राष्ट्रपति भण्डारीको जापान भ्रमण नेपालको आर्थिक विकासमा केन्द्रित

 कात्तिक ४, २०७६ सोमबार १२:५७:११ | रासस
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच सोमबार बिहान टोकियोमा रहेको ‘आकासाका प्यालेस, स्टेट गेष्ट हाउस’ मा भएको भेटवार्तामा नेपालको आर्थिक विकासमा जापानी सहयोगका विषयमा केन्द्रित भएको छ ।

राष्ट्रपति भण्डारीले भेटवार्तामा नेपालको आर्थिक विकासमा जापान सरकारले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्दैै यस्तो सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभएको नेपाली प्रतिनिधिमण्डलमा सहभागी परराष्ट्र सचिव शङ्करदास वैरागीले जानकारी दिनुभयो । राष्ट्रपति भण्डारी जापानी सम्राट नारुहितोको शुभ राज्याभिषेकमा सहभागी हुन आइतबार टोकियो  आइपुग्नुभएको हो ।

राष्ट्रपति भण्डारीले नेपालको पूर्वाधार विकासमा जापानी लगानी तथा ‘नेपाल भ्रमण वर्ष-२०२०’ सफल पार्न जापानी सहयोगका लागि आग्रह गर्नुभयो । उहाँले लुम्बिनीलाई विश्व शान्ति केन्द्र बनाउन जापानी प्राध्यापक केन्जो टाँगेले बनाएको गुरुयोजनाले पूर्णता पाउने विश्वास पनि व्यक्त गर्नुभयो । 

जापानी प्रधानमन्त्री आबेले नेपालको दिगो विकासमा जापानको सहयोग निरन्तर रहने आश्वासन दिँदै दुई देशबीच व्यापार घाटा कम गर्ने विषयमा छलफल गरी अगाडि बढ्ने बताउनुभयो । उहाँले सोमबार काठमाण्डौको नागढुंगादेखि धादिङको सिस्ने खोलासम्मको सुरुङमार्ग शिलान्यास हुन लागेकामा खुशी व्यक्त गर्नुभयो । 

जापानी प्रधानमन्त्री आबेले आफ्नो सरकारले अध्यागमन कानुनलाई संशोधन गरी वैदेशिक रोजगारको क्षेत्रलाई सरल बनाएको र ९० हजारभन्दा बढी नेपाली जापानमा कार्यरत रहेको जानकारी दिनुभयो । उहाँले लुम्बिनीलाई बुद्ध दर्शनको उद्गम केन्द्रको रुपमा विकास गर्न सहयोग गर्ने आश्वासन दिँदै जापानमा आएको आँधीबेरीबाट भएको क्षतिप्रति नेपालले दुःख व्यक्त गरेकोमा धन्यवाद दिनुभयो ।

उहाँहरुबीच नेपाल तथा जापानबीच उच्चस्तरमा भ्रमण आदानप्रदानका साथै काठमाण्डौ-ओशाकाबीच नेपाल वायुसेवा निगमको सिधा उडान भएझैँ जापानका अन्य नगरमा पनि यस्तै सेवा विस्तार गर्ने विषयमा पनि छलफल भएको सचिव वैरागीले बताउनुभयो । 

बैठकमा वातावरण तथा जलवायु परिवर्तनको प्रभावबारे सन् २०२० को अप्रिलमा नेपालले सगरमाथा संवाद आयोजना गर्ने जानकारी दिइएको उहाँले उल्लेख गर्नुभयो । 

भेटवार्तामा गृहमन्त्री रामबहादुर थापा, जापानका लागि नेपालका राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी एवं जापानी पक्षबाट उच्चपदस्थ पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया