प्रधानमन्त्री ओलीद्वारा बंगलादेशका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता

 कात्तिक ९, २०७६ शनिबार १९:१:२२ | रासस
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच शनिबार बाकु कंग्रेस केन्द्र परिसरभित्र भेटवार्ता भएको छ । 

बाकुमा जारी असंलग्न अभियानको अठारौँ शिखर सम्मेलनका क्रममा उहाँहरूबीच भेटघाट भएको हो । भेटघाटमा उहाँहरुबीच ऊर्जा सहयोग, पारवहन सहयोगको सही उपयोग, व्यापारिक क्रियाकलापलाई गति दिनुपर्ने पक्षका साथै दुईपक्षीय सम्बन्ध र आपसी अभिरुचिका विषयमा छलफल भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । 

दुई समकक्षीबीच अहिले अवरुद्ध भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को प्रक्रिया र यसलाई पुनःआफ्नो मार्गमा ल्याउन नेपाल तथा बङ्गलादेशले संयुक्तरुपमा गर्नसक्ने कार्यका विषयमा पनि छलफल भएको थियो । 

यसैगरी बाकु कङ्ग्रेस केन्द्रमै प्रधानमन्त्री ओली र पाकिस्तानी राष्ट्रपति अरिफ अल्भीबीच शनिबार नै भेटवार्ता भएको छ । भेटमा उहाँहरुबीच दुईपक्षीय चासोका विषयमा छलफल भएको छ । हिन्दू कुश हिमालयमा मौसम परिवर्तनले पारेको नकारात्मक प्रभाव, सार्कको अवरुद्ध प्रक्रिया र दुवै मुलुकले भोगेका विद्यमान तथा उदाउँदा चुनौतीका विषयमा उहाँहरुबीच छलफल भएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिनुभयो । 

बैठकमा नेताहरुबीच सार्कका सदस्य देशबीच मतभेद कम गरी यसलाई पुनःसक्रिय बनाउनुपर्ने तथा क्षेत्रीय शान्तिलाई प्रवर्द्धन गर्नुपर्ने कुरामा छलफल भएको मन्त्री ज्ञवालीले बताउनुभयो । 

प्रधानमन्त्री ओलीले शुक्रबार साँझ अजरबैजानका राष्ट्रपति तथा १८ औँ नाम शिखर सम्मेलनका अध्यक्ष इल्हाम अलियभसँग शिखर बैठकका प्रतिनिधिमण्डलका नेताहरुका लागि आयोजित रात्रिभोजमा भेटवार्ता गर्नुभएको मन्त्री ज्ञवालीले बताउनुभयो । 

प्रधानमन्त्री ओलीले राष्ट्रपति अलियभलाई शिखर सम्मेलन सफलतापूर्वक आयोजना गरेकामा धन्यवाद दिनुभएको तथा अभियानप्रति नेपालको पूर्ण प्रतिबद्धता रहेको बताउनुभएको थियो । उहाँले आउँदा तीन वर्षमा असंलग्न अभियानका सञ्चालनमा अजरबैजानलाई सकेसम्म सहयोग गर्ने वचन दिनुभएको पनि मन्त्री ज्ञवालीले उल्लेख गर्नुभयो । 

पाकिस्तानका राष्ट्रपति तथा बङ्गलादेशका प्रधानमन्त्रीसँगको भेटवार्तामा परराष्ट्रमन्त्री ज्ञवाली, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई पनि उपस्थित हुनुहुन्थ्यो । 

यसैबीच परराष्ट्रमन्त्री ज्ञवालीले जिबुटीका विदेशमन्त्री महमुद अली युसफसँग भेटवार्ता गर्नुभएको थियो । दुई देशबीच आपसी अभिरुचिका विषयमा छलफल हुनाका साथै संयुक्त राष्ट्र सङ्घ र अन्तर्राष्ट्रिय मञ्चमा आपसी मुद्दामा सहयोग गर्ने सहमति उहाँहरुबीच भएको थियो । 

परराष्ट्र मन्त्रालयका सचिव वैरागी तथा संयुक्त राष्ट्र सङ्घका लागि नेपाली आवासीय प्रतिनिधि अमृत राई तथा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरुको बैठकमा उपस्थिति थियो । 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया