नागढुंगा-सिस्ने खोला सुरुङ मार्गको शिलान्यास, मुआब्जा वितरणमै ६ अर्ब खर्च हुने

 कात्तिक ४, २०७६ सोमबार १६:३०:२१ | रासस
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नागढुंगा-सिस्ने खोला सुरुङ मार्गको शिलान्यास गर्नुभएको छ । 

सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको सवारी साधन आवतजावतका लागि प्रयोग गरिने नेपालकै पहिलो सुरुङमार्गको चन्द्रागिरि नगरपालिका १ को टोटेपाखामा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले शिलान्यास गर्नुभएको हो । उहाँले शिलापत्रको अनावरण पनि गर्नुभयो । 

सुरुङ मार्गका लागि २२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले ० दशमलव ०१ प्रतिशत ब्याजदरमा १६ अर्ब सहुलियत ऋण दिनेछ भने ६ अर्ब रुपैयाँ नेपाल सरकारले आन्तरिक स्रोतबाट जुटाउने छ ।

प्रवेश मार्गसहित ५ दशमलव ५६ किमी सुरुङ मार्ग निर्माणले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको नागढुंगा सुरुङ मार्ग निर्माण आयोजना निर्देशक श्यामप्रसाद खरेलले बताउनुभयो । 

झण्डै ६ अर्ब रुपैयाँ स्थानीय पीडितलाई मुआब्जा वितरणमै खर्च हुनेछ । चन्द्रागिरि नगरपालिकाको वडा नम्बर १, ३ र ५ का पीडितलाई मुआब्जा वितरण भैरहेको छ । अहिलेसम्म मुआब्जा वितरणको ८५ प्रतिशत काम सम्पन्न भएको छ । चार वर्षभित्र सुरुङ मार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

यसअघि जलविद्युत् र खानेपानी आयोजनाका लागि सुरुङ निर्माण भए पनि यातायात नै सञ्चालन हुने गरी पहिलो पटक निर्माण गर्न लागिएको सुरुङ मार्गमा दुइटा साना ‘फ्लाइ ओभर’समेत निर्माण गरिने आयोजना निर्देशक खरेलले बताउनुभयो । सुरुङ मार्गकै मुखमा र सतुङ्गलमा ‘फ्लाइ ओभर’ बनाउन लागिएको हो । सडक पूर्वाधारमा यहाँ निर्माण हुन लागेको ‘फ्लाइ ओभर’ पनि नेपालकै पहिलो हो । 

सुरुङ मार्ग निर्माणका लागि यही असोज ६ गते जापानी हाज्मा आङदो कर्पोरेशनसँग सम्झौता भएको थियो । सुरुङ मार्गलाई जोड्ने तीन किलोमिटर प्रवेश मार्गसमेत निर्माण गरिने भएको छ । यही परियोजनाअन्तर्गत स्थानीय उत्पादन सङ्कलन केन्द्र (सर्भिस सेन्टर) निर्माण हुने आयोजनाले जनाएको छ । 

 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया