभित्र एमबीबीएसका लागि ४० लाख २३ हजार २५० रुपैयाँ र उपत्यका बाहिर ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क तोकेको छ । यस्तै बीडीएसका लागि उपत्यकाभित्र र बाहिरका लागि समान २० लाख १९ हजार ५८०रुपैयाँ शुल्क तोकेको छ ।

नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०७५/७६ को मुद्रास्फितीको आधारमा आयोगले शैक्षिक सत्र २०७६/०७७ को शुल्क निर्धारण गरेको हो । विसं २०७५ असोज २८ गते सरकारले काठमाण्डौ उपत्यकाभित्र एमबीबीएसका लागि ३८ लाख ५० हजार रुपैयाँ र उपत्यका बाहिर ४२ लाख ४५ हजार रुपैयाँ र बीडीएसतर्फ १९ लाख ३२ हजार ६१२ रुपैयाँ शुल्क कायम गरेको थियो ।

आयोगले विद्यार्थीबाट लिने शुल्कमध्ये एक तिहाई रकम पहिलो वर्षमा र बाँकी रकम वार्षिक रुपमा किस्ताबन्दीमा लिने व्यवस्था ऐनमा नै भएकाले त्यही व्यवस्थाअनुसार गर्नसमेत ध्यानाकर्षण गराएको छ ।

आयोगले काठमाण्डौ उपत्यकाभित्र एक तिहाई बराबर पहिलो वर्ष १३ लाख ४१ हजार ८५ रुपैयाँ,  उपत्यका बाहिर १४ लाख ७८ हजार ६७५ रुपैयाँ, एमबीबीएसतर्फ ६ लाख ७३ हजार १९४ रुपैयाँ शुल्क बीडीएसका लागि कायम भएको रकम विश्वविद्यालयमा जम्मा गरी सम्बन्धित कलेजमा पठाउने व्यवस्था सम्बन्धित विश्वविद्यालयले मिलाउनुपर्ने जनाएको छ ।

चिकित्सा शिक्षा ऐनअनुसार शिक्षण शुल्कमा भर्ना शुल्क, शिक्षण, प्रयोगशाला, पुस्तकालय, सामुदायिक तालीम वा परीक्षा शुल्कलाई जनाउने भन्ने विषयलाई समेत पुनः स्मरण गराएको छ ।

शिक्षण शुल्कमा उल्लेखित विषयभन्दा बढी रकम लिएको पाइए त्यो कानुनविपरीत हुने भएकाले आयोगले कारबाही गर्ने चेतावनी दिएको छ । आयोगको असोज ३० गते र आज बसेको बैठकले चिकित्सा शिक्षाको शुल्क निर्धारण गरी त्यहीअनुसार गर्न गराउन आग्रह गरेको हो । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया