अर्को वर्षको हिउँदमा वाग्मतीमा स्वच्छ पानी

 कात्तिक ३, २०७६ आइतबार ६:४५:५१ | रासस
unn.prixa.net

काठमाण्डाै – उपत्यकाको सभ्यताको स्रोत वाग्मतीमा हिउँदमा पनि स्वच्छ पानी बगाउन शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको धापमा निर्माण सुरु गरिएको बाँधको ७५ प्रतिशत काम सम्पन्न भएको छ ।

एसियाली विकास बैंकको करीब रु ५१ करोड ऋण सहयोगमा निर्माण भइरहेको बाँध आगामी वैशाख पहिलो सातामा सकिने गरी काम भइरहेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । २४ मिटर उचाइको बाँधमा वर्षाद्मा परेको पानी जम्मा गरिने छ । निर्माण सम्पन्न भएपछि आगामी वर्षाद्मै बाँधमा पानी सङ्कलन सुुरु गरिने छ । लगत्तै परीक्षण पनि गरिने छ ।

वर्षाद्मा जम्मा गरिएको पानी अर्को वर्ष हिउँदमै वाग्मतीमा बगाउने गरी तयारी सुरु भएको समितिका आयोजना प्रमुख लीलाप्रसाद ढकालले बताउनुभयो । ‘तीन महीनाभित्रमा गोकर्णबाट पशुपतिनाथसम्मको वाग्मतीको पानीलाई हातले चलाउन सकिने बनाउने गरी समिति लागिपरेको छ, साप्ताहिक रुपमा भइरहेको वाग्मती सफाइ महाअभियानलाई पनि थप प्रभावकारी रुपमा अघि बढाइनेछ’, उहाँले भन्नुभयो ।

आयोजना प्रमुख ढकालसहितको समितिका प्राविधिकको समूहले आज बाँध निर्माणस्थलको स्थलगत अनुगमनसमेत गरेको छ । बाँध निर्माणसँगै वाग्मती सौन्दर्यीकरणमा रोकिएको काम पनि सुरु गर्ने पहल भइरहेको अधिकार सम्पन्न वाग्मती समितिका सञ्चालक सदस्य माला खरेलले बताउनुभयो ।

गोकर्णेश्वर नगरपालिका–१ स्थित धापमा बनिरहेको बाँधमा आकाशेपानी जम्मा गरी आगामी वर्षको हिउँददेखि प्रतिसेकेण्ड ४० लिटर पानी वाग्मतीमा बगाइने भएको छ । बाँधमा आठ लाख ५० हजार क्युविक लिटर पानी अटाउँछ । बाँध भरिन चार वर्ष लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

बाँध निर्माण सिँचाइ विभागको ठेक्कामा गुञ्जाउ–लामा–रमण जेभीले गरिरहेको छ । निर्माण कम्पनीका इञ्जिनियर रुपेशकुमार साहले निकुञ्जभित्र गर्नुपर्ने काम भएकाले सुरुमा केही ढिलाइ भए पनि अब थप गरिएको छ र महिनामै सक्ने गरी काम भइरहेको बताउनुभयो । काम सम्पन्न गरी आगामी वर्षाद्मै यहाँ परीक्षण सुरु गरिनेछ ।

पर्यटन प्रवर्द्धनमा बाँध

बाँध निर्माणपछि यसक्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने सुन्दरीजलका स्थानीय पर्यटन व्यवसायी नारायण श्रेष्ठले बताउनुभयो । निकुञ्जभित्र वरिपरि हरियाली डाँडाकाँडा एवं पारिपट्टि हिमालको रमणीय दृश्य देखिने भएकाले पर्यटकलाई यस स्थलले आकर्षित गर्ने गरेको छ । 

पर्यटकीय क्षेत्रका रुपमा स्थापित सुन्दरीजल–चिसापानी क्षेत्रलाई चिनाउन बाँधले पनि योगदान गर्ने यहाँका पर्यटन व्यवसायीको विश्वास छ । बाँधबाट चिसापानी तीन किमीको दूरीमा छ । सुन्दरीजलबाट निकुञ्जभित्रको १८ किमी यात्रा गरेपछि बाँध स्थल पुग्न सकिन्छ । 

अहिले बाँध नजिकैबाट काठमाडौँ, सिन्धुपाल्चोक र नुवाकोटको सङ्गमस्थलमा रहेको पर्यटकीयस्थल जाने सडक छ । यो सडकबाट दैनिक सयौँ पर्यटक हेलम्बु, गोसाइँकुण्ड, मेलम्चीलगायत स्थानमा जान्छन् । यो मार्गबाट पर्यटक पैदल एवं सवारी दुवै माध्यमबाट जाने गरेका छन् ।

यो बाटोबाट लामाटाङ राष्ट्रिय निकुञ्जमा पदमार्गका रुपमा जाने बाह्य पर्यटकसमेत हिँड्ने बाटो छ । यसैगरी चिसापानी–झुले–नगरकोट पदमार्गसमेत यही बाटो जान्छ । यो मार्ग हिँड्ने विदेशी एवं स्वदेशी पर्यटकले हाल निर्माण भइरहेको बाँधस्थलममा सेल्फी खिचाउने गरेका छन् । 

अहिले मानव निर्मित बाँध हेर्न कुलखानीमा पर्यटकको भीड लाग्ने गरेको छ । धापको बाँध निर्माण सम्पन्न भएपछि रत्नपार्कबाट करिब ३३ किमी दूरी पार गरी यहाँ आउन सकिन्छ । 

हिउँदमा वाग्मतीमा स्वच्छ पानी

वर्षाद्मा पानीको बहाबले वाग्मती कम फोहर देखिने गरेको छ । हिउँदमा भने पानीको बहाव घट्ने गरेकाले नदी किनार दुर्गन्धित हुने गरेको छ । वाग्मतीलाई स्वच्छ बनाउने उद्देश्यले गुह्येश्वरीमा निर्माण भइरहेको ढल पानी प्रशोधन केन्द्र निर्माण पनि अन्तिम चरणमा पुगेको छ 

निर्माण सकी हाल ढल पानी प्रशोधनको परीक्षण भइरहेको छ । अत्यधुनिक यन्त्रबाट यहाँ ढल प्रशोधन गरी वाग्मती पठाइने छ । यो केन्द्रबाट दैनिक तीन करोड २४ लाख लिटर ढल पानी प्रशोधन गरी स्वच्छ बनाइने छ ।

केन्द्रको शनिबार खानेपानी मन्त्री विना मगरले अनुगमन गर्नुभएको छ । यही अवसरमा उहाँले पुससम्म केन्द्र पूर्णरुपमा सञ्चालनमा ल्याउने गरी काम गर्न निर्देशन दिनुभयो । निकुञ्जभित्रको धाप बाँधको एक किलोमिटरमुनि अर्को ९० मिटर उचाइको बाँध बनाउन वातावरणीय प्रभाव मूल्याङ्कन भइरहेको छ । दुवै बाँधको पानी निकुञ्जको नागमती हुँदै सुन्दरीजलस्थित सुन्दरीमाईको मन्दिर नजिकै वाग्मतीमा मिसाइनेछ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया