बेलायतमा ट्रकभित्र मृत भेटिएका ३९ जना चिनियाँ नागरिक भएकाे पुष्टि

 कात्तिक ७, २०७६ बिहिबार २०:३२:२९ | रासस
unn.prixa.net

बेलायतमा बुधबार एउटा ट्रकभित्र भेटिएका सबै ३९ शव चिनियाँ नागरिकको भएको बताइएको छ । 

बेलायती सञ्चार माध्यमहरुले स्रोतले उद्धृत गर्दै सम्प्रेषण गरेको समाचार अनुसार उनीहरु सबै चिनियाँ नागरिक भएको पुष्टि भएको हो ।  

पीडितहरु ट्रकको पछाडिको भाग कन्टेनरमा पूर्वी लण्डनको ग्रेज भन्ने स्थानमा मृत अवस्थामा बुधबार भेटिएका हुन् । उनीहरु बेल्जियमबाट डुङ्गामा यहाँ आएको बताइएको छ ।   

आप्रवासन कार्यालयमा कार्यरत प्रहरीले उनीहरुको पहिचान गर्नु नै आफूहरुको प्रारम्भिक काम भएको बताएका छन् । मृतकमध्ये ३८ जना वयस्क र एक जना किशोर रहेको अधिकारीहरुले जानकारी दिएका छन् । 

शवहरु रहेको ट्रक बुधबार नै अति गोप्य तथा सुरक्षित ठाउँमा राखिएको अधिकारीहरुको भनाइ छ । घटनाका बारेमा प्रहरी र चिनियाँ दूतावासले केही प्रतिक्रिया दिएका छैनन्  ।  

यसअघि सन् २००० मा पनि ५८ चिनियाँको शव डेनमार्कको ट्रकमा भेटिएको थियो । त्यतिबेलाको ट्रक दक्षिणपूर्वी बेलायती बन्दरगाहमा भेटिएको थियो । त्यहाँ भने दुई जना जीवितै थिए ।

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया