५ वर्षमुनिका बालबालिकालाई भिटामिन 'ए' र जुकाको औषधि खुवाइँदै

 कात्तिक २, २०७६ शनिबार ९:४२:६ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – शनिबार र आइतबार देशका सबै पालिकामा  राष्ट्रिय भिटामिन ‘ए’  कार्यक्रम सञ्चालन हुँदैछ ।

कार्यक्रमअन्तर्गत जन्मेको ६ महिनादेखि पाँच वर्षसम्मका झण्डै २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, एक वर्षदेखि पाँच वर्षमुनिका २४ लाख बालबालिकालाई जुकाको औषधि (अल्बान्डाजोल), ६ महिनादेखि दुई वर्षभित्रका चार लाख बालबालिकालाई बालभिटा खुवाइने कार्यक्रम रहेको छ । त्यस्तै पाँच वर्षमुनिका २७ लाख बालबालिकाको पाखुराको नाप लिइने छ ।

बालबालिकाको पोषणको स्थिति पत्ता लगाउन पाखुराको नाप लिइने गरिन्छ । स्वास्थ्य सेवा विभाग, पोषण शाखाका प्रमुख केदार पराजुलीका अनुसार भिटामिन ए कार्यक्रमका लागि ७५३ वटै पालिकाका ५२ हजार बुथमा त्यही संख्यामा स्वास्थ्यकर्मी परिचालन हुने जानकारी दिनुभयो ।

मन्त्रालयले पछिल्लो समय यो कार्यक्रम स्थानीय तहलाई नै हस्तान्तरण गरिसकेको छ । सङ्घीयता कार्यान्वयनसँगै स्थानीय तहले विगतका वर्षमा राष्ट्रिय प्राथमिकता प्राप्त कार्यक्रम सफलतापूर्वक सञ्चालन गरेका थिए । मन्त्रालयले स्थानीय तहलाई प्राविधिक र अन्य समन्वयको मात्र सहयोग गर्दछ । ती कार्यक्रमका लागि झण्डै तीन करोड ५० लाख बजेट विनियोजन गरेको छ ।

ती दुई दिनमा परिचालन हुने महिला स्वयंसेविका तथा स्वास्थ्यकर्मीलाई दैनिक ४०० रुपैयाँ भत्ताको व्यवस्था भएको मन्त्रालयले जनाएको छ । सन् १९९३ देखि भिटामिन ‘ए’ कार्यक्रम शुरुआत भएको थियो । विगत २६ वर्षमा कार्यक्रमले सकारात्मक प्रभाव परेको शाखा प्रमुख पराजुलीले बताउनुभयो । उहाँले भन्नुभयो, “भिटामिन ‘ए’ कार्यक्रमले पाँच वर्षमुनिका बालबालिकाको समग्र स्वास्थ्यमा सुधार आएको छ ।”

किन आवश्यक पर्छ भिटामिन ए ? 

बालबालिकालाई रोगसित लड्न सक्ने प्रतिरोधि क्षमता वृद्धि तथा समग्र स्वास्थ्यमा सुधार ल्याउन भिटामिन ‘ए’ आवश्यकता पर्छ । खानाबाट प्राप्त हुन नसकेका भिटामिन ‘ए’ बालबालिकालाई खुवाइने प्रमुख पराजुलीले बताउनुभयो ।

यसैगरी त्यही दिन बालबालिकाको पेटभित्र सबै प्रकारका जुकालाई मार्न अल्बान्डाजोल खानापछि खुवाइने छ । जुकाका कारण रक्त अल्पता, एनेमिया, खाएको खाना नपच्ने हुने गर्दछ ।

यसैगरी बालबालिकाको पोषणको अवस्था पत्ता लगाउन पाखुराको नाप लिने गरिन्छ । हाल पाँच वर्ष मुनिका ४३ प्रतिशत बालबालिका पुड्का, ख्याउटे तथा मोटा रहेका छन् ।

पाखुराको स्थितिबाट कुषोषण भएका बालबालिकालाई पोषणको आहाराका बारेमा जानकारी दिइने कार्यक्रमअन्तर्गत रहेको छ । बालभिटाले बालबालिकालाई पुड्को हुनबाट जोगाउँछ । ती राष्ट्रिय कार्यक्रमका लागि आवश्यक सबै तयारी पूरा भएको मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया